खोज–अनुसन्धान

प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीले सुरु गर्‍यो पत्रकार लेखनवृत्ति कार्यक्रम



गण्डकी, २४ चैत

गण्डकी प्रदेश सरकारअन्तर्गत रहेको प्रेस रजिष्ट्रारको कार्यालयले पत्रकार लेखनवृत्ति कार्यक्रम सुरु गरेको छ । प्रदेशमा क्रियाशील पत्रकारहरूलाई खोजमूलक, अनुसन्धानमूलक र आलेखजन्य सामग्री उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले उक्त कार्यक्रम सुरु गरिएको हो । लेखनवृत्ति प्रदानका लागि छुट्टै कार्यविधि बनाएर काम थालिएको प्रेस रजिष्ट्रार विमला भण्डारीले बताउनुभयो । चालु आर्थिक वर्षमा प्रदान गरिने लेखनवृत्तिका लागि इच्छुक पत्रकारहरूलाई आवेदन दिन गत आइतबार १५ दिने सूचना प्रकाशन गरिएको उहाँको भनाइ छ । लेखनवृत्ति कार्यक्रममा सहभागी हुनलाई प्रदेशभित्र सञ्चारमाध्यममा कार्यरत पत्रकार हुनुपर्ने प्रावधान राखिएको छ । कुनै सञ्चारमाध्यममा आबद्ध नभए पनि तीन वर्षदेखि पत्रकारितामा क्रियाशील रहेको स्वतन्त्र पत्रकारले पनि आवेदन दिन सक्ने प्रेस रजिष्ट्रारको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक विकास कार्यक्रम र पत्रकार लेखन वृत्ति कार्यक्रम कार्यान्वयन कार्यविधि–२०८२ बमोजिम लेखनवृत्ति प्रदान गर्न लागिएको प्रेस रजिष्ट्रार भण्डारीले बताउनुभयो । लेखनवृत्ति कार्यक्रममा छापा, रेडियो, टेलिभिजन, अनलाइन र फोटो पत्रकारितामा सक्रिय पत्रकारलाई समेटिने भएको छ । लेखनवृत्ति कार्यक्रममा सहभागी हुन चाहने पत्रकारले कार्यविधिले तोकेबमोजिमको निवेदन, कार्यक्षेत्र, अनुभव र जिम्मेवारी खुल्ने विवरण, लेखन तथा प्रसारण गर्न चाहेको विषयको ३०० शब्दसम्मको अवधारणा, पत्रकार परिचयपत्रको प्रतिलिपि स्वतन्त्र पत्रकारको हकमा ३ वर्ष क्रियाशील रहेको प्रमाण, नागरिकता र स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि बुझाउनुपर्ने जनाइएको छ । छनोट भएका पत्रकारले कार्यविधिले तोकेको समयभित्र खोजमूलक सामग्री तयार गरी प्रकाशन वा प्रसारण गर्नुपर्ने प्रेस रजिष्ट्रारको कार्यालयले जनाएको छ । छनोट हुने पत्रकारलाई प्रतिव्यक्ति बढीमा रु २५ हजार प्रदान गरिने भएको छ । विज्ञहरूको समितिले लेखनवृत्ति प्राप्त गर्ने पत्रकाहरूको नाम छनोट गर्नेछ ।

प्रकाशित : २४ चैत्र २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६