भक्तपुर, २१ चैतः जिल्ला प्रहरी परिसर भक्तपुरद्वारा सञ्चालित ‘स्विप अपरेसन’बाट आज एकैदिन ६० जनालाई फक्राउ परेका छन् । प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले प्रहरीद्वारा सञ्चालित ‘स्विप अप्रेसन’मा आज एकैदिन जिल्लाका विभिन्न स्थानबाट ६० जना पक्राउ परेका जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यस्ता अप्रेसन विगतमा पनि गरिन्थ्यो, आजदेखि स्विप अप्रेसन सञ्चालन गरी परिसरअन्तर्गत रहेका जिल्लाका दुई प्रहरी वृत्त, प्रहरी प्रभाग र युनिटलाई परिचालन गरी अप्रेसन सुरु गरेका हौँ । आज पक्राउ परेका सबैलाई छानबिन गरेर अपराधिक घट्नामा संलग्न नभएका पाइएकामा छाड्छौँ ।” सार्वजनिक स्थलहरूमा शान्तिसुरक्षा भङ्ग गर्ने खालका क्रियाकलाप गर्ने, शङ्कास्पद गतिविधि गर्ने, लागुपदार्थ सेवन गर्ने, विभिन्न स्थानमा समूहमा बसेर गलत गतिविधि र होहल्ला गर्नेलगायत शङ्कास्पद गतिविधि गर्ने ६० जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको उहाँले जानकारी दिनुभयो । समाजमा शान्तिसुरक्षा कायम राख्ने मुख्य उद्देश्यले स्विप अप्रेसन सुरु गरिएको जानकारी दिँदै प्रहरी उपरीक्षक खड्काले नजिकिँदै गरेको बिस्केट जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन पनि आजदेखि उक्त अप्रेसन सञ्चालन गरिएको बताउनुभयो । यसले स्थानीयमा डरत्रासको वातावरण अन्त्य हुनुका साथै जात्रालाई सफल बनाउन सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
२२ चैत्र २०८२, आइतबार








प्रतिक्रिया