देश

दासढुङ्गामा श्रद्धाञ्जलीसभा



भरतपुर, ३ जेठ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी चितवनले आज मदन-आश्रित दुर्घटनास्थल दासढुङ्गा पुगी तत्कालीन महासचिव जननेता मदन भण्डारी र सङ्गठन विभाग प्रमुख कुशल सङ्गठक जीवराज आश्रितप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । जिल्ला पार्टी कार्यालय भरतपुरबाट मोटरसाइकल र्‍यालीसहित दुर्घटनास्थल दासढुङ्गा पुगेका एमालेका नेता तथा कार्यकर्ताले नेताद्वयको शालिकमा माल्याणर्पण गरी दिवङ्गत नेताद्वयले नेपाली कम्युनिष्ट आन्दोलनमा पुर्‍याएको योगदानको चर्चा गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि एमालेका केन्द्रीय सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवीप्रसाद ज्ञवालीले मदन-आश्रितले छोडेर गएको विचारले अप्ठ्यारोमा पनि जुटिरहने सङ्कल्प प्राप्त भएको धारणा व्यक्त गर्नुभयो । बागमती प्रदेशसभा संसदीय दलका नेता एवं पार्टीका केन्द्रीय सदस्य जेएन थपलियाले नेताद्वयको तेजस्वी सोचलाई अझ उँचोका साथ अगाडि बढाउन प्रण गर्नुपर्ने बताउनुभयो । एमाले चितवनले मदन-आश्रित स्मृति दिवस मनाउन पाँच दिने कार्यक्रम तय गरेको थियो । सोही कार्यक्रमअन्तर्गत जेठ ४ गते (सोमबार) ‘जनताको बहुदलीय जनवादको कसीमा वर्तमान अवस्था र आगामी कार्यभार’ विषयक अन्तरक्रिया कार्यक्रम तय भएको सचिव ढुङ्गानाले बताउनुभयो । कार्यक्रम जिल्ला समन्वय समितिको सभाकक्षमा बिहान ११ः०० बजे हुनेछ । एमाले चितवनको व्यवस्थापनमा हुने कार्यक्रम पार्टीको शुभेच्छुक संस्था मदन भण्डारी फाउन्डेसनले आयोजना गर्नेछ । मदन भण्डारीको शव फेला परेको स्थान पश्चिम चितवनको गाजीपुरमा रहेको मदन पार्कमा जेठ ५ गते श्रद्धाञ्जली कार्यक्रम हुने पार्टी जिल्ला सचिव ढुङ्गानाको भनाइ छ । विसं २०५० जेठ ३ गते रहस्यमय जिप दुर्घटनामा पर्नुभएका पार्टीका तत्कालीन महासचिव जननेता भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितको स्मृतिमा दुर्घटनास्थल कविलासको दासढुङ्गामा श्रद्धाञ्जलीसभाको आयोजना गरी स्मृति दिवस मनाउँदै आएको छ । नेकपा (एमाले)ले सो दुर्घटनालाई नेताद्वयको रहस्यमय हत्या भन्दै आएको छ ।

प्रकाशित : ३ जेष्ठ २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६