पाँचथर, १२ असोज
प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेपली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्ने बताउनुभएको छ । सरकारका कतिपय कदमले लोकतन्त्रका मूल्य, मान्यतालाई आत्मसात् नगरेको पाइएको उहाँले बताउनुभयो । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत आज पाँचथरको फिदिममा आयोजित कांग्रेस प्रदेशसभा क्षेत्र नं १ र २ को अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस संसदीय दलका नेता आङदेम्बेले प्रहरी पनि कानुनको कार्यान्वयन गर्ने निकायभन्दा आदेशपालक जस्तो भएको टिप्पणी गर्नुभयो । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई मध्यरातमा पक्राउ गर्ने काम लोकतान्त्रिक नभएको बताउँदै नेता आङदेम्बेले राणालाई पक्राउ गर्ने र छोड्ने कुरा केटाकेटी खेलजस्तै भएको टिप्पणी गर्नुभयो । पूर्वप्रधानन्यायाधीश राणालाई राष्ट्रिय मानवअधिकार आयोगको टोलीलाई समेत भेट्न नदिने र नियन्त्रणमा राख्नुको कारण स्पष्ट पार्न उहाँले सरकारसँग माग गर्नुभयो । “हामीले सरकार पाँच वर्ष नै चलोस् भन्ने चाहेका छौँ । लोकतन्त्रप्रति, दलहरूप्रति नागरिकको भरोसा नटुटोस् भन्न चाहेका छौँ”, नेता आङ्देम्बेले भन्नुभयो । नेता आङदेम्बेले कांग्रेसमा १३ हजारभन्दा बढी युवाहरु एकैपटक सामेल भएको बताउँदै जेनजी पुस्ताका युवाहरु वडादेखि केन्द्रसम्म पाँच तहमा नेतृत्व तहमा पुगेर नवीन कांग्रेस निर्माण भएको बताउनुभयो । उहाँले अब कांग्रेसमा प्यानल खडा नहुने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य नरेन्द्रकुमार केरुङले सरकारको कार्यशैलीको आलोचना गर्दै कांग्रेसले संसद् र बाहिरबाट सरकारलाई सकारात्मक सहयोग गर्दै आएको बताउनुभयो । पाँचथरमा जारी कांग्रेसको प्रदेशसभा क्षेत्रीय अधिवेशनबाट ३४ केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित हुने कांग्रेस पाँचथरका सचिव दीपक नेपालले जानकारी दिनुभयो ।









प्रतिक्रिया