ब्रेकिंग न्युज

भलिबलको एउटै टिममा परिचारका चार जना सदस्य



म्याग्दी, २२ चैतः

यहाँको धवलागिरि गाउँपालिका-३ फलियागाउँको एउटा भलिबल टिममा एकै घरका चार जना सहभागी छन् । छ जना खेलाडी आवश्यक पर्ने भलिबल टिममा सबहादुर गोतामे र उनका तीन छोराहरू स्थायी सदस्य हुन् । बयालीस वर्षीय सबहादुरका २० वर्षीय नरेश, १९ वर्षीय नवीन र १७ वर्षीय केशव भलिबलका खेलाडी हुनुहुन्छ । दुई जना परिवार बाहिरका खेलाडीलाई थपेर विभिन्न ठाउँमा आयोजना हुने भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने उनीहरू ‘घरपरिवार भलिबल’ समूहका नामले चिनिन थालेका छन् । “बुबा सबहादुर सानैदेखि भलिबल खेल्दै आउनुभएको छ”, नरेशले भन्नुभयो, “हामी पनि बुबाको खेल कलाबाट प्रभावित भएर भलिबल खेल्न सिकेका र घरपरिवारकै टिम बनाएर प्रतियोगितामा खेल्न थालेका हौँ ।” कक्षा १२ उत्तीर्ण गरेका नरेशले बुबाको घोडा व्यवसायलाई सघाउँदै आउनुभएको छ । नवीन र केशव फलियागाउँको कक्षा १२ मा अध्ययनरत छन् । एकै किसिमका अग्लो र पातलो जिउडाल भएका सबहादुर र उहाँका छोरा भलिबल टिमको सेटर, रेज, लिब्रोलगायत सबै खेलाडीको भूमिका निभाउन सक्नुहुन्छ । घरपरिवार भलिबल समूहले हालै धवलागिरि गाउँपालिका-७ धारापानी र वडा नं २ खोरियामा आयोजित प्रतियोगितामा उपाधि जितेको छ । नवीन र केशवले धवलागिरि गाउँपालिकाले पछिल्लोपटक आयोजना गरेको राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगितामा एथलेटिक्सतर्फ तीन÷तीनवटा स्वर्ण पदक दिलाउँदै धजनता माविलाई विजयी बनाउन योगदान गर्नुभयो । नरेशले पनि धवलागिरि गाउँपालिकाको तर्फबाट प्रदेशस्तरीय भलिबल प्रतियोगितामा सहभागी हुने अवसर पाउनुभएको छ । नरेश र नवीनले प्रदेशस्तरीय दौड र ज्यावलिङ थ्रो प्रतियोगितामा पनि भाग लिनुभएको छ । केशवले गत माघमा जिल्ला भलिबल सङ्घले आयोजना गरेको म्याग्दी कप भलिबल प्रतियोगितामा उत्कृष्ट सेटरको उपाधि जित्नुभएको थियो । मध्यमवर्गीय पारिवारिक पृष्ठभूमि भएका सबहादुर कतारमा दुई वर्ष रोजगारी गरेर फर्कनुभएको हो । कतारबाट फर्किएपछि ढुवानी व्यवसायका लागि सबहादुरले घोडापालन गर्दै आउनुभएको छ । आठवटा घोडा पाल्नुभएका सबहादुर घोडामा बोकाएर तरकारी र फलफूल बिक्रीका लागि गाउँठाउँमा पनि पुग्ने गर्नुहुन्छ । फुर्सदको समय र मेलाजात्रामा उहाँहरूको टोली भलिबल प्रतिस्पर्धा गर्न जानुहुन्छ । उहाँहरूको खेल मन पराएर दर्शकले आर्थिक सहयोगका साथै पोशाक सहयोग गर्न थालेका छन् । मुना घर भई हाल अस्टे«लियामा रहेका इम रोकाले शनिबार रु २७ हजार मूल्यबराबरको जर्सी र ट्रयाक उपलब्ध गराउनुभएको छ । अमेरिकामा रहेका दलबल रोका, टेक रसाइली र अस्टे«लियाबाट ठहरबहादुर भण्डारीले पनि उनीहरूलाई जर्सी सहयोग गर्नुभएको छ । “सहयोगले हामीलाई भलिबल खेलमा निरन्तर सक्रिय हुन हौसला मिल्नुका साथै उत्साह पैदा भएको छ”, सबहादुरले भन्नुभयो, “शारीरिक अवस्थाले साथ दिँदासम्म भलिबल खेलमा निरन्तर सक्रिय रहनेछु ।” —

प्रकाशित : २२ चैत्र २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६