खोज–अनुसन्धान

बाणगंगामा फोहोर व्यवस्थापन चुनौती

अस्थायी समाधानबाट दीर्घकालीन योजनातर्फ बहस तीव्र



बाणगंगा, कपिलवस्तु २८ चैत्र

बाणगंगा नगरपालिकामा फोहोर व्यवस्थापनको जटिलता र समाधानका उपायबारे व्यापक छलफल तथा अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ। नगरकार्यपालिका कार्यालय परिसरमा आयोजित कार्यक्रममा पछिल्लो समय फोहोर व्यवस्थापनमा देखिएका समस्या, स्थानीय अवरोध तथा दीर्घकालीन समाधानका विकल्पहरूबारे गम्भीर बहस भएको नगर प्रमुख चक्रपाणी अर्यालले बताउनु भयो ।


कार्यक्रममा शुक्रबार नगरपालिका परिसरमै फोहोर खसालिएको घटनाप्रति सहभागीहरूले कडा आपत्ति जनाउँदै यस्तो अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही अघि बढाउने निर्णय गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाले सार्वजनिक स्थलमा फोहोर फाल्ने प्रवृत्तिले समग्र व्यवस्थापन प्रणालीलाई चुनौती दिएको ठहर गर्दै अनुशासन र उत्तरदायित्व आवश्यक रहेको निष्कर्ष निकालेको छ।
हालको अवस्थालाई मध्यनजर गर्दै तत्कालका लागि ११ वटै वडाले आफ्नै वडाभित्र फोहोर व्यवस्थापन गर्ने निर्णय गरिएको नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो। यद्यपि, यो समाधान अस्थायी मात्र रहेको र दीर्घकालीन व्यवस्थापनका लागि नगरपालिकाले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार वडा नं. ९ स्थित नमुना सामुदायिक वन क्षेत्रमा जग्गा प्राप्त गरी व्यवस्थित फोहोर व्यवस्थापन केन्द्र स्थापना गर्ने निष्कर्ष निकालिएको बताइएको छ।


नगरपालिकाले यसअघि अस्थायी रूपमा प्रयोग गर्दै आएको फोहोर व्यवस्थापन स्थलमा स्थानीयको अवरोधका कारण काम प्रभावित भएको छ। विभिन्न स्थानहरू छनोट गरिए पनि स्थानीय विरोधका कारण कार्यान्वयनमा समस्या देखिएको नगरपालिकाको भनाइ छ। यसले फोहोर व्यवस्थापनलाई थप जटिल बनाएको देखिन्छ।
कार्यक्रम नगर प्रमुख चक्रपाणी अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा उपप्रमुख रिता कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, वडा अध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले नयाँ वर्ष २०८३ को शुभकामना आदान–प्रदान समेत गरेका थिए।


बाणगंगामा फोहोर व्यवस्थापनको मुख्य चुनौती स्थानको अभाव मात्र नभई स्थानीय स्वीकृति को कमी भएको सहजै विश्लेषण गर्न सकिन्छ । ‘मेरो क्षेत्रमा फोहोर नहोस्’ भन्ने मानसिकताले दीर्घकालीन समाधानमा बाधा पु¥याएको देखिन्छ। यसका साथै, स्रोतमा नै फोहोर छुट्याउने अभ्यासको अभाव, जनचेतनाको कमी र व्यवस्थापनमा एकीकृत योजना नहुनुले समस्या थपिएको सरोकारवालाको भनाइ रहेको छ।
दीर्घकालीन योजना (डीपीआर) कार्यान्वयन, प्रविधियुक्त व्यवस्थापन प्रणाली, विकास र कानुनी कडाइ नगरपालिकाको रोडम्याप बन्नु पर्ने देखिन्छ ।
वडाबाटै स्रोतमा फोहोर वर्गीकरण अभियान सञ्चालन, स्थानीय निगरानी आवश्यक हुन्छ । स्थानीय बासिन्दाले पनि फोहोर नछर्ने, घरमै छुट्याउने र सामुदायिक सहकार्य गर्ने आवश्यकता रहेको छ ।
सामुदायिक वन तथा संस्थाहरूले पनि जग्गा उपलब्ध गराउने र वातावरणीय संरक्षणमा सहकार्य आवश्यक छ । निजी क्षेत्र÷संस्थाले रिसाइकल, कम्पोस्टिङ र नवप्रविधिमा लगानी उपयुक्त हुन सक्छ ।
समस्या समाधानका निम्ति फोहोर व्यवस्थापन समस्या मात्र होइन, अवसर पनि हो भन्ने बुझाईमा एकरुपता जरुरी छ । यदि सही ढंगले व्यवस्थापन गरियो भने जैविक फोहोरबाट मल उत्पादन, अजैविक फोहोरबाट पुनःप्रयोग (चभअथअष्लिन) र रोजगारी सिर्जना गर्न सकिन्छ।
नगरपालिकाले अब “फोहोरलाई स्रोतमा रूपान्तरण” गर्ने दृष्टिकोण अपनाउन आवश्यक देखिन्छ। स्थानीय तह, समुदाय र सरोकारवालाबीच विश्वास र सहकार्य बढाउन सके बाणगंगा सफा, स्वस्थ र दिगो नगरको रूपमा स्थापित हुन सक्छ।
फोहोर व्यवस्थापन केवल नगरपालिकाको जिम्मेवारी होइन, यो सबैको साझा कर्तव्य हो। सामूहिक प्रतिबद्धता र व्यवहारिक कार्यान्वयनले मात्र दिगो समाधान सम्भव हुने शनिवार सम्पन्न भेलाको निश्कर्ष रहेको नगरपालिको जनाएको छ ।

प्रकाशित : २८ चैत्र २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६