ब्रेकिंग न्युज

औषधिको ‘प्रमोसन’ गर्ने व्यक्तिलाई कार्यालय समयभित्र वीर अस्पताल प्रवेशमा निषेध



काठमाडौँ, २१ चैत

वीर अस्पतालले चिकित्सकले बिरामीलाई औषधि सिफारिस गर्दा कुनै निश्चित कम्पनी वा ‘ब्रान्ड’ तोकी नलेख्न निर्देशन गरेको छ । अस्पतालका कार्यकारी निर्देशक प्राडा दिलीप शर्माले चिकित्सकले बिरामीलाई औषधि तथा सर्जिकल सामग्रीको सिफारिस गर्दा कुनै निश्चित कम्पनी ब्रान्ड तोकी नलेखी सबैले बुझ्ने गरी ‘जेनेरिक’ नाम ठूलो अक्षरमा लेख्न आग्रह गर्नुभएको हो । यसरी चिकित्सकले औषधिको सिफारिस गरेपछि चिकित्सकले आफ्नो लाइसेन्स नम्बर राखेर हस्ताक्षरसहित लेख्न आग्रह गरिएको छ । अस्पतालका निर्देशक प्राडा शर्माले औषधिको ‘प्रमोसन’ गर्ने व्यक्ति (एमआर) लाई कार्यालय समयभित्र प्रवेशमा निषेध गरिएको जानकारी दिनुभयो । औषधिको प्रमोसन गर्ने व्यक्ति (एमआर)लाई कार्यालय समयमा बहिरङ्ग सेवा, आकस्मिक कक्ष तथा शय्यामा प्रवेशमा निषेध गरिएको उहाँले बताउनुभयो । यसैगरी, अस्पतालले अस्पताल हाताभन्दा बाहिरका औषधि पसलबाट औषधि किन्न बिरामीलाई अभिप्रेरित गर्ने र शय्यामा गएर औषधि पसलले ‘भिजिटिङ कार्ड’ बाँड्ने गरेकोसमेत पाइएकाले त्यस्तो कार्य नगर्न सबै कर्मचारीलाई अनुरोध गर्नुभएको छ । यस्तो कार्य गरेको पाइएमा अस्पताल प्रशासनबाट नियमानुसारका कारबाही गर्नेसमेत अस्पतालका कार्यकारी निर्देशक प्रा डा शर्माले बताउनुभएको छ । यसैगरी, अस्पताल प्रशासनले चिकित्सकले औषधि तथा सर्जिकल सामग्रीको कम्पनी वा ब्रान्ड नमिलेको भनी फिर्ता गरी बिरामीलाई अनावश्यक दुःख दिने कार्य नगर्नसमेत आग्रह गरेको उहाँले बताउनुभयो । यदि त्यस्तो दुःख दिने कार्य गरेको पाइएमा संलग्न चिकित्सक, नर्सिंङ तथा अन्य कर्मचारीलाई कारबाही गरिने समेतमा अस्पतालले उल्लेख गरेको छ । ‘फोकल पर्सन’ तोक्न स्वास्थ्य मन्त्रालयको निर्देशन यसैबीच , स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो मातहतका स्वास्थ्य संस्थालाई ‘फोकल पर्सन’ तोकेर पठाउन निर्देशन जारी गरेको छ । मन्त्रालयका सूचना अधिकारी डा भक्त केसीले ‘हेलो सरकार’बाट आएका गुनासोलाई सम्बोधन गर्नका लागि आफ्नो मातहतका ४६ स्वास्थ्य सङ्घसंस्थालाई जति सक्दो चाँडो ‘फोकल पर्सन’ तोकेर पठाउन निर्देशन दिएको जानकारी दिनुभयो । उहाँले सरकारले जारी गरेको शासकीय सुधारका कार्यक्रमको हेलो सरकारलाई स्तरोन्नति गरी नागरिक ‘प्लेटफर्म’का रुपमा विकास गर्नका लागि फोकल पर्सन तोकेर पठाउन मन्त्रालयमा मातहतका निकाय, अस्पताल र प्रतिष्ठानलाई निर्देशन दिएको बताउनुभयो । उहाँले ति फोकल पर्सनले हेलो सरकारबाट प्राप्त भएका नागरिकका गुनासो सम्बोधनका गर्ने बताउनुभयो । स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत ४६ वटा विभाग÷अस्पताल÷प्रतिष्ठानलाई पत्र पठाइएको सूचना अधिकारी डा केसीले बताउनुभयो । –––

Powered By  Orson Infotech

प्रकाशित : २१ चैत्र २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६