खोज–अनुसन्धान

मुख्यमन्त्रीहरुको गुनासोः कर्मचारी अभावदेखि असहयोगसम्म



काठमाडौँ, ३ वैशाख

प्रदेश सरकारका मुख्य मन्त्रीहरुले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष प्रदेश सरकारका प्रशासनिक, व्यावहारिक तथा नीतिगत जटिलताबारे गुनासो प्रस्तुत गरेका छन् । प्रधानमन्त्री शाहसँग आज भएको छलफलमा उहाँहरुले समान किसिमका समस्या प्रस्तुत गर्नुभएको थियो । त्यस्ता समस्याहरुमा प्रदेशमा कर्मचारी अभाव, समन्वयको कमी र सङ्घीय कर्मचारीको असहयोगजस्ता गुनासा थिए । उहाँहरुले आवश्यक प्रशासनिक समूहका कर्मचारी नपाएको र पठाइएका कर्मचारीबाट अपेक्षित काम हुन नसकेको गुनासो प्रधानमन्त्रीसमक्ष गर्नुभयो । मुख्यमन्त्रीहरुले प्रदेशमा जग्गाको स्वामित्वमा जटिलता, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई प्रदेशमार्फत व्यवस्थापन गर्न सुझाव दिनुभएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्थानीय कच्चा पदार्थमा आधारित मदिरा उत्पादन तथा ‘ब्रान्डिङ’का लागि सङ्घसँग समन्वय गरेर कानुन निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मनाङ, मुस्ताङ र गोरखाका जमिन नापी तथा स्वामित्वको समस्या, मुस्ताङलाई ‘स्याउ जोन’ घोषणा गरे पनि स्वामित्व समस्याका कारण उत्पादनमा बाधा, नवलपुरको दुम्कीबास–त्रिवेणी खण्डमा निकुञ्जका कारण सडक नखुल्दा स्थानीयले ४५ किलोमिटर घुम्नुपर्ने बाध्यताबारे प्रधानमन्त्री शाहलाई जानकारी गराउनुभयो । फेवाताल संरक्षण, अलपत्र बूढीगण्डकी जलविद्युत् आयोजना, घरेलु मदिरा तथा गाँजा खेतीसम्बन्धी कानुन निर्माणको तयारीबारे पनि विषय उठान गर्नुभएको थियो । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीय मन्त्रालयका परिपत्रहरूले प्रदेशको संवैधानिक अधिकार कार्यान्वयनमा असर परेको गुनासो राख्नुभयो । उहाँले कर्मचारी अभाव र असहयोगका कारण बजेट कार्यान्वयनमा भएका ढिलाइ, अनुभवी प्रमुख सचिव आवश्यकता, जग्गा प्राप्ति, सार्वजनिक खरिद नियमावली संशोधन, वन ऐनका जटिलता तथा अनुदान र राजस्व बाँडफाँटमा पुनर्विचार गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराउनुभयो । त्यसैगरी, २०८० सालको भूकम्प प्रभावित क्षेत्रमा निजी आवास निर्माण, सडक पूर्वाधार विस्तार, सुर्खेत विमानस्थल सञ्चालन तथा उत्तरी सीमामा क्वारेन्टाइन र सुरक्षा व्यवस्था गर्न उहाँले माग गर्नुभयो । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णकुमार यादवले कानुन, प्रशासन र अनुदानसम्बन्धी समस्या साझा रहेको बताउँदै अनुदान कटौती पुनःस्थापनाको माग राख्नुभयो । राजस्व बाँडफाँटमा भूगोल र जनसङ्ख्याको आधार न्यायोचित नभएकाले मधेसमा प्राकृतिक स्रोत अभावबारेको समस्या उठान गर्नुभयो । उहाँले मधेसलाई कृषि निर्भरता, सिँचाइ, मल र बीउको समस्या, ‘फिड द नेसन’ अवधारणा विकास गरी आर्थिक रुपमा सम्पन्न बनाउन सङ्घीय सरकारलाई सहयोगका लागि आग्रह गर्नुभयो । मुख्यमन्त्री यादवले जनकपुर–अयोध्या जोड्ने ‘सीता सर्किट’ तथा विमानस्थल विस्तारको प्रस्ताव पनि राख्नुभएको थियो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निजामती सेवा ऐन, प्रहरी समायोजन ऐन, वन तथा निकुञ्ज ऐन संशोधन आवश्यक रहेको बताउनुभयो । जङ्गली जनावर र मानव द्वन्द्व, कर्मचारी अभाव, प्रशासनिक जटिलता, सचिव पद रिक्तता, अर्थ मन्त्रालयको परिपत्रका कारण प्रदेश सांसद सहयोगीको तलब भुक्तानीमा ढिलाइजस्ता विषयमा ध्यानाकर्षण गराउनुभयो । सो छलफलमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संविधान संशोधन, प्रत्यक्ष निर्वाचित कार्यकारी मुख्यमन्त्री, मन्त्रिपरिषद्को आकार घटाउने तथा शासन प्रणाली सुधारको प्रस्ताव राख्नुभयो । उहाँले मन्त्रालयमा सचिव अभाव, प्रदेश मुख्य सचिवको व्यवस्था, फर्पिङ–हेटौँडा सडक विस्तारमा समन्वय, योजनामा दोहोरोपन रोक्न ‘डेस्क’ स्थापना, उद्योगमैत्री नीति, हेटौँडा सिमेन्ट र कपडा उद्योग सञ्चालनमा सहजीकरण तथा उत्पादनमा आधारित अनुदानको व्यवस्था गर्न माग गर्नुभयो । मुख्यमन्त्रीहरुको गुनासो र सुझाव सुनेपछि प्रधानमन्त्री शाहले सङ्घीय सरकारको उद्देश्य सातै प्रदेशमा सहजीकरण गर्ने रहेको स्पष्ट पार्नुभयो । उहाँले सहजीकरणमा पूर्ण सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । “पूर्वाधारको बजेट एक प्रदेशलाई मात्र प्राथमिकता दिएर अर्कोलाई पछाडि पार्ने गरी होइन, आवश्यकताअनुसार समान रूपमा वितरण गरिनेछ”, प्रधानमन्त्री शाहले भन्नुभयो । छलफलमा मुख्यमन्त्रीहरु बागमती प्रदेशका इन्द्रबहादुर बानियाँ, लुम्बिनीका चेतनारायण आचार्य, गण्डकीका सुरेन्द्रराज पाण्डे, कर्णालीका यामलाल कँडेल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको उपस्थिति थियो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की भने पारिवारिक कारण र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह भने स्वास्थ्य समस्याका कारण सहभागी हुनुभएको थिएन । —

Powered By  Orson Infotech

प्रकाशित : ३ बैशाख २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६