चन्द्रपुर (रौतहट), ५ जेठः रौतहटको माधवनारायण नगरपालिकाको आफ्नै सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण कार्य सम्पन्न भएको छ ।सोही नगरपालिकाका नगर प्रमुख वैजनाथप्रसाद यादवले जग्गा दान दिएपछि नगरपालिकाको सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण भएको हो । विगत नौ वर्षदेखि भाडाको घरमा रहेको नगरपालिकाको कार्यालय यस वर्ष भने आफ्नै भवनमा सरेको छ । भवन निर्माणका लागि नगरप्रमुख यादवले माधवनारायण नगरपालिका–६ माधोपुर बजारमा आफ्नो नामको पाँच कठ्ठा र आफैँले सञ्चालन गरेको मठको नाममा रहेको पाँच कठ्ठा जमिन नगरपालिकाको भवन निमार्णका लागि उहाँले दान गर्नुभएको थियो ।नगर प्रमुख यादवले १० कठ्ठा जग्गा नगरपालिकाका नाममा दर्ता गराएर प्रशासनिक भवन निर्माण गरिएको बताउनुभयो । सोही भवनबाट नगरपालिकाको सम्पूर्ण सेवा प्रवाह हुँदै आएको छ । उक्त प्रशासनिक भवनबाट सबै विषयगत शाखा, प्राविधिक, कार्यसमितिलगायत सेवा एउटै स्थानबाट सञ्चालन भइरहेको छ ।नगर प्रमुख यादवले नगरको दीर्घकालीन विकास र सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले जग्गा दान गरेको बताउनुभयो । उक्त भवन माधवनारायण नगरपालिकाले करिब रु ६ करोड र सहरी विकाश मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विभागबाट आधा अनुदान रु ६ करोडको लागतमा निर्माण सम्पन्न भएको नगरपालिकाका इन्जिनियर नागेन्द्र यादवले जानकारी दिनुभयो ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिकेश रेग्मीले नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीबीच सहकार्य रहेको बताउनुभयो । प्रशासनिक भवन आफ्नै पालिकाको हुँदा पालिकाको प्रशासनिक काम गर्न सहज हुने उहाँले बताउनुभयो । यसैबीच चन्द्रपुर नगरपालिकाको प्रशासनिक भवन नहुँदा काम कारबाहीमा समस्या आएको छ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा नगरपालिकाको भवन जलाइदिएपछि अहिले चन्द्रपुर नगरपालिकाकाको कामकाज भाडाको घरबाट जारी छ । भवन पुनःनिर्माणका लागि प्राविधिक काम भइरहेको नगर प्रमुख सञ्जयकुमार काफ्लेले बताउनुभयो ।









प्रतिक्रिया