कर्णाली, २६ चैत ः जुम्लाबाट सुर्खेत आउँदै गरेको एम्बुलेन्स दुर्घटनामा परी गम्भीर घाइते भएका दुई बिरामीलाई थप उपचारका लागि सुर्खेत ल्याइएको छ ।हिमा गाउँपालिका–६ जुम्ला पातरखोलाका बिरामी ७१ वर्षीय कलबहादुर अधिकारी र वडा नं ७ मर्चीगाउँ निवासी २० वर्षीय लोकेन्द्र शाहीलाई कालीकोट अस्पतालबाट थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको हो । खाँडाचक्र नगरपालिका–२ कालीकोट मान्मस्थित मेयरखोला नजिक बिरामी बोकेर जुम्लादेखि सुर्खेत आउँदै गरेको कप्र०१००१झ ००२४ नम्बरको एम्बुलेन्स बुधबार राति ८ः१० बजे दुर्घटना हुँदा गम्भीर घाइते भएका थिए । घाइतेमध्ये अधिकारीको खुट्टाको तिघ्रा नजिक दुई ठाउँमा हड्डी भाँचिएकाले आइसीयूमा राखेर उपचार भइरहेको र काठमाडौँ पठाउने तयारी गरिएको प्रदेश अस्पतालका सूचना अधिकारी अनिता ज्ञावलीले जानकारी दिनुभयो । उहाँका अनुसार अर्का घाइते शाहीको अवस्था सामान्य छ । दुवैको उपचार खर्च प्रदेश अस्पतालले नै व्यहोर्ने सूचना अधिकारी ज्ञावलीले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीका अनुसार दुर्घटनाका कारण एम्बुलेन्समा सवार बिरामी अधिकारीका छोरा ३२ वर्षीय भीमबहादुर अधिकारी र वडा नं ७ निवासी एम्बुलेन्स चालक २६ वर्षीय शक्तिबहादुर शाहीको मृत्यु भएको थियो । भीमबहादुर बुबा कलबहादुरको उपचारका लागि एम्बुलेन्सको व्यवस्थापन गरेर सुर्खेत हिँडेका थिए ।








प्रतिक्रिया