देश

जिम्मेवारी पूरा गरेर मतादेशको ऋण तिर्नेछौँः सभापति लामिछाने



काठमाडौँ, १९ चैत

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले आफूहरूलाई दिएको मतादेशको ऋण जिम्मेवारी पूरा गरेर तिर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठकमा आज दलीय आधारमा बोल्दै सभापति लामिछानेले आफूहरूलाई जनताले सिंहदरबार चलाउन नभई सिंहदरबार बदल्नका लागि मत दिएको र सोहीअनुसार काम सुरु गरिसकेको स्पष्ट गर्नुभयो । “हामी प्रश्न गरेर यो ठाउँमा आएका हौँ । हामीले बोलेर होइन कामबाट आफूलाई प्रमाणित गर्नुपर्छ । हामी विगतका कमजोरीबाट पाठ सिक्नेछौँ”, सभापति लामिछानेले भन्नुभयो, “यो संसद् बहसको थलो हुनेछ, प्रतिशोधको थलो होइन । प्रतिपक्षलाई अन्यायपूर्वक प्रतिशोध र अत्याचार हुनेछैन, तर सुशासनको बेग पनि रोकिनेछैन । रास्वपाका हरेकले बोलेर होइन, कामबाट आफूलाई प्रमाणि गर्नुपर्नेछ ।” आफ्नालाई बचाउन र अरुलाई फसाउन कानुन नै संशोधन हुने क्रम अब नहुने जिकिर गर्दै उहाँले सहिदको आमाको न्याय पाउने पहिलो हक भएकाले त्यसलाई प्रतिशोध भन्न नपाइने बताउनुभयो । सभापति लामिछानेले बिचौलिया र माफियाले थिचिएको निजी क्षेत्रलाई अब त्यस्तो दबाब नपर्ने भन्दै समान अवसर र व्यावसायिक वातावरण सरकारले मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले जातीय र लैङ्कि आधारमा कुनै विभेद नहुने सङ्कल्प गर्दै ज्येष्ठ नागरिकको सम्मान र बालबालिकाको शिक्षा, स्वास्थ्यका लागि विशेष ध्यान दिने बताउनुभयो । विगतमा राजनीतिक नियुक्ति लिएकालाई स्वेच्छिक रूपमा मार्गप्रशस्त गर्ने अपेक्षा गर्दै उहाँले नयाँ नियुक्तिमा विधि र योग्यताको मापदण्ड पालना हुने स्पष्ट गर्नुभयो । सभापति लामिछानेले राजदूतको नियुक्ति बिचौलियाको प्रभावमा नभई श्रमिकको हितकेन्द्रित हुने पनि बताउनुभयो । गैह्रआवासीय नेपालीको पुँजी, सीप र अनुशासनलाई नेपालको आर्थिक विकासमा उपयोग गर्ने बताउँदै उहाँले मुलुकले प्रतिपक्षलाई पनि साथमा लिएर मित्रवत् र पारदर्शी परराष्ट्र नीति कायम गर्ने बताउनुभयो ।

प्रकाशित : १९ चैत्र २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६