सिरहा, १६ चैत
यहाँको लहानस्थित रामकुमार सारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालमा अब क्यान्सर रोगसम्बन्धी विशेषज्ञ सेवा सञ्चालन हुने भएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामनारायण मेहताको विशेष पहलमा अस्पतालले नियमित रूपमा क्यान्सर उपचार तथा परामर्श सेवा प्रदान गर्ने निर्णय गरेको हो । अस्पतालका अनुसार, विराटनगरस्थित विराट टिचिङ अस्पतालमा कार्यरत र भारतको प्रतिष्ठित एम्स अस्पतालमा सेवा गरिसकेका अनुभवी क्यान्सर रोग विशेषज्ञ डा धीरज गुप्ताले लहानमा सेवा प्रदान गर्नु हुनेछ । अस्पताल र डा गुप्ताबीच आज भएको सहमति अनुसार प्रत्येक महिनाको दोस्रो हप्ताको सोमबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म बिरामीले विशेषज्ञ सेवा लिन सक्नेछन् । अध्यक्ष मेहताले अस्पतालको सुधार र सेवा विस्तार आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले अस्पतालको समग्र व्यवस्थापन सुधार गर्दै सेवा विस्तारलाई मुख्य प्राथमिकता दिएका छौँ । जग्गा नामकरणको प्रक्रिया टुङ्गिएपछि संरचनात्मक र सेवागत सुधारमा तीव्रता आएको छ ।”








प्रतिक्रिया