दमौली (तनहुँ), २१ चैत
व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा सञ्चालन गरेको जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति भएको छ । व्यास नगरपालिका–१० बैरेनीमा सञ्चालित जग्गा विकास आयोजनामा फागुन मसान्तसम्म ८० प्रतिशत भौतिक र ४५ प्रतिशत वित्तीय प्रगति भएको जनाइएको छ । हालसम्म उक्त आयोजनामा रु चार करोड १६ लाख नौ हजार चार सय ९४ खर्च भएको छ । नगरपालिकाले रु नौ करोड २४ लाख ७० हजार ८१ को लागतमा जग्गा विकास आयोजनाको काम सुरु गरेको हो । प्रारम्भिक चरणमा जग्गा सम्याउने तथा ‘रिटेनिङ वाल’ निर्माणका लागि रु ५९ लाख ९० हजार सात सय ८१ मा ठेक्का लागेको थियो । उक्त ठेक्काको जिम्मा विश्वास एण्ड बिपु कन्स्ट्रक्सन जोरपाटीले पाएको थियो । त्यस्तै दोस्रो चरणमा सडक, ढल तथा अन्य संरचना निर्माणका लागि रु आठ करोड ६४ लाख ७९ हजार दुई सय ३७ मा ठेक्का लागेको थियो । उक्त ठेक्का एचआरभी शिवदेव जेभी धुलिखेलले पाएको छ । हालसम्म ‘रिटेनिङ स्ट्रक्चर’लगायत मुख्य ढल निकास र सहायक ढल निकासको अधिकांश निर्माण कार्य सम्पन्न भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार खानेपानी लाइन विस्तार तथा ढल नालाको कभर स्ल्याब निर्माण कार्य भइरहेको छ । यस्तै मुख्य ढल निकास नालीको तीन स्थानमा ‘क्रस ड्रेन स्ट्रक्चर’को निर्माणको कार्य सकिएको उहाँले बताउनुभयो । यस्तै स्ट्रक्चरल वाल निर्माण कार्य सम्पन्न भई कार्यालय भवन निर्माण ‘फिनिसिङ’ कार्य अन्तिम चरणमा पुगेको लम्सालले बताउनुभयो । यहाँ विद्युत् पोलको निर्माण गरिने तथा प्रसारण लाइनका लागि सहरी विकास तथा भवन निर्माण विभागको वित्तीय सहयोग र विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रको समन्वयमा निर्माण गरिनेछ । भूकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट)को प्राविधिक सहयोगमा सम्भाव्यता अध्ययन सकिएपछि जग्गा एकीकरण आयोजना अगाडि बढाइएको नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेका अनुसार प्रथम चरणमा २६१ रोपनी क्षेत्रफलमा आयोजना कार्यान्वयन गर्नका लागि मस्यौदा योजना तयार गरी सहरी विकास मन्त्रालयमा पेस गरिएकामा विसं २०७८ फागुन २ गते सरकारबाट स्वीकृत भएको थियो । नगरपालिकाले आयोजना निर्माणका लागि विसं २०८१ मङ्सिर १५ गते नगर विकास कोषसँग ऋण सम्झौता गरेको थियो । सम्झौताअनुसार नगर विकास कोषले ७० प्रतिशत र नगरपालिकाले ३० प्रतिशत रकम बेहोर्नेछन् । जग्गा एकीकरण आयोजनाका लागि एक लाख ३२ हजार आठ सय १४ वर्ग मिटर (२६१ रोपनी) क्षेत्रफल छुट्याइएको छ । जग्गा एकीकरण आयोजनामा दुई सय ३१ लाभग्राहीका तीन सय ४७ कित्ता समावेश गरिएको छ । प्रत्येक जग्गाधनीहरूले गर्नुपर्ने योगदानको विस्तृत योगदान तालिका तथा चक्लाबन्दी नक्सासमेत तयार भइ स्वीकृत भइसकेको छ । आगामी दिनमा जगाको चार किल्ला सीमाङ्कन गरी आयोजनाका सम्बन्धित जग्गाधनीहरूलाई अस्थायी जग्गाधनी प्रमाणपुर्जासहित जग्गा फिर्ता गरिनेछ । त्यसपश्चात् पूर्वाधार निर्माणका लागि आरक्षित घडेरी बिक्री गरी विभिन्न चरणमा नगर विकास कोषलाई ऋण रकम भुक्तानी गरिने जनाइएको छ । व्यास नगरपालिका–१० (साविक फराकचौर वडा नम्बर ८ (घ) र (ङ)) का अन्तर्गतका जग्गामा आयोजना सञ्चालन गरिनेछ । आयोजना सञ्चालनका लागि पूर्वतर्फ व्यास मार्गदेखि ५० मिटरभित्रबाट सुरु फराकचौर ८ ङ (३८७, ४०९, ३३०, ३७०, ३४८, ९७२, ५९३, ६८७, ९४८, ९४९, १०१, १००, ५१६, ९६५,९६२, ९६०, ९६१) फराकचौर ८ घ (५१४, ४९०, ४५६, ४२८, ४८३, ४७६, ४७५, ४७७, १६०, ५७२, ४१७, ७३१, ७३२, ८४२, ८४५, ८४४, ९२७, ६९) देखि भित्रका कित्ता समावेश छन् । पश्चिमतर्फ मादी नदीले कटान गरी बनेको डिल फराकचौर ८ ङ (३) फराकचौर ८ घ (२, १२०६, १२०५) देखि भित्रका कित्ताहरू आयोजनामा समावेश गरिएका छन् । उत्तरतर्फ बोटेनी खोल्सी फराकचौर ८ ङ (२९०, ४३, ८९५, २६५, २६७) देखि भित्रका कित्ताहरू छन् भने दक्षिणतर्फ व्यास मार्गको प्रतिक्षालय चोक देखि बोटे सङ्ग्रहालय जाने बाटो फराकचौर ८ घ (३९०, १३०, १२६०, १४६७, १३३६, ७४२, ७४१, १५१४, १५१५, १२४२, १२४४, १२४५, १२४६, ८८८, ८८७, ८८६, १५४८, १५४६, १५४७, ४०७, ५८५, १३४६) देखि भित्रका कित्ता समावेश रहेको नगरपालिकाले जनाएको छ । वैरेनी जग्गा एकीकरण आयोजनाअन्तर्गत एक हजार ५३६ रोपनी सम्भाव्यता अध्ययन गरिएको थियो । व्यास नगरपालिकाको व्यवस्थित सहरीकरणको अभियानमा यो स्वीकृति कोसेढुङ्गा हुने नगरपालिकाको दाबी छ । —
Powered By Orson Infotech








प्रतिक्रिया