काठमाडौं, ३ बैशाख
नेकपा (एमाले) का नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पार्टीभित्र पुनः ‘वाम एकता’को बहस चलिरहेका बेला विचार र सिद्धान्तविहीन एकताले पार्टीलाई कमजोर बनाउने बताएका छन्।
उनले केही नेताहरू नेतृत्वमाथि संकट आएको भन्दै पुनः एकताको प्रयासमा लागेको उल्लेख गर्दै विगतमा पद प्राप्तिका लागि गरिएको एकता र अहिले अस्तित्व जोगाउन गरिने एकताबीच खासै भिन्नता नरहेको टिप्पणी गरे।
नेता पाण्डेले स्पष्ट विचार, सिद्धान्त र दीर्घकालीन लक्ष्य बिना हुने एकताले अन्ततः पार्टीको मूल्य, मान्यता र पहिचानलाई कमजोर बनाउने धारणा व्यक्त गरे। उनका अनुसार नेकपा (एमाले) आफैंमा बलियो ऐतिहासिक विरासत बोकेको पार्टी भएकाले तात्कालिक राजनीतिक लाभभन्दा दीर्घकालीन सुदृढीकरणमा ध्यान दिन आवश्यक छ।
उनले पार्टीको वास्तविक आवश्यकता पुनर्निर्माण भएको उल्लेख गर्दै दक्ष, क्षमतावान तथा विशेषगरी युवाहरूलाई पार्टीमा समेट्नुपर्नेमा जोड दिए। यसो नगरे पार्टी झन् संकुचित हुँदै जाने उनको भनाइ छ।
विगतमा वैचारिक आधारबिना गरिएको एकताको परिणाम पार्टीले भोगिसकेको स्मरण गराउँदै उनले अहिले पनि मौन बस्नु गम्भीर भूल हुने चेतावनी दिए।
नेता पाण्डेले नेकपा (एमाले) लाई सत्ता र स्वार्थको जोड घटाउ बाट माथि उठाएर विधि, सुशासन र परिणाममुखी नेतृत्वको मार्गमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याए।








प्रतिक्रिया