रुपन्देही, २७ असार (रासी)
लुम्बिनी प्रदेश सरकारअन्तर्गत कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सहकारी दर्ता अधिकारीको कार्यालयले सहकारी संस्थाका ऋणी सदस्यहरूलाई समयमै ऋणको साँवा–ब्याज भुक्तानी गर्न आग्रह गर्दै जरुरी सूचना जारी गरेको छ। कार्यालयले सहकारी प्रणालीको दिगोपना, बचतकर्ताको हित संरक्षण तथा वित्तीय अनुशासन कायम गर्न ऋण चुक्ता गर्न सबै सदस्यलाई अनुरोध गरेको हो।
२०८३, असार २६ गते प्रकाशित सूचनामा सहकारीको मूल मर्म, मान्यता र सिद्धान्तअनुसार समुदायमा छरिएर रहेको पूँजी, प्रविधि, ज्ञान, सीप, श्रम र प्रतिभालाई एकीकृत गरी सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक उत्थान गर्ने उद्देश्यले सहकारी संस्थाहरू स्थापना भएको उल्लेख गरिएको छ। तर पछिल्लो समय केही सहकारी संस्थामा ऋणी सदस्यहरूले समयमै ऋणको साँवा–ब्याज भुक्तानी नगर्दा तरलता (लिक्विडिटी) को समस्या देखिएको कार्यालयले जनाएको छ।
सूचनामा सदस्यहरूको बचत रकम नै ऋणका रूपमा प्रवाह हुने भएकाले ऋण असुलीमा ढिलाइ हुँदा बचतकर्ताले आफ्नै रकम फिर्ता पाउन कठिनाइ हुने अवस्था सिर्जना भएको उल्लेख छ। यसबाट बचतकर्ताको विश्वासमा असर पर्नुका साथै सहकारी संस्थाको नियमित सेवा प्रवाहसमेत प्रभावित हुने अवस्था देखिएको जनाइएको छ।

कार्यालयले सहकारी ऐन, २०७४, सहकारी नियमावली, २०७५, लुम्बिनी प्रदेश सहकारी ऐन, २०७६ तथा लुम्बिनी प्रदेश सहकारी नियमावली, २०७६ मा ऋण तथा बाँकी बक्यौता असुलीसम्बन्धी स्पष्ट कानुनी व्यवस्था रहेको स्मरण गराउँदै सहकारी संस्थाहरूलाई कानुनको पूर्ण पालना गर्न निर्देशन दिएको छ। साथै, बचत रकम समयमै फिर्ता गर्न र बाँकी ऋण असुलीलाई प्रभावकारी बनाउन थप सक्रिय हुन पनि आग्रह गरिएको छ।
त्यसैगरी, सहकारी संस्थाबाट ऋण लिएका सम्पूर्ण सदस्यलाई सम्झौता तथा सर्तअनुसारको ऋणको साँवा, ब्याज र अन्य दायित्व सम्बन्धित संस्थामा तोकिएको समयमा भुक्तानी गरी जिम्मेवार सदस्यको भूमिका निर्वाह गर्न सहकारी दर्ता अधिकारीको कार्यालयले निर्देशन दिएको छ।
सहकारी संस्था बचतकर्ताको विश्वास र सदस्यहरूको आर्थिक अनुशासनमा आधारित साझा अभियान हो। समयमै ऋण भुक्तानी गर्नु प्रत्येक ऋणी सदस्यको कानुनी दायित्व मात्र होइन, सहकारीको स्थायित्व, बचतकर्ताको हित र समग्र वित्तीय प्रणालीप्रतिको विश्वास जोगाउने महत्वपूर्ण जिम्मेवारी पनि हो।










प्रतिक्रिया