काठमाडौँ, २६ चैत ः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागुऔषध (खैरो हिरोइन) र रु एक लाख ७२ हजार ७०० सहित एक जना युवकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । झापा अर्जुनधारा नगरपालिका–१० घर भई हाल काठमाडाँै बूढानीलकण्ठ नगरपालिका–१० बस्ने २७ वर्षीय रामचन्द्र पुरीलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बूढानीलकण्ठ–१० नगर अस्पताल एरियामा लागुऔषध कारोबार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा हाम्रो टोलीले अस्पताल नजिक रामचन्द्र पुरी बस्ने डेरा कोठाको खानतलासी गर्दा ५९.५ ग्राम लागुऔषध खैरो हिरोइनजस्तो देखिने पदार्थ र रु एक लाख ७२ हजार ७०० सहित पक्राउ गरिएको हो ।” प्रहरीका अनुसार निजको साथबाट डिजिटल तराजु एक थान, डायरी एक थान तथा एक थान निलो रङको आइफोन पनि बरामद गरिएको जनाएको छ । पक्राउ परेका निज पुरीमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि आज जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रवक्ता कार्कीले बताउनुभयो ।
२७ चैत्र २०८२, शुक्रबार








प्रतिक्रिया