१७ चैत्र, बाणगंगा, कपिलवस्तु ।
बाणगंगा नगरपालिका खेलकुद विकास समिति कपिलवस्तुको आयोजनामा सम्पन्न सातौं मेयर कप फुटबल प्रतियोगिता २०८२ सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा बाणगंगा नगरपालिका वडा नं. २ प्रथम विजेता बनेको छ भने वडा नं. ४ उपविजेतामा भएको छ।

विजेता तथा उपविजेता टोलीलाई लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री विष्णु प्रसाद पंथी, नगर प्रमुख चक्रपाणी अर्याल, उपप्रमुख रिता कुमारी चौधरी र प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए।

प्रतियोगितामा प्रथम हुने वडा नं. २ ले नगद १ लाख रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र सम्मान प्राप्त गरेको छ। त्यस्तै उपविजेता वडा नं. ४ लाई नगद ७५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको नगर प्रमुख चक्रपाणी अर्यालले बताउनु भयो ।

कार्यक्रममा विभिन्न उत्कृष्ट खेलाडी तथा समूहलाई सम्मान गरिएको थियो । निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलका बीच वडा नं. २ ले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको वडा नं. २ का वडा अध्यक्ष तथा नगर प्रवक्ता विष्णु पौडेलले जानकारी दिए।

कार्यक्रममा स्थानीय बासिन्दा, खेलप्रेमी तथा सरोकारवालाहरूको उत्साहजनक उपस्थिति रहेको थियो। प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको विकास, आपसी सद्भाव र युवामा खेलप्रति रुचि बढाउन महत्वपूर्ण भूमिका खेलेको कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सदस्य विष्णु प्रसाद पंथीले विचार ब्यक्त गर्नु भयो ।








प्रतिक्रिया