अन्तर्राष्ट्रिय

निर्यातलाई बढाउन सकेमात्र मुलुकको अर्थतन्त्र सुदृढ बन्छ’



काठमाडौँ, २० चैतः प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले निर्यातलाई बढाउन सकेमात्र मुलुकको अर्थतन्त्र बलियो हुने बताउनुभएको छ ।निर्यात व्यवसायी महासङ्घ नेपालको छैटौँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उहाँले मुलुकको आर्थिक विकासको लागि निर्यात व्यवसायलाई बढाउन जरुरी रहेको बताउनुभएको हो । “पुरानो नेताको अनुभव र नयाँको ज्ञानलाई प्रयोग गरेर मुलुकको अर्थतन्त्र बलियो बनाउन वर्तमान सरकार लागेको छ, कसैलाई गाली गरेर होइन, योगदान गरेर मुलुकको विकास गर्नुपर्छ,” उहाँले भन्नुभयो । मुलुकको आर्थिक उन्नतीका लागि सबै एकजुट हुनुपर्ने उहाँको भनाइ थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट काठमाडौँ क्षेत्र नं ७ का प्रतिनिधिसभा सदस्य पराजुलीले मुलुकमा सुशासन र आर्थिक विकासका लागि रास्वपाले १०० बुँदे बाचापत्र तयार गरेको बताउँदै यसलाई पुरा गर्न वर्तमान सरकार लाग्ने विश्वास व्यक्त गर्नुभयो ।नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले सबै राजनीतिक दलले आफ्नो घोषणापत्रमा निजी क्षेत्रको विकासलाई प्राथमिकतामा राख्नु निजी क्षेत्रका लागि खुशीको कुरा भएको बताउनुभयो । उहाँले रोजगारीका लागि विदेश जाने जनशक्तिलाई रोक्न र देशमै रोजगारी प्रदान गर्न वर्तमान सरकार लाग्नुपर्ने बताउनुभयो । उहाँले व्यवसायीको लागि सहज वातावरण निर्माणमा सरकार लाग्नुपर्ने उल्लेख गर्नुभयो । नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष गोकुल भण्डारीले आयतमुखी अर्थतन्त्र भएको देशलाई निर्यात प्रवद्र्धनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले मुलुकको अर्थतन्त्रको विकासका लागि उत्पादनलाई ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठ, महासङ्घका संस्थापक अध्यक्ष रामबहादुर गुरुङ, नेपाल हस्तकला महासङ्घका अध्यक्ष रवीन्द्र शाक्य, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका निर्देशक राजेन्द्र सिंहलगायतले सरकारले निर्यात क्षेत्रलाई सहजीकरण गरेमात्र मुलुकको अर्थतन्त्र बलियो हुने बताउनुभएको थियो ।

महासङ्घका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले निर्यात क्षेत्रलाई सहजीकरण गर्नका लागि अन्तरराष्ट्रिय प्रदर्शन केन्द्र स्थापना, विदेशमा हुने मेलाको वजेट व्यवस्थापन, नेपालमा उत्पादित सामान परिक्षणका लागि अन्तरराष्ट्रिय स्तरको प्रयोगशाला, तालिम केन्द्र, अनलाइनमार्फत नगद अनुदानलगायतका सेवामा सहजीकरण गर्न सरकारलाई आग्रह गर्नुभयो । कार्यक्रममा निर्यात गतिविधिलाई समेटेर तयार गरिएको ‘निर्यात स्मारिका’को विमोचन गरिएको थियो ।

प्रकाशित : २१ चैत्र २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६