अर्थ-वाणिज्य

बालगृहको राशनमा अनियमितता, १० लाखको अक्षयकोष बेपत्ता



कपिलवस्तु , ११ वैशाख । सार्वजनिक रुपमा श्रोत साधनको अभाव देखाउदै आएको कपिलवस्तु बाल गृह भित्र अनियमितताले जडा गाडेको भेटिएको छ । बालगृह प्रशासन तथा संचालकहरुले असहाय बालबालिकाको नाममा संकलन गरिएका श्रोत साधनको चरम दुरुपयोग गरेका हुन् । अभिभावक नभएका, असहाय, टुहुरा बालबालिकाको नाम उठाइएका श्रोत साधनलाई आफुखुशी र व्यक्तिगत लाभ हुने गरि खर्च गरेको दाताहरुकै आरोप छ । बुधबार प्रेसपाटीले बालगृहमा अनियमितताको आशंका बारे समाचार प्रकाशन गरेपछि बालगृहले राशन खरिद गरेको र खुवाएको दररेट सार्वजनिक गर्यो । जसबाट उक्त आरोप सहि भएको र अनियमितता भएको पुष्टि भएको छ । बालगृहले ८ सय पर्ने खसीको मासु १ हजारमा किनेको छ भने सरकारले तोकेको २० रुपैया किलोको नुन २५ र ७० रुपैया लिटर दुध ७५ मा किनेको छ । बालमन्दिरले सार्वजनिक गरेको दररेट बजार दररेट भन्दा निकै महंगो छ । सोहि आधारमा साउन देखि चैत मसान्त सम्मको २९ जना बालबालिका सहित ४ कर्मचारी गरि ३३ जनाको राशन खर्च देखाइएको छ । बर्षभरीमा ६८ क्वीन्टल चामलमा ३ लाख ४२ हजार खर्च देखाइएको छ तर चालु आबमै बालगृहले बाणगंगा नगरपालिका क्षेत्रबाट मात्रै ६० क्वीन्टल चामल सहयोग प्राप्त भएको छ । तर त्रैमासिक खर्च विवरणमा चामल किनेको देखाइएको छ । 

            बाल गृहले ९ महिनामा राशनमा मात्रै १३ लाख ४२ हजार खर्च देखाएको छ । सरकारले सार्वजनिक संस्थानले १० लाख माथिको सामाग्री खरिद गर्दा अनिवार्य रुपमा सार्वजनिक सुचना जारी गरि दरभाउपत्र आह्वाहन गर्नुपर्दछ । तर २०६४ साल यता बालगृहले सार्वजनिक खरिद ऐन लत्याउदै आफुखुशी खाद्यान्न सामाग्री किन्दै आएको छ । त्यो पनि बजार मुल्य भन्दा निकै महंगो । बालबालिकालाई झै अस्पताल, डिभिजन बन, प्रहरीले पनि राशनको ठेक्का दिने गर्दछन् । जसमा सबै स्केल तोकिएको हुन्छ । जुन प्राय बजारको दरभाउ भन्दा कम हुने गर्दछ । तर यहाँ बालमन्दिर संचालक र व्यवस्थापकले नै कालोबजारी गरेझै चर्को मुल्यमा सामाग्री खरिद गरेका छन् । बालमन्दिरले सार्वजनिक गरेको खर्च आफैमा विवादित र शंकास्पद रहेको समितिकै सदस्य गोपीकृष्ण शर्माको आरोप छ । साउन देखि २९ जना बालबालिकाको खर्च देखाइएको छ जुन गलग हो असोज सम्म १९ जना र कार्तिक बाट १० जना थपिएको हुदा त्यहि अनुसारको खर्च सार्वजनिक गर्नुपर्ने उहाको भनाई छ । 

बाल गृहले राशन खरिद गरेको दररेट र बजारको मुल्य

        बालगृह संचालक समितिले राशनमा मात्रै होइन राहतमा पनि मनपरि खर्च गरेको छ । लुम्बिनी स्थित होटल कासाईले बालगृह संचालन गर्नका लागि २०७३ साल असार १५ गते बालगृहलाई १० लाख रुपैया सहयोग गरेको थियो । उक्त रकम बालगृहको नाममा अक्षयकोष खडा गर्ने र त्यसबाट बार्षिक रुपमा आउने रकमबाट गृह संचालन गर्न तत्कालिन प्रमुख जिल्ला अधिकारी इन्दु घिमिरे तथा कासाई होटलका प्रबन्धक विनेश मानन्धरले आग्रह गर्नुभएको थियो । त्यतिबेला सोहि अनुसार गर्ने भनेका संचालकहरुले पछि उक्त रकम बालगृह संचालमा लागेको ऋण तथा कर्मचारी तलबमा खर्च गरेको संमिति सदस्यहरुले जानकारी दिएका छन् । बालगृह संचालक समिति सदस्य राजेश ज्ञवालीले त्यतिबेला आफ्नो पहलमा कासाई होटलबाट राहत मिलाएको तर उक्त रकम अक्षयकोषमा जम्मा नभएका बताउनुभयो । “बाल गृहले उक्त रकम के मा खर्च गर्यो मलाई थाहा भएन” उहाले भन्नुभयो । कपिलवस्तु बालगृह प्रमुख रामप्रसाद अर्यालले पनि बाल गृहको नाममा ३ लाखको अक्षयकोष कृषि विकास बैंकम भएको र अरु कुनै अक्षयकोष नभएको बताउनुभयो । त्यतिबेला उक्त रकम कर्मचारी तलब र खाद्यान्नको ऋणमा खर्च गरिएको उहाले बताउनुभयो । 

बालगृह संचालनलाई आयश्रोत होस भन्ने उद्धेश्यले जिल्ला प्रशासनले २०६० देखि नागरिकता फारम र प्रतिलिपी फारम विक्री गर्न बालगृहलाई अनुमति दिएको थियो । सोहि अनुसार १० रुपैयाको फारम ४० मा विक्री गरिन्छ भने प्रतिलिपीको लागत २ रुपैया र त्यसको पनि ४० मुल्य छ । फारम विक्रीको रकममा पनि अनियमितता हुने गरेको बालमन्दिर श्रोतकै दाबी छ । बालगृह प्रशासन र संचालकले निकै चलाखी ढंगबाट नागरिकता फारम विक्रीको रकम कुम्ल्याउने गरेका छन् । श्रोतका अनुसार नागरिकता फारम विक्रीको रसिद दिनुपर्ने हुन्छ तर विक्री कर्मचारीले टाठाबाठालाई रसिद दिने र अरुलाई दिदैनन् । रसिद नकाटेका फारम विक्रीको रकम सिधै व्यक्तिको गोजीमा जान्छ । जसबाट व्यवस्थापनले संचालकहरुलाई मिलाउछन । उत्त कार्य सुरक्षित र व्यवस्थि तगर्नका लागि बालगृह संचालकहरुले आफ्ना विश्वासिला कर्मचारी सुरेश शर्मालाई राखेका छन् । शर्माको २०७१ सालमा उमेर हदले अनिवार्य अवकाश भएपनि पुनः विना प्रक्रिया करारमा नियुक्त गरि नागरिकता फारम विक्रीमा राखिएको छ । फारम बढि छाप्ने र विक्री कम हुने अर्को प्रमाण छपाई खर्च र नागरिकता आम्दानी बाट पनि प्रष्ट हुन्छ । फारम छपाईमा २ लाख ७५ हजार खर्च गरिएको छ भने ९ महिनामा जम्मा ५ लाख ५० हजारको फारम विक्री गरिएको छ । उक्त रकमबाट ३० हजार बढि फारम छपाई गर्न सकिने बाबा छापाखानाले जानकारी दिएको छ । 

बालगृह आफैमा सबैले सोचे जस्तो विपन्न पनि नरहेको कपिलवस्तुबासीहरु बताउछन् । सदरमुकामको मुटु प्रशासन चोकमै संस्थाको ३३ वटा व्यवसायिक सटर छ । जुन निर्माण गर्दा व्यापारीबाटै प्रति सटर ४ लाख डिपोडिट रकम लिएर गरिएको थियो भने त्यसमा ३ लाख मात्र मान्य हुने र १ लाख बालमन्दिरलाई सहयोग हो । बालगृहका २१ वटा सटर संचालनमा छन् । एउटा सटरबाट मासिक ३ हजार ४ सय भाडा उठ्छ । नागरिकता फारम बाट आधिकारिक रुपमा बार्षिक १० लाख जति रकम उठ्छ । नियमित आम्दानी बाहेक बर्षेनी जिल्लाका स्थानीय सरकारले सहयोग गर्ने गरेका छन् । विभिन्न दातृ संस्था र व्यक्तिगत रुपमा दाताहरुले सहयोग गर्दछन् । बालगृहमा आउने सबै श्रोतलाई पारर्दशी र व्यवस्थित गरिए बालगृह संचालनलाई कुनै समस्या नपर्ने समिति सदस्य राजेश ज्ञवालीको भनाई छ ।

प्रकाशित : ११ बैशाख २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६