ब्रेकिंग न्युज

नेपाललाई विश्वको ललितकलाको केन्द्र बनाउन सकिनेतर्फ सरकारको ध्यानाकर्षण



गण्डकी, १७ चैत

‘विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियान’ ले नेपाललाई विश्वको ललितकलाको केन्द्र बनाउन सकिने भन्दै सोका लागि सरकारको ध्यानाकर्षण गराएको छ । महाअभियानका तर्फबाट प्राज्ञ नगेनसिंह ठकुरीले कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मामार्फत प्रधानमन्त्रीलाई आगामी आव २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयसहित ध्यानाकर्षण गराउनुभएको हो । नौबुँदे ध्यानाकर्षणपत्रमा नेपाली कला र वास्तुकलालाई विश्वभर चिनाउन अरनिकोको जस्तै स्वर्णयुग बनाउन सकिने उल्लेख गरिएको छ । हरेक सरकारी विद्यालयमा अनिवार्य ललितकलाको कला गुरु राख्नुपर्ने, विभिन्न स्रोतमार्फत उठेको करबाट निश्चित प्रतिशत ललितकलामा लगाउनुपर्ने, हरेक सरकारी कार्यालयमा अनिवार्य एक कलाकृति राखिनुपर्ने ध्यानाकर्षण पत्रमा भनिएको छ । नेपालका कलाकारका कलाकृति बैंकमा धितो राखेर ऋण सुविधा उपलब्ध गराउनुपर्ने, नेपाल ललितकला विकास बोर्डको स्थापना गर्नुपर्ने, ललितकला पर्यटनलाई प्रोत्साहन दिनुपर्ने, विज्ञापन बोर्डमा कलाकारको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने भनिएको छ । अन्तराष्ट्रियस्तरको कला पुरस्कारको व्यवस्था र छुट्टै ललितकला विश्वविद्यालयको स्थापना गरिनुपर्ने, नेपाल प्रेस काउन्सिलबाट वर्गीकृत ‘क’ श्रेणीका पत्रिकामा अनिवार्य एक पृष्ठ ललितकलाका लागि छुट्याउनुपर्ने, नेपालको संविधानमा ललितकलालाई राज्यको एक अङ्गका रूपमा उल्लेख गर्नुपर्ने ध्यानाकर्षणपत्रमा उल्लेख छ । सरकारले अघि सारेका १०० बुँदे कार्यसूचीले मुलुकमा सुशासन र समृद्धिको नयाँ आशा जगाएको र कलाकारको विकासले देशको सांस्कृतिक पहिचान उच्च बनाउनुका साथै पर्यटन र अर्थतन्त्रमा ठूलो टेवा पुग्ने भन्दै ध्यानाकर्षणपत्रमार्फत ध्यानाकर्षण गराइएको महाअभियानका प्राज्ञ ठकुरीले जानकारी दिनुभयो । वर्तमान प्रधानमन्त्रीका पालामा नेपालले विश्वमा ललितकला डायमण्ड युगको देश भई हाम्रा सन्ततिले गर्व गर्नसक्ने विश्वाससमेत व्यक्त गरिएको छ । ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी शर्माले कलाकारहरूले देशको संस्कृति, पहिचान, पर्यटन, उद्योग र अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको उल्लेख गर्नुभयो । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले नेपाल आफैँ कला-संस्कृतिको धनी देश भएको बताउँदै सुझावसहितको ध्यानाकर्षणपत्र प्रधानमन्त्रीसमक्ष पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । —

प्रकाशित : १७ चैत्र २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६