काठमाडौँ, १६ चैतः
र्थमन्त्री डा स्वर्णिम वाग्लेले आज भन्सार विभागको अनुगमन तथा त्यहाँका कार्यबारे जानकारी लिनुभएको छ । विभागको समग्र कार्यप्रणाली, राजस्व सङ्कलनको अवस्था तथा आगामी लक्ष्यबारे जानकारी लिँदै उहाँले कर्मचारीलाई इमानदारीपूर्वक राजस्व लक्ष्य प्राप्तिमा लाग्न निर्देशन दिनुभएको हो । मन्त्री डा वाग्लेले राजस्व सङ्कलनमा पारदर्शिता र उत्तरदायित्व कायम गर्न विशेष ध्यान दिनुपर्ने बताउँदै इमानदारीपूर्वक काम गर्ने कर्मचारीलाई मन्त्रालयले प्रोत्साहनका कार्यक्रम ल्याउने उल्लेख गर्नुभयो । “राजस्व सङ्कलनमा इमानदारी र प्रतिबद्धता देखिए मन्त्रालयले आवश्यक प्रोत्साहनको व्यवस्था गर्नसक्छ”, उहाँले भन्नुभयो । मन्त्री डा वाग्लेले राजस्व सङ्कलन वृद्धि गरी सरकारको बृहत् समृद्धिको लक्ष्य हासिल गर्नुपर्नेमा जोड दिनुभयो । यस सन्दर्भमा प्रधानमन्त्री वालेन्द्र शाहको समेत विशेष चासो रहेको उल्लेख गर्दै उहाँले मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट समेत नियमित अनुगमन भइरहेको जानकारी दिनुभयो । त्यस अवसरमा मन्त्री वाग्लेले विभागअन्तर्गत रहेको भन्सार प्रयोगशालाको पनि निरीक्षण गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । निरीक्षणका क्रममा प्रयोगशालाको क्षमता अभिवृद्धि र सेवा प्रभावकारिता बढाउने विषयमा आवश्यक निर्देशन दिनुभएको सचिवालयले जनाएको छ ।








प्रतिक्रिया