अर्थ-वाणिज्य

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता



सिरहा, २७ चैत

विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक खाता बिहीबारदेखि पुनः सञ्चालनमा आएको छ । खाता सञ्चालनमा आएसँगै लामो समयदेखि रोकिएको कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्ता र विकास निर्माणका कामको भुक्तानी हुने भएको छ । खाता रोक्का हुँदा नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकले तलब पाउन सकेका थिएनन् । यसका साथै विद्यालयका पाठ्यपुस्तक, छात्रवृत्ति, दिवा खाजा र विद्यालय व्यवस्थापन अनुदानसमेत रोकिएकाले शैक्षिक क्षेत्र नराम्ररी प्रभावित भएको थियो । तलब नपाएपछि कर्मचारी र शिक्षकहरूले नयाँ वर्ष २०८३ अघि नै निकासा नभए कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका थिए । नगरपालिकाको खाता रोक्का हुनुको मुख्य कारण प्रमुख प्रशासकीय अधिकृत जयकान्त झाको सरुवासम्बन्धी विवाद थियो । सरकारले झाको स्थानमा शिक्षातर्फका उपसचिवलाई पठाउन खोजेपछि नगरपालिकाले असहमति जनाएको थियो । आफ्नो अवकाश हुन केही महिनामात्र बाँकी रहेको भन्दै झाले सरुवा रोक्न प्रशासकीय अदालतमा मुद्दा दायर गर्नुभएको थियो । अदालतले फागुन ११ गते सरुवालाई यथास्थितिमा राख्न आदेश दिए पनि मन्त्रालयले खाता फुकुवा नगर्दा समस्या लम्बिएको थियो । हाललाई जयकान्त झा नै प्रमुख प्रशासकीय अधिकृतका रूपमा कायम रहनेगरी खाता सञ्चालन भएको हो । खाता सञ्चालन भएपछि नगरप्रमुख चौधरीले प्रशासनिक जटिलताका कारण सेवाग्राही र कर्मचारीले भोग्नुपरेको समस्याप्रति आफूहरू सजग रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “लामो समयको अवरोध हटेको छ, अब नगरपालिकाको आर्थिक र प्रशासनिक कामकाजले पुनः गति लिनेछ र रोकिएका सबै प्रक्रियालाई हामी द्रुतगतिमा अगाडि बढाउनेछौँ ।” खाता खुलेपछि अब कर्मचारीको रोकिएको तलब र सामाजिक सुरक्षा भत्ता वितरणको प्रक्रिया तत्कालै अघि बढ्ने नगरपालिकाले जनाएको छ ।

प्रकाशित : २७ चैत्र २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६