सम्पादकीय

पन्थीको पन्थ पच्छ्याउँ



        कपिलवस्तु जिल्लाका प्रादेशिक सांसद विष्णु पन्थीले आफ्नो भूमिका जिम्मेवारीपूर्वक निभाएको कुराबाट अरुहरुले पनि सिक्न प¥यो । कहिले प्रदेश सरकारलाई दबाब दिएर कोरोना परीक्षण गराउने ठाउँको व्यवस्थापन गर्नतिर लागेको र कहिले पीपीई अर्थात् अस्पतालमा कार्यरत चिकित्सक र अन्य स्वास्थ्यकर्मीले लगाउने अति सुरक्षित आवरण वितरण गरेको देखिन्छ । पिपरा अस्पताल र ४ नम्बर(जीतपुर)को सामुदायिक अस्पताललाई उनले हस्तान्तरण गरका सुरक्षित सामग्री जहाँबाट झिकाएका हुन्, त्यहाबाट मगाएर अरुहरुले पनि आफ्ना नजिकका अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई दिदा राम्रो होला । अस्पतालका चिकित्सक र सुरक्षार्मी सुरक्षित रहेभने तपाई–हामीलाई बँचाउन सक्लान्, उनीहरु नै असुरक्षित रहेर अरुको सेवा कसरी गर्लान् ? सोचौं । जो जस्ले जहाँबाट जे गर्न सकिन्छ त्यही गर्न प¥यो । लुक्न भएन । कोरोना भाइरसको प्रकोप आइसकेको छैन अझै कपिलवस्तुमा । सहज छ अझै । असहज अवस्था नआउँदै लुक्नेहरु आइसकेपछि बाहिर आउलान् र सघाउलान् भन्न सकिन्न । राजनीति गर्नेले आपत विपतका समयमा सक्रियता देखाउ र आफ्ना जनता(मतदाता)को मनोवल बढाउ ।

        ‘जीउ धन सरकारको, मारे पाप पाले पुण्य’ भन्नुपर्ने अवस्थामा पुगीसकेका छन् धेरै । सवेरै उठेर ज्यालादारीका काम खोज्न निस्कँने र दिनभरी श्रम बेचेर साँझपख बुझेको पारिश्रमिकले दिन कटाएका र छाक टारेकाहरु समस्यामा छन् यतिबेला । कुन बेला निषेधाज्ञा खोलिएला, काममा जान पाइएला र ज्याला बुझेर हातमुख जोड्न मिल्ला भनेर बस्नेको बिजोग छ । हरेक वडाका गाउँ र टोलमा कति छन्, त्यस्ता विपन्न जनताहरु तिनको लागत निकालेर दुईछाक टार्ने खाद्यान्न जुटाइदिनु पर्छ पालिका, प्रदेश र संघीय सरकारले । घरभित्रै बसेमा भोकले र बाहिर निस्केमा रोगले मर्ने अवस्थाको अन्त्य गरिनु पर्छ । अनि गाउँ र सहरका हुने खानेले पनि आफ्ना घरमा जम्मा गरेर राखेको अतिरिक्त खाद्यान्न भए वरिपरिका भोका जनहरुको जीवन धान्न दिदा पुण्य मिल्छ भन्ने कुरा बुझौैं । ब्रत बसेर, पूजा गरेर, धाममा धाएर, भगवानको भक्तिमा भजन गाएर, सप्ताह ज्ञान महायज्ञ लगाएर जुटाएको धनको सदुपयोग गर्ने बेला यही हो । भोकालाई खाना, नांगालाई नाना र रोगीलाइ औषधि उपचार गर्नु पनि भगवानलाई खुशीपार्नु हो भन्ने बुझौं र बुझाउँ ।

        जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मी सवैले आ–आफ्ना जिम्मेवारी पूरा गर्दा आफु सुरक्षित हुने उपाय अपनाउन नविर्सौं । गाउँ, शहर र टोल टोलमा जाँदा अपनाउनु पर्ने सुरक्षाका नियम पालन गरौं । घरमै बसेर, मोवाइलमा फेसबुक चलाएर, अर्ति दिने र मैदानमा खट्नेको हिसाव किताव जनताले पनि राखेका होलान् । जनताका नजरमा प्रिय बन्न चाहनेले जनताकै सेवामा समर्पित भएको देख्न पाइयोस् । सांसद पन्थीका बारेमा जसरी लेखिएको छ आज, भोलि अरु कसैका बारेमा पनि यसरी नै लेख्ने मौका मिलोस् भन्ने चाहना छ हाम्रो । सांसद पन्थीको व्यक्तिगत कामको प्रशंसा हैन यो, उनले निभाएको जनउत्तरदायी भूमिकाको कदर हो भन्ने पनि बुझियोस् । निषेधाज्ञाकै बारेमा पनि भ्रम छ जनतामा । बुझाउने जिम्मा जनप्रतिनिधिको पनि हो । जनप्रतिनिधिले बुझाउने हो भने पुलिसले पक्रन र लाठी हान्नै पर्दैन ।

प्रकाशित : १६ चैत्र २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६