काठमाण्डौ ११ बैशाख । साउदीमा समस्या पर्ने नेपाली श्रमिकले आफ्नो यथार्थ विवरण र समस्या टिपाउन साउदीमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ । श्रमिकले आफ्नो गुनासो टिपाउँदा यथार्थ विवरण टिपाउन हिच्किचाउने प्रवृत्तिले वास्तविक समस्या थाहा पाउन समस्या भएको भन्दै दूतावासले आफूलाई परेको समस्या सही र खुलस्त रुपमा टिपाउन अनुरोध गरको हो ।आफ्नो समस्यासहित दूतावासमा गुनासो गर्ने धेरैको समस्या समाधान भएको दूतावासले उल्लेख गरेको छ । एक जनाले दूतावासमा फोन गर्दा आफ्नो र आफू कार्यरत कम्पनीमा कार्यरत साथीहरुलाई परेको समस्याको विवरणसमेत यकिन रुपमा टिपाउन सकिन्छ ।
दूतावासका अनुसार लामो समयदेखि दूतावासको सेल्टरमा समस्यामा परेका ८ जना महिला र एक जना पुरुष रहेका छन् । समस्यामा परेका उनीहरुलाई दूतावासले व्यवस्थापन गरेर राखेको छ ।सेल्टरमा रहेको एक पुरुष ह्वीलचेयरमा बस्नुपर्ने अवस्था रहेको पनि दूतावासले उल्लेख गरेको छ । रोगव्याधीको समयमा सेल्टरमा सङ्क्रमणको जोखिम भएकोप्रति दूतावास संवेदनशील रहेको भन्दै साउदीमा समस्या पर्ने हरेक नेपालीको समस्या समाधानमा कुनै कसर बाँकी नराखेको दूतावासको भनाई छ ।संकटको अवस्थामा जोखिमबाट बच्न सबै मिलेर अघि बढ्न पनि दूतावासले अनुरोध गरेको छ । आफू बसिरहेको आवास नछोड्न र सङ्क्रमणको जोखिमबाट बच्न पनि दूतावासले अनुरोध गरेको छ ।
उज्यालो अनलाईन
प्रतिक्रिया