काठमाण्डौ ३ बैशाख । उपत्यकामा कोभिड–१९ सङ्क्रमण देखिन थालेपछि नमुना परीक्षण गराउने बढेका छन् । उपत्यकामा मङ्गलबार दुई जनामा सङ्क्रमण देखिएपछि विदेशबाट आएका मानिसहरु आफैँ अस्पतालमा पुगी नमुना परीक्षण गराउन थालेका छन् । उपत्यकामा अहिलेसम्म पाँच जनामा सङ्क्रमण देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागर राजभण्डारीले उपत्यकामा मङ्गलबार एकै पटक दुई जनामा सङ्क्रमण देखिएपछि अस्पतालमा आएर परीक्षण गराउनेको सङ्ख्या बढेको बताउनुभयो । उहाँका अनुसार पहिले दैनिक १०(१५ जनाको परीक्षण गर्ने टेकु अस्पतालमा अहिले ३० जना आउने गरेका छन् । घरबेटी र समुदायले नै विदेशबाट आएका मानिसलाई सङ्क्रमण भए नभएको रिपोर्ट ल्याउन भनेपछि ती मानिसहरु अहिले टेकुस्थित अस्पतालमा आफैँ गएर परीक्षण गराइरहेका छन् । ‘उपत्यकामा सङ्क्रमित बढेसँगै त्रास भएको छ । अहिले दैनिक ३० जना आफैँ स्पतालमा आएर नमुना परीक्षण गराइरहेका छन्’ उहाँले भन्नुभयो, ‘विगत एक–डेढ महिनादेखि विदेशबाट आएका धेरै छन् । घरबेटी र समुदायले नै आफूलाई बस्न दिएन भन्दै धेरै मानिस आउन थालेका छन् ।’
३ बैशाख २०७७, बुधबार
प्रतिक्रिया