अर्थ-वाणिज्य

नगरपालिकाको निर्णयपछि आकाशियो भाउ, व्यापारी मालामालः बेकारको निर्णय प्रदेश सांसद पन्थी



कपिलवस्तु, १० बैशाख ।  कपिलवस्तुको  बाणगंगामा हरियो तरकारीको भाउ आकासिएको छ । बाणगंगा नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि भन्दै स्थानीय उत्पादन बाहेक अन्य क्षेत्रमा भएको उत्पादनमा प्रतिबन्ध लगाएपछि तरकारीको भाउ आकाशिएको हो । नगरको निर्णयसँगै बाणगंगामा उत्पादन भएको हरियो तरकारी भाउ ह्वात्तै बढेको छ । बाणगंगमा माग अनुसारको तरकारी उत्पादन नहुँदा र बाहिरबाट तरकारी आउन नपाउँदा मूल्य बढेको तरकारी व्यापारीहरु बताउँछन् ।

            आफ्नो नाम नबताउने सर्तमा एक जना तरकारी व्यापारीले भने हामीलाई अहिले मालामाल छ । बाणगंगा नगरपालिकाले नै हामीलाई मालमाल गरिदिएको हो । ती व्यापारीले स्पष्ट पार्दै भने बाणगंगामा तरकारीको माग उच्च यहाँ बाहिरका व्यापारी आएर तरकारी बेच्न पाउँदैनन । हामीले कपिलवस्तु नगरपालिकाका जहदी, पचेहरालागयतका क्षेत्रमा गएर तरकारी ल्याएर बेच्छौं, हामीले ल्याएपछि त्यो तरकारी यही बाणगंगाको हुन्छ किलोमा ६०–७० रुपैयाँसम्म नाफा हुन्छ । उनले आलु प्याज बाणगंगामा प्रशस्त नभएकाले आफूहरुले कपिलवस्तु नगरपालिकाकाबाट ल्याएर बेच्ने गरेको बताए ।

                बाणगंगा नगरपालिकाले तरकारी प्रतिबन्ध लगाउने सम्बन्धमा गरेको निर्णयबारे फेसबुकमा कमेन्ट गर्दै ५ नं. प्रदेश सांसद विष्णु पन्थी लेख्नुहुन्छ –‘बेकारको निर्णय, नेपाली उत्पादन जहाँको भएपनि हाम्रो हो । यसरी संकुचित भएर गरेको निर्णय देखेर दुनिया हाँस्छ्न । भारतीय तरकारीले मुलुक लपेटेको अबस्थामा आफ्नो नगरको मात्रै भन्ने सिद्धान्त भोलि वडा मात्रै भन्ने होला ! फेरि अर्कोतिर बाणगंगामा धेरै भएको उत्पादन कहाँ लाने ? अहिले चामल ,दूध र अरु बाहिर कति जान्छ ? कि अब सबै नगरपालिकाले किनिदिन्छ ? बाणगंगाले अरुको न किने पछि उसको अरुले किनिदिनु पर्छ र ? गुपचुप त हुँदैन होला थाहा पाएपछि के भन्छन् ? हामीले हाम्रो निर्णयमा लाज मान्नुपर्ने हुन्छ ।

                प्रदेश सांसद विष्णु पन्थीलाई प्रतिक्रिया दिँदै बाणगंगा नगरपालिकाका उपमेयर चक्र अर्याल लेख्नुुहुन्छ– भारतिय तरकारी रोक्ने र लकडाउन लाई कडा बनाउने वाणगङ्गा नगरको निर्णय माननिय ज्यु लाई बेकार लागेछ त ! अर्यालको प्रतिउत्तरमा प्रदेश सांसद पन्थी लेख्नु हुन्छ –‘ बाणगंगा भन्दा अरुको आउन नपाउने भन्ने निर्णय भएको हो भने त्यो बेकार नै हो, कपिलवस्तुका अन्य पालिका, प्रदेशका र मुलुकका जुनसुकै ठाउँको जुनसुकै ठाउमा पनि बिक्री वितरण गर्ने कुरालाई कसैले अबरोध गर्न सक्तैन । ग¥यो भने त्यो गैह्र कानुनी हुन्छ । यस्तो परिस्थितिमा समेत भारतको त अन्तर्र्रािष्ट्रय कानुनले गर्दा रोक्न सकेका छैनौ अरु कुरा के गर्ने ।

            कोरोना भाइरस संक्रमणको जोखिमसँगै जारी लकडाउन अवधिभर नगरपालिका बाहिरको  तरकारी आयतमा रोक लगाउने निर्णय भएको हो । लकडाउनको अवधीभर नगरभित्रै उत्पादित तरकारीलाई विशेष प्राथमिकता दिईने बाणगंगा नगरप्रमुख मंगल प्रसाद थारुले बताउनुभयो । थारुले आफूहरुले गरेको अनुगमनले बाणगंगामा तरकारीको समस्या नभएको प्रतिक्रिया दिनुभयो । 

            अहिले बजारमा करेला १ सय ६० रुपैयाँ प्रतिकिलो छ,  भिन्डी १ सय २०, परवर १ सय, प्याज ६० आलु ५० रुपियाँ प्रतिकिलो छ । कोराना भाइरस पूर्व बाणगंगाका बजारमा तरकारी प्रयाप्त मात्रामा पाइन्थ्यो हाटबजार लाग्ने हुँदा पनि तरकारीको समस्या थिएन अहिले नगरपालिकाले एउटै जिल्लाका नगरपालिकामा समेत तरकारी बेच्न नपाइने निर्णय गरेसँगै तरकारीको भाउ बढेको बाणगंगा–११ की कौशिला शर्मा बताउनुहुन्छ । 

        बाणगंगा नगरले स्थानीय उत्पादन बाहेक अन्य उत्पादनमा प्रतिबन्ध लगाउनु भन्दा बाहिरी उत्पादनहरु बिक्री वितरणका लागि निश्चित ठाउँ तोकेर तरकारीलाई व्यवस्थापन गरेर बिक्री वितरण गरिनु पर्दछ । अहिलेको अवस्थामा कपिलवस्तु जिल्लाभित्र पर्याप्त तरकारी भएकोले त्यसको व्यवस्थापन गरी जिल्लाभित्र तरकारी विक्री वितरणको व्यवस्था मिलाउँदै स्थानीय तहहरुसँग समन्वय गरी सहज व्यवस्थापन गर्नु अहिलेको आवश्यकता हो ।

प्रकाशित : १० बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६