ब्रेकिंग न्युज

प्रतिस्पर्धी खेलाडीले फिल्ड छाडेका मौकामा चौतर्फी गोलहान्न सफल जोखिमका राजनैतिक खेलाडी



कपिलवस्तु १३ बैशाख  गोल हान्ने भनेकै सफलता हात पार्ने हो । खासगरि फुटवलमा गोल हान्नु् सबैभन्दा महत्वपूर्ण काम हो । किनकी गोल किपरलाई छलेर पतिस्पर्धी खेलाडीलाई छक्काएर मात्र गोल हान्न सकिन्छ । यो सामान्य अवस्थाको खेलको चर्चा हो । तर कहिले काही असामान्य अवस्थामा हुने खेलमा यस्तो मौका हुन्छ जुन मौकामा प्रतिस्पर्धी खेमा तर्फ गोल हान्दा न त्यहा खेलाडीको प्रतिस्पर्धा हुन्छ  न विपक्षी तर्फ गोल किपर नै हुन्छन् ।

         त्यस्तो मौका एक सफल खेलाडीले त्यतिबेला मात्र पाउन सक्छ जतिवेला उसले जोखिम वहन गर्न तयार हुन्छ । राजनीति पनि यस्तै एक खेल हो जहाँ जनता छटपटाएका बेलामा पुगेर उनीहरुका समस्या समाधान गर्ने हो भने चुनावका बेला आश्वासनको पोको र धनको विटो जरुरी पर्दैन ।  अहिले ठिक यस्तै अवसर जुराएर गोल हान्नमा ब्यस्त हुनुहुन्छ प्रदेश सांसद विष्णु पन्थी । उहा लकडाउनको सन्नाटा बीच खुला मैदानमा खेलाडीका रुपमा उत्रिएर चारै तर्फ गोल हान्नमा तल्लीन हुनुहुन्छ । हेरौ गोलका केहि रोचक प्रसंगहरु :

पहिलो गोल : प्रादेशिक कारोना परिक्षण केन्द्र

काठमाण्डौ भन्दा वाहिर प्रदेश १ ले कारोना परिक्षण केन्द्र स्थापना गरयो प्रदेश ५ले किन गर्न सकेन? करिव ७५ लाखमा स्थापना हुने परिक्षण केन्द्र किन प्रदेशका २ ÷३ ठाउमा स्थापना किन नगर्ने भन्दै रकम नभएको भए आफू चन्दा उठाएर स्थापना गर्न तयार रहेको भनेर पन्थीले स्टाटस लेख्नु भयो । त्यो कुरा मिडियाको चासोमा परयो । सोही दिन प्रदेश ५का सामाजिक विकास मन्त्री सुदर्शन वरालले पत्रकार सम्मेलन नै गरेर तुरुन्तै स्थापना गर्न प्रदेश सरकार लागि परेको जानकारी गराउनु भयो । यहा सांसद पन्थीले नै स्थापना गराएको मान्न नसकिएला तर छिटो स्थापना गर्नमा यसले अवश्य दवाव श्रृजना भएको भन्न सकिछ ।यो कोरोना विपदको पहिलो गोल थियो ।  

दोश्रो गोल : पिपिई ,मास्क र सेनेटारजर 


कोराना त्रासका कारण स्वास्थ्यकर्मी जस्तो सुकै विरामी आउदा पनि त्रसिने अवस्था थियो । कपिलवस्तुका स्वास्थ्य सस्थामा मास्क सेनेटाइजर र पिपिईको चरम अभाव थियो । यसैबीच पिपरा अस्पत्ताल, कपिलवस्तु, सामुदायिक अस्पत्ताल, बाणगंगा बुद्ध भूमी र शिवराजका स्वास्थ्य सस्थाहरु र कपिलवस्तु नगरपालिकाका स्वास्थ्य सस्थाहरुमा पिपिई मास्क र सेनेटाइजर वोकेर सांसद पन्थी पुग्नु भयो । यसले स्वास्थ्यकर्मीहरुमा काम गर्ने वातावरण बन्यो । त्यसैगरि कपिलवस्तुका सबै संचारगृह र पत्रकार महासंघ मार्फत पत्रकारलाई मास्क सेनेटाइजर र प्रहरीलाई मास्क ,सेनेटाइजर र  पञ्जा आदी वितरण गरेर विपत्तिका बेला अर्काे गोल हान्न पन्थी सफल हुनु भयो । 

तेश्रो गोल : वाटोमा अलपत्र यात्रु  

वाटोमा अलपत्र परेका यात्रुलाई विभिन्न स्थानमा पठाउन प्रदेश ५का मुख्यमन्त्री शंकर पोख्रेलले सबै स्थानीय सरकारलाई आग्रह गरेपछि स्थानीय सरकारहरु नै यो कार्यमा केहि पालिका वाहेक अरु तुरुन्तै  सरिक हुन सकेनन् । यस्तो बेलामा कसलाई कहाँजानु छ समस्या परेर अलपत्र परेको भए जानकारी पाउ भन्दै  सांसद पन्थीले फेसबुकमा राखेका आधारमा उहाकै संपर्कवाट सुरक्षाकर्मीसंगको पहलमा करिव २ सयवढीलाई विभिन्न गन्तब्यमा पुराएको सांसद पन्थीकै दावि छ ।  सायद यो पनि अर्काे गोल त मान्नै पर्ला । 

चौथो गोल : पाल्लामा  अलपत्र सुत्केरी  

काठमाण्डौवाट पाल्पाको दोभानमा आईपुगेकी एक जना सुत्केरी सहितका ५ जना करिव ३ घण्टादेखि अलपत्र परेर जान नपाएको जानकारी पाएपछि सम्वन्धित ठाउम पुगेर प्रहरीसंग समन्वय गरि घर पठाई दिने ब्यवस्था मिलाएको भनेर सांसद पन्थीले लेखेको फेसबुक म्यासेजवाट अलपत्र सुत्केरीको उद्धारमा पनि योगदान गरेको प्रष्ट हुन्छ । यसलाई पनि अर्काे गोल नै मानौं । 

पाँचौ गोल : खेतखेतमै पुगेर मूल्य चुक्ता  


तरकारी बेच्ने बेला लकडाउनका कारण मारमा परेका कपिलवस्तु नगरपालिका वडा नं ९ जर्लैया र केवलपुरका किसानले केही भएपनि राहतको महसुस गरेका छन् । एकैदिन २० हजार किलो टमाटर सहित अन्य तरकारी खरिदको ब्यवस्था मिलाई दिएर किसानको पीडामा पन्थीले मलम लगाउनु भएको छ । किसानले  बेच्न ठिक्क परेका तरकारी कुहिएर जाने खतरा बढीरहेका बेला सांसद  पन्थीको पहलमा बुटवलका ब्यावसायीहरु खेतमै आएर तरकारी खरिद गर्ने वातावरण बनेपछि  किसानले राहतको महसुस गरेका हुन् ।

केहीदिन देखि प्रदेश सांसद पन्थीले सामाजिक संजाल मार्फत जिल्लामा उत्पादन भएका तरकारीको अवस्था के कस्तो छ कहाँ कति छ निम्न नम्वरमा जानकारी दिनु भनेर जानकारी माग गरेसंगै विक्रीको प्रबन्ध मिलाउन सजिलो भएको हो । त्यही अनुरुप जर्लैया र केवलपुरका  किसानले बुटवलकालागि खेतवाटै तरकारी बेच्ने मौका पाएका हुन् । बुटवलका व्यवसायीहरु गाउँमै आएर तरकारी खरीद गर्दा आफुहरुलाई राहत मिलेको चम्कीपुरका किसान नारायण पोख्रेलले वताउनु भयो । 

        स्थानीय  किसानको खेतमा यतिबेला करेला, लौका, बोडी, टमाटर, भेण्डी, खुर्सानी, धनियाँ, फर्सी, मुला, काँक्रा, गाँजर, बोडी, बन्दागोभि, हरियो साग लगायतका तरकारी उत्पादन भएको छ । लकडाउनले गर्दा उत्पादन भएको तरकारी विक्री गर्न समस्या भएको भन्दै वडाअध्यक्ष शिव वाग्लेलाई किसानहरुले जानकारी दिएपछि वाग्लेको माग अनुसार सांसद पन्थी स्थलगत रुपमा अनुगमनमा गएर त्यहाका तरकारी विक्रीको ब्यवस्था गरिदिनु भएको  वडाध्यक्ष वाग्लेले वताउनु हुन्छ  । 

       सांसद पन्थीले बुटवलको तरकारी मण्डीकालागि विभिन्न ब्यापारीहरु आएर तरकारी खरिद गर्ने क्रममा पछिल्लो पटक जलैया केवलपुरमा आफ्नै ट्रक ल्याएर २ ट्रक टमाटर लगायतका तरकारी लैजानेमा बुटवलका ब्यावसायी सि.पि. शर्मा समेत पर्नु भएको छ। उहाले जर्लैयाका किसानका २ ट्रक तरकारीकालागि अग्रिम रकम वुझाएपछि प्रेसपाटीसंग भन्नु भयो सांसद पन्थीले यहा किनेको तरकारी प्रदेशका अन्य जिल्लाका तरकारी विक्री केन्द्र सम्म पुराउने ब्यवस्था मिलाई दिन्छु भनेपछि किसानलाई पनि राहत होस हामीलाई पनि काम गर्ने नयाँ फिल्ड पैदाहोस भनेर तरकारी किन्न आएको हुँ  । 

छैठौं गोल : पजेरो र हाइलक्स नै कृषि एम्बुलेन्स  


 प्रदेश ५ सरकार अनुदानमा दिएका पिकअपलाई कृषि एम्वुलेन्स वनाउने निर्णय गर्नु अगावै देखि बुटवलका पजेरो ,हाईलक्स र स्वीफ्ट कारलाई ब्यक्ति विशेषका कृषि एम्वुलेन्स वनाएर तरकारी ढुवानीको प्रबन्ध मिलाएको तस्वीर उहाका फेसबुक वालमा अहिले पनि देखिन्छन् । संगै त्यस्ता सुविधा युक्त गाडीमा तरकारी ढुवानी गरेर किसानको पीडामा मलम लगाउने ब्यक्तित्वका तस्बीर समेत पाइन्छन् । यसवाट प्रष्ट हुन्छ नेताले गर्ने समन्वय हो । त्यो समन्वय सांसद पन्थीले गरेर किसानलाई गुन लगाउनु भएको छ  भने घरवाहिर निस्कन नमिल्दा ताजा तरकारी खानवाट बञ्चित बुटलका उद्योगी ब्यावसायी र विभिन्न पेशा कर्मीलाई कपिलवस्तुका खेतमै आएर तरकारी लगेर खाने र आफन्तलाई  वाँडेर गुण लगाउने अवसर मिलाउनु भएको छ। 

सातौं गोल : नि : शुल्क तरकारी वितरण 

सांसद पन्थीले बुटवल क्षेत्रका मनकारी हातहरुको सहकार्यमा किसानसंग  खरिद गरेका तरकारी कपिलवस्तु र रुपन्देहीका नेपाल प्रहरी, शशस्त्र प्रहरी , शिक्षण सस्था ,अस्पत्ताल र राजमार्गमा बस्ने दर्जनौ  ब्यक्तिहरुलाई  निशुल्क रुपमा तरकारी उपलब्ध गराउने क्रम जारीछ । ताजा तरकारी  चोकचोकमा निशुल्क उपलब्ध गराएर विपदको बेला मानविय सहयोग भनेकै प्रयाप्त भएकाले अभावमा रहेकालाई दिनु पर्छ भन्ने सन्देश प्रवाह गर्न सफल हुनु भएको छ।सांसद पन्थीले चिनेजानेका तरकारी चाहियो भन्ने सबैलाई निशुल्क रुपमा उपलब्ध गराएको वताउनु हुन्छ । 

आठौं गोल :  विकास  निर्माणका काम  


लकडाउनका कारण विकास निर्माणका काम सुस्ताएका छन् । जसका कारण देशले ठूलो मुल्य चुकाउदैछ । यस्तो बेलामा सडक डिभिजन शिवपुरसंग समन्वय गरि जयनगर देखि अर्घाखाँची जाने सडक र सालझण्डी देखि अर्घाखाँची जाने सडकको काम सुचारु गरौ भन्दै स्थलगत रुपमा गएर ठेकेदारलाई सम्वन्धित ठाउमा वोलाई छलफल गर्नु र गोरुसिंगेमा काम नै शुरु हुनुले कोरोनाको त्राससंगै विकास निर्माण्का योजना संचालन गर्न  प्रेरित गरेको बुझन गाह्रो छैन । पन्थीले  कहरका बेला  विकासप्रेम जगाउन सक्नु भएकोले यसलाई पनि सानो भएपनि गोल नै मान्नु पर्ला । 

अन्त्यमा 

    यतिबेला प्रदेश सांसद पन्थी खुला मैदानमा उत्रिएर चौतर्फी गोल हान्दा  हान्दै सबैका बीच अरुले नगरेका काम गरेर प्रशंसा पाउदा पाउदै उहा स्वयममा उच्च जोखिममा परेको कुरा छिपेकै छैन । अहिले सम्म कपिलवस्तु कोरोनाका हिसावले ग्रिन जोनमा छ कोहीपनि संक्रमित फेला परेको छैन । तर सांसद पन्थीको मास्क नलगाउने शैली, डिडडुल गर्दा भिडभाडमा पनि सहजै जाने स्वभाव र कपिलवस्तु रुपन्देही र अर्घाखाची सम्मका निरन्तर यात्रा, जुनसुकै ठाउमा पनि चियापानी सहजै खाने वानीका कारण उहा स्वास्थ्य जोखिममा परेर ठूलो आत्मघाती गोल आफैले आफैलाई हान्न सक्ने अवस्था पनि नआउला भन्न सकिन्न ।

        त्यसैले सांसद पन्थीले गोल हानेर खेलमा अब्बल खेलाडी  बन्न सक्नु उहाँको सफलता नै मान्नु परयो । यस्तो दुर्लभ मौका कमले मात्र हासिल गर्लान तर आत्मघाती गोल नखान  माथि उल्लेख गरिएका शैली र स्वभावमा तत्काल सुधार गर्नु जरुरीछ । 

प्रकाशित : १३ बैशाख २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६