समाचार

प्रेसले नै संघीयताको अनुभूति गर्न पाएनः अध्यक्ष आचार्य



बुटवल, ५ चैत । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले मुलुकमा संघीयता आएपनि नेपाली प्रेसले त्यसको अनुभूति गर्न नपाएको बताउनु भएको छ । संविधानमा संघीय लोकतान्त्रिक शासन व्यवस्था लेखिएतापनि त्यो कार्यान्वयनमा नआएको अध्यक्ष आचार्यको भनाई छ ।  

        नेपाल पत्रकार महासंघ प्रदेश ५ समितिले बुधबार बुटवलमा आयोजना गरेको पत्रकारको सुरक्षा र प्रेस स्वतन्त्रता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले संघीयता कार्यान्वयन गराउन सरकारलाई झक्झक्याउनु पर्नेमा जोड दिनुभयो । अध्यक्ष आचार्यले अर्को प्रसंगमा पत्रकारको नाममा नागरिकलाई दुःख दिने जोकोही भएपनि उनीहरुलाई जोगाउने पक्षमा महासंघ नभएको बताउनुभयो । उहाँले राज्यले मिडिया आफै चलाउँछौ भनेर प्रेस स्वतन्त्रातामाथि हस्तक्षेप गरेको आरोप पनि लगाउनु भयो । 

        अध्यक्ष आचार्यले मिडिया पत्रकारमैत्री हुनुपर्छ भन्दै तलव दिन नसक्ने मिडियामा ताला लगाउनेदेखि मिडिया हाउसका सामाग्री विक्री गरेर भएपनि पत्रकारको तलव भुक्तानी गर्ने कुरामा महासंघ आन्दोलन गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।  उहाँले संविधानमा व्यवस्था गरिएका कुरालाई पनि प्रदेश स्तरमा कार्यान्वयन हुन नसकेकाले सञ्चार क्षेत्रमा संघीयता आउन नसकेको बताउनु भयो ।पत्रकारले पाउने प्रेस पास, लोककल्याणकारी बिज्ञापन, पत्रपत्रिकाको वर्गीकरण, दर्ता नविकरण सहित धेरै कुराहरु केन्द्रिकृत अवस्थामै रहेकाले सञ्चार क्षेत्रले संघीयताको अनुभूति गर्न नपाएको अध्यक्ष आचार्यले औंल्याउनु भयो ।

        उहाँले भ्रष्टाचारका समाचार नलेख्ने वातावरण बनाउनकालागि सरकारका तर्फबाट पत्रकारलाई जरिवाना लगाउने कानुन आएको समेत दावी गर्नुभयो । आलोचनात्मक विश्लेषणलाई नेताहरुले पचाउन नसकेकै कारण प्रेस स्वतन्त्रताको नीतिगत र कानुनी रुपमै बन्देज लगाउन खोजीको पनि उहाँले बताउनु भयो ।

        उहाँले प्रतिनीधि सभा र राष्ट्रिय सभाबाट पारित भएको समानुपातिक बिज्ञापन बिधेयक कमिसन नपाईने भएकाले सरकारी निकायका कर्मचारीले कार्यान्वयनमा चलखेल गर्न सक्ने समेत आशंका व्यक्त गर्नुभयो ।अध्यक्ष आचार्यले पत्रकारिताको आवरणमा अपराधिक गतिबिधी गर्नेहरुलाई छानविन गरि कारवाही गर्नुपर्ने बताउँदै त्यस्ता व्यक्तिलाई जिल्ला तहबाटै केन्द्रमा पठाउन आग्रह गर्नुभयो ।

पत्रकारले पुष्टि नभएका विषयलाई सामाजिक सञ्जालमा लेख्न नपाईने बताउँदै उहाँले श्रमजीवि पत्रकारहरुको पारिश्रमिक समयमा उपलब्ध नगराउने सञ्चार माध्यमलाई बन्द गराएर भएपनि त्यसको असुलउपर गराउने चेतावनी दिनुभयो ।नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य वसन्त गिरीले समाचार लेखेकै आधारमा पत्रकारमाथि हुने कुनैपनि प्रकारको धम्की सैह्य नहुने बताउँदै तर पत्रकार आफूपनि इमान्दार भएर पेशाप्रतिको निष्ठा जोगाउन अग्रसर हुनुपर्दछ भन्नुभयो ।

        पत्रकार भन्दैमा गलत समाचारको पक्षपोषण गर्न पत्रकार महासंघ बाध्य नभएको बताउँदै उहाँले पत्रकार पहिला आफूपनि निष्कलंक हुन सक्नु जरुरी रहेकोमा जोड दिनुभयो । पूर्व सांसद तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष बिनोद पहाडीले सरकार मिडियाप्रति अनुदार बन्दै गएको टिप्पणी गर्दै एउटा सूर्ति उद्योग खोल्दा लिने दर्ता शुल्क र मिडिया उद्योग दर्ता गर्दा लिने दर्ता शुल्कमै आकास जमिनको अन्तर रहेको बताउनु भयो । 

        उहाँले राज्यले प्रेसप्रति अझैपनि अनुदार नीति लिएको गुनासो गर्दै एउटा सुर्ती उद्योग दर्ता गर्दा कुल पुँजीको १ प्रतिशत र एउटा टेलिभिजन दर्ता गर्दा १० लाख रुपैंया लिने व्यवस्था रहेको भन्दै वर्तमान सरकार मिडियामैत्री नभएको दावी गर्नुभयो । त्यस्तै महासंघका पूर्व अध्यक्ष हरि लम्सालले सरकारको स्प्रष्ट नीतिको अभावका कारण पत्रकारिता सेल्फसेन्सरशिपमा चलिरहेको उल्लेख गर्नुभयो । त्यस्तै महासंघका पूर्व अध्यक्ष बालकृष्ण चापागाईले पत्रकारिताको आवरणमा गरिने गैरपत्रकारिताका कारण पत्रकारलाई हेर्ने सामाजिक मनोबिज्ञान नै बदलिएको बताउनु भयो ।

        नेपाल पत्रकार महासंघ प्रदेश पाँचका उपाध्यक्ष भरत केसीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी, पूर्व अध्यक्षहरु डिआर घिमिरे, मोहन चापागाई, दिपक ज्ञवाली, शेरबहादुर केसी, कपिलबस्तु महासंघका अध्यक्ष डिलाराम भुसाल, नवलपरासी अध्यक्ष हरि शर्मा, प्रेस युनियन रुपन्देहीकी अध्यक्ष रेखा भुसाल, पत्रकार बिष्णु घिमिरे, माधव न्यौपाने, नरेश केसी, बिपी गौतम लगायतले बोल्दै पछिल्लोसमय पत्रकारिकता क्षेत्रको मर्यादामाथि आँच आउने काम भएको बताउनु भएको थियो । 

प्रकाशित : ५ चैत्र २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६