विचार/ब्लग

कोराना एक प्रभाव अनेक: सागर सुके तर स—साना मूल फूट्न थाले



लकडाउनले देश अस्तब्यस्त भई रहेका वेला यतिबेला  ठूला ठूला सागर नै सुकेको आभाष हुदै गएकोछ । पेशा ब्यापार र करोवारका हिसावले  यस्तो प्रभाव देखापरेको छ ।  तर स—साना मूलहरु भने फुटेको महशुस  हुन थालेको छ । यतिबेला सागर महासागरमा कस्तो छाल आएको छ हेर्न कसैले पनि  भ्याएको छैन । अर्थात सागर नजिक गएकै छैन । तर मनभित्रका महासागरमा आएका अनेकन तरंगले तरङीत छ मान्छे यतिबेला । न होस पनि कसरी ? हेरौ केहि प्रतिनिधी घटना । जसले सागर सुकेको तर मुल फुटेको केहि प्रसंग स्मरण गराउने छन् । 

१ किलो आलुको मूल्यमा २ किलो मासु  :

            कपिलवस्तुमा आलुको मुल्य प्रतिकेजि ५० रुपैया छ। कतिपय पसलले ५५ सम्म लिन्छन् । लकडाउनमा आलुको माग उच्चछ । किनभने केहिदिन नकुहिने र  हरेक तरकारीका लागि आलु मिसाउन मिल्ने हुदा यसको माग बढ्दो छ ।तर ठिक यति नै बेला बोइलर कुखुराको माग भन्ने यस्तो न्यूतम विन्दुवाट समेत ओरालो लागेको छ की एककिलो आलुको मूल्यमा २ किलो बोइलर दिदा पनि किन्ने कोही छैन । 

            जिउदो कुखुरालाई प्रतिकिलो २५ रुपैया पाए पनि दिन आफू तयार रहेको तर किन्न कोहीपनि तयार नभएको बुद्धभूमी ४ का कुखुरा पालक राम नरेश चौधरीले टेलिफोन मार्फत  वताउनु भयो । यस्तै हालत अरु पालिकाहरुमा पनि छ कपिलवस्तुको पकडी गाउपालिकाका कुखुरा पालक  दिनेश कोहारले रु २५ मा बेचेर भएपनि जिउदै गाड्ने स्थिती नआए हुन्थ्यो भन्दै बेच्न खोजेको वताउनु भयो । ११ दिनमा कोहीपनि एककिलो किन्न पनि नआएको उहाको भनाइछ  । यो क्षेत्रमा ब्यक्ति बिशेषको ठूलो लगानी छ । वित्तिय सस्थाले पनि लगानी गरेकाछन् । कतिपयले स्थानीय र प्रदेश सरकारवाट अनुदान समेत लिएर फस्टाएका थिए । स्वरोजगार थिए । तर ती फूटपाथमा आउने निश्चित छ । 

             कुखुराको मासु खाँखा  कोरोना सर्छ भन्ने हल्ला चलाउदा यस्तो अवस्था आएको हो । कपिलवस्तु अस्पत्तालका  प्रमुख किशोर बन्जाडेले खशी कुखुरा माछा आदीका मासु राम्रो संग पकाएर खाने भन्ने सन्देश राष्ट्रभर प्रवाह भएपनि धेरैले मासु नै खान हुन्न भन्ने गलत सन्देश फैलाउदा यस्तो अवस्था श्रृजना भएको वताउनु हुन्छ ।  

दुध बिक्न छाड्यो, खेतमा वगाउने स्थिती :

            यतिबेला मान्छे यति त्रस्त छ की दुधवाट कोरोना सर्छ भन्ने अफवाहका पछि लागेको छ ।  कोरोना दुधवाट सर्ने कुनैपनि संकेत वा प्रमाण छैन  । तर धेरैले दुधको नियमित उपयोग घटाएका छन् ।एकातिर ब्यक्तिले दुधको उपभोग घटाएकाछन्  अर्काेतिर मिठाई पसलहरु प्राय बन्द भएका छन् । किसानले उत्पादन गरेको दुध संकलन केन्द्रमा आउछ । कतिपय संकलन केन्द्रले खरिद परिमाण घटाएका छन् भने कतिपयले किन्ने र दुध बोक्ने गाडीवाट वाहिर पठाउने गरेका छन् । तर ठूला शहरमा पुराउदा समेत विक्री नभएर फिर्ता ल्याएर कपिलवस्तुको गजेहडा स्थित ट्बीन्स डेरीले खेतमा वगाएको भिडियो टेलिभिजन सहित आम संचार माध्यमवाट प्रशारीत भयो । यतिबेला दुग्ध उत्पादक किसान र डेरी उद्योग पनि थला परेका छन् । 

तरकारी खेतवारीमै कुहिदै :

        मुलुकभर लक डाउन छ उत्पादक किसानको आफ्नो ढुवानी साधन छैन । भाडामा गाडी लिएर ढुवानी गरेर थोकमा बेच्ने बिचौलियाहरु एकातिर चालकहरुले गाडी चलाउन नमान्ने अर्काे वजारमा विक्रीको सुनिश्चितता नभएकाले किसानका  खेतवारीमा पुग्ने स्थितीमा छैनन् । किसानले आफ्नै तरकारी हेर्दा हेर्दै कुहिएको अवस्था आएको छ । यति तरकारी बेचेर यस्तो गरौला भन्ने उनका सपना विस्तारै मधुर क्षितिजमा डुब्ने स्थितीमा पुगेकाछन् ।

            तर ठिक यति नै बेला आफ्ना साधनवाट ढुवानी गरेर बेच्ने वितरकहरु भारतीय तरकारीलाई विभिन्न वजारहरुमा पुराउने संजाल सुदृढ गर्न खोजेका छन् । उनीहरुको वजार विस्तारसंगै स्वदेशी तरकारी उत्पादक किसानले वजारमा पहुच गुमाउने खतरा पैदा भएको छ । यस्तो बेलामा स्थानीय सरकारले ध्यान दिन सकेका छैनन् । आफ्ना किसानहरु थला परे ,के गरेर उद्धार गरौ ?  भनेर  सोचेको पाइदैन ।   रुपन्देहीको तिलोत्तमा नगरले भने भारतीय तरकारी आयातमा प्रतिबन्द लगाएको समाचार आएको छ । प्रतिवबन्द संगै किसानले उत्पादन गरेको  तरकारी वजारमा आउने प्रबन्ध मिलायो भने तिलोत्तमा यतिबेलाको गेम चन्जर बन्न सक्छ । उसवाट अरुले पनि शिक्षा लिने की? 

मृतकले मलामी नपाउने स्थिती :

        कोरोनाको कहर यति सम्म भयो की गाउमा कोही मरयो भने मलामी जाने स्थिती छैन । कोरोना अस्पत्ताल बुटवलमा निमोनियाले मरेका वावुराम थापाको शव ६ दिन देखि अस्पत्तालमै छ ।  कपिलवस्तुको वाणगंगा ८ मा एक हप्ताम ३ जनाले आत्महत्या गरेको वडाध्यक्ष गुणानिधी भुसालको भनाइछ । विगतमा कोहि मर्दा सिंगो गाउ मलामी जान्थ्यो । अहिले स्थिती यस्तो छ की ४÷६ जना मलामी को को जाने भनेर सल्लाह गरेर जानै पर्ने भएका मात्र जाने स्थिती आएको छ । कतिपयमा त परिवारका मान्छे र एकाध जनप्रतिनिधी मात्र मलामी जाने अवस्था रहेको वताइएको छ । 

दिर्घरोगीलाई समस्या :

        दम ,प्रेसर,सुगर,थाइराइडका दिर्घ रोगी नियमित फलोअपमा जाने स्थिती छैन । नजिकका स्वास्थ्य क्लिनक प्राय बन्द छन् । चाहिएको औषधी नपाउने स्थिती छ । कुनै नयाँ समस्या आए गएर जचाउने अवस्था छैन । यसले उनीहरुमा मानसिक तनाव पैदा गरेको छ । माथि उल्लेखित अवस्थाले  कोरोनाको प्रभावले थला परेका र भविश्यमा ठूलो चुनौती सामना गर्नु पर्ने क्षेत्रको प्रतिनिधीत्व गरेको छ । यस्तो बेलामा केहि मूलहरु फूटेका छन् । अर्थात हिजो सुस्त र सुसुप्त रहेका ब्यापार फस्टाएका छन् । जस्तो 

खाद्य उद्योगलाई माग थेग्नै मुस्किल :

        यतिबेला खाद्य उद्योगहरुमा विक्रीका हिसावले अप्रत्यासित कारोवार भएको छ । उदाहरणका लागी कपिलवस्तुमा खाद्य उद्योगहरुम जे जति चामल छ त्यो वक्री हुने क्रम यति तीव्रछ की रोल्पा ,रुकुम ,प्यूठान ,अर्घाखाची गुल्मीका ब्यापारीहरुले निकै ठूलो परिमाणमा खरिद आदेश दिने गरेका छन् । बाणगंगा नगरमा  कपिलवस्तुकै ठूला खाद्य उद्योगहरु छन् । उनीहरुले स्टक राखेको चामल धेरै बेचि सके । धान कुटाएर अर्डर अनुसार दिन भ्याई न भ्याई छ । कपिलवस्तु उद्योग वाणीज्य संघका अध्यक्ष उमानाथ पौडेलका अनुसार स्कटमा रहेको आधा हिस्सा पहाडी जिल्लाका लागि बेचेपनि वाकी चामल तत्काल नबेच्न र कपिलवस्तुमा चामल अभाव नहोस भन्नेमा सबै उद्योगीलाई फोन गरेर भनेको वताउनु हुन्छ । चामल विक्री नभएर छटपटाउने ब्यापारीहरु  यतिबेला माग थेग्नै नसक्ने अर्डर आउदा आफै अचम्मीत वनेका छन् । 

किराना पसललाई भ्याई नभ्याई :

        किराना पसलमा रसी टाँगेर खरिदको सिमा रेखा वनाइएको छ । पसलमा सामान किन्न आउनेको संख्या देखेर र माग देखेर किराना पसल संचालकहरु नै अत्तालिने स्थिती छ । यतिबेला मानिसहरु एकैपटक धेरै चिज किन्ने र राख्ने अभियानमा लाग्दा यस्तो भएको हो  कपिलवस्तु जीतपुरका किराना पसल संचालक प्रमोद घिमिरेका अनुसार जे चिज आयो तुरुन्तै विक्री हुन्छ । गा्रहकले भने जति पुराउन मुस्किल परेको छ । 

सेनिटाइजर र मास्क उत्पादक मालामाल :

        कपडा सिलाउने ससाना पसल देखि गार्मेन्ट उद्योग सबैको ध्यान यतिबेला मास्क उत्पादनमा केन्द्रित  छ । अरु नै पेशा गरेकाहरुले समेत समयको माग बुझेर यतिबेला मास्क उत्पादन थालेका छन् । जति मास्क उत्पादन गरेपनि विक्री हुने स्थिती छ । सेनिटाइजरको त के कुरा जति उत्पादन गरेर वजारमा पठाएपनि अभावै अभाव । कपिलवस्तुमा ब्यावसायीक सेनिटाइजर उत्पादन गरेको विवरण छैन तर मास्क उत्पादनमा यतिबेला करिव २ दर्जन उत्पादकहरु जुर्मुराएर लागेका छन् । शिवराज नगरपालिकाका युवा उद्यमी संजिव गहतराजले मास्कको ब्यापार राम्रो संग गरेको अनुभव सुनाउनु हुन्छ  । यतिबेला मास्क उत्पादन ब्यापार मात्र होइन सेवा पनि बनेको छ । 

गुगल कक्षा प्रभावकारी :

        घरमै बसेका विद्यार्थीकालागि लक्षित गरेर गुगलले ई कक्षा चलाइकोछ । १३ वर्ष उमेर भित्रका वालवालिकाकालागि शिक्षा उपयोगी गुगल कक्षा चलाएको छ । निुशल्क भर्ना गर्न पाइने कक्षामा यतिबेला धेरै विद्यार्थी भर्ना भएर फाइदा लिएका छन् । उनीहरु लक डाउनम गुगल कक्षा पढेर थोरै फ्रेस हुन पाएकाछन् । 

जुर्मुराउदै ई —बैकिङ :

        रुपैया पैसा छोए कोरोना सर्छ भन्ने तथ्य चिनिया संचार माध्यमले प्रवाह  गरेसंगै यतिबेला बैकहरु बन्द छन् । बैकले यतिबेला ई —बैकिङ सेवा फष्टाउने मौका पाएका छन् ।  ई —बैकिङ सेवा लिन घर परिवारमा पाको उमेरका अभिभावकलाई आफ्ना सन्तानले समेत सिकाउने मौका पाएका छन् । पैसाको मुख देख्न नपाएपनि ई —बैकिङवाट पैसाले गर्ने कारोवार भएपछि थोरै भएपनि राहत महशुस उपभोक्ताले गरेका छन् । 

जनप्रतिनिधीलाई चुनाव जस्तो :

        जनप्रतिनिधी अर्थात जनताका सेवक । वास्तवमै यतिबेला डाक्टर वा चिकित्सक डराएपनि ,एम्वुलेन्स चालक अत्तालिएपनि ,जनप्रतिनिधी अत्तालिएका छैनन। प्रहरी पत्रकार र जनप्रतिनिधी बीच निरन्तर सम्पर्क समन्वय गरेर जनताको हरेक सुख दुखमा साथ दिन उनीहरु तल्लीन छन् । जस्तो चुनाव आउदा कसलाई के दिने ? कसको हित कसरी सुनिश्चित गर्ने ? कसरी राम्रो छाप छाड्ने भन्ने हुन्छ अहिले त्यस्तै छ । कपिलवस्तुमा अहिले सम्म जन प्रतिनिधीको कडा आलोचना हुने घटना भएको छैन । 

नयाँ ग्यासले डिलर स्थापना :

            यतिबेला नयाँ ग्यास उद्योगले वजार विस्तार गर्ने राम्रो मौका पाएका छन् । विगतमा नामै नसुनिएका राम जानकी,मनकामना ,लाली गुरास , मकालु मौलाकालिका आदी नाममा ग्यास सिलिण्डरका धेरै डिलरहरु खुलेका छन् । ग्यास विक्रेता ब्यवासायी संघ प्रदेश ५ का अध्यक्ष राम प्रसाद गैरेका अनुसार करिव १० वटा नयाँ उद्योगका सिलिण्डर यतिबेला प्रदेश ५ र तराईका कपिलवस्तु सहितका जिल्लामा  डिलर सहित  भित्रिएका छन् । 

प्रकाशित : २२ चैत्र २०७६, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : presspationline@gmail.com

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६