प्रदेश

दक्षिणपूर्वी एसियामा नेपाल भुटानपछि राम्रो स्थितिमा ,निगरानी र परीक्षण वृद्धि गर्नुपर्ने विज्ञहरूले सुझाव



काठमाडौ, १८ वैशाख।कोभिड–१९ संक्रमणको अवस्थामा नेपाल दक्षिणपूर्वी एसियामा भुटानपछि राम्रो स्थितिमा रहेको छ । यो स्थितिलाई सुधार गर्न नेपालले अझै सजगता अपनाउनुका साथै संक्रमणको निगरानी र परीक्षण वृद्धि गर्नुपर्ने विज्ञहरूले सुझाव दिएका छन् । हालसम्म भुटानमा सात र नेपालमा ५७ जना कोभिड–१९ संक्रमित देखिएका छन् । दक्षिणपूर्वी एसियामा संक्रमणबाट कसैको मृत्यु नभएका मुलुकमा नेपाल, भुटान, माल्दिभ्स र पूर्वी टिमोर छन् । विश्व स्वास्थ्य संगठन डब्लूएचओ ले यस क्षेत्रमा नेपाल र भुटानमा मात्र ‘स्पोरेडिक केस’ देखिएको उल्लेख गरेको छ ।

               स्पोरेडिक केसलाई डब्लूएचओले ‘आयातीत वा स्थानीय रूपमा पत्ता लागेको एक वा बढी केस’ का रूपमा परिभाषित गरेको छ । हाल विश्वभर ५९ मुलुकमा मात्र ‘स्पोरेडिक केस’ देखिएको छ । यो संक्रमणले मृत्यु भएका मुलुकको संख्या १ सय ७३ पुगिसकेको छ । विज्ञहरू नेपालमा संक्रमणको जोखिम अझै टरिनसकेको बताउँछन् । ‘चीनपछि दक्षिणपूर्वी एसियामा पहिलो कोभिड–१९ संक्रमित देखिएको मुलुक नेपाल हो । अहिलेसम्म यहाँ धेरै केस नदेखिनु सकारात्मक छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले भने, ‘हामी संक्रमणको दोस्रो चरणमा छौं । हामीकहाँ अझै कुन व्यक्ति कोबाट संक्रमित भइरहेका छन् भनेर पहिचान हुन आवश्यक छ ।’

                 डा अधिकारीका अनुसार एक करोडभन्दा बढी जनसंख्या भएका मुलुकमा कोभिड–१९ ले मृत्यु नभएको नेपाल मात्र हो । दक्षिणपूर्वी एसियामा कोभिड–१९ परीक्षणका लागि प्रति १० लाख जनसंख्यामा नेपालभन्दा बढी पीसीआर परीक्षण गर्ने माल्दिभ्स र भुटान मात्र हुन् ।डा अधिकारीले मुलुकभरि निगरानी बढाउन आवश्यक रहेको बताए । ‘जुन ठाउँमा केस भेटिएको छ त्यही वरिपरि थप निगरानी गर्नुपर्छ,’ डा। अधिकारीले भने ।मुलुकमै सबैभन्दा बढी ३१ जना कोभिड–१९ संक्रमित रहेको कोसी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट एवं जोन हपकिन्स विश्वविद्यालय अमेरिकाबाट जनस्वास्थ्यमा स्नातकोत्तर गरेकी डा।

                संगीता मिश्रले परीक्षण संख्या बढाएर सक्रिय ट्रेसिङ खोज गर्नुपर्नेमा जोड दिइन् ।विदेशबाट आएका सबैलाई ‘होम क्वारेन्टाइन’ मा राखेर भए पनि स्थानीय सरकारले निगरानी गर्नुपर्ने डा। मिश्रले सुझाव दिइन् । ‘छुट्टै कोठा भएकाहरूका लागि एउटा थर्मामिटर दिएर घरमै क्वारेन्टाइनमा ३० दिनसम्म राख्नु हालका लागि उपयुक्त हुन्छ,’ उनले भनिन्, ‘कोठा नभएकाहरूलाई भने नजिकै स्थानीय स्कुलमा राखेर निजले आफैंसँग ल्याएका ओढ्ने ओछ्याउने र घरबाटै आउने खाना खाने गरी बस्ने व्यवस्था मिलाउनुपर्छ ।’ यस्तै बाहिरबाट आउने सबैलाई एक महिनासम्म क्वारेन्टाइनमा राख्नुपर्ने उनले बताइन् । डब्लूएचओले संक्रमण भएको १४ दिनसम्म क्वारेन्टाइनमा बस्न भने पनि नेपालमा महिना दिन कटिसकेकाहरूमा संक्रमण देखिएको छ ।

                बेलैमा लकडाउन गरिएकाले नेपाल हालसम्म समुदाय स्तरमा संक्रमण हुनबाट जोगिएको छ । तर लकडाउन खुकुलो पार्दा वा हटाउँदा आम व्यक्तिले सुरक्षाको उपाय नअपनाएर पहिले जस्तै व्यवहार गर्न खोज्दा मुलुक पुनस् संक्रमणको भुमरीमा फस्न सक्ने डा। मिश्रले बताइन् । ‘लकडाउन खुकुलो बनाउँदा वा खोल्नुभन्दा अघि परीक्षणलगायत क्षमता बढाउन र जनस्वास्थ्यको मापदण्ड सबै व्यक्तिले पालना गर्ने अवस्था सिर्जना गर्न सक्नुपर्छ,’ उनले भनिन्, ‘अबको जोखिम लकडाउन खुकुलो गरे वा खोलेपछिको स्थिति हो ।’ उनले त्यसपछिको स्थिति आकलन गर्दै न्यूनीकरणका उपाय र तयारीसमेत सरकारले गर्दै जानुपर्नेमा जोड दिइन् ।कोभिड–१९ विरुद्घको खोप पत्ता नलागेसम्म ‘विश्व कोरोना सँगै बाँच्ने’ औंल्याउँदै डब्लूएचओका महानिर्देशक डा। टेड्रोस एडहेनोम घेबरेयेससले आम जनजीवन सामान्य बाटोमा फर्कन लामो समय लाग्न सक्ने बताएका छन् । डा। मिश्रले लकडाउन खुले पनि एकदम नियन्त्रित भएर जानुपर्ने औंल्याइन् । ‘घरबाहिर रहँदा व्यक्तिगत दूरी कायम राख्नुपर्छ । मास्क प्रयोग गर्नुपर्छ । नियमित रूपमा साबुनपानीले हात धुने गर्नुपर्छ । नत्र लकडाउनपछि स्थिति घातक हुन सक्छ,’ उनले भनिन् । 

                 विज्ञहरूले कोभिड–१९ को युद्ध नजितेसम्म पहिले जस्तै घुमघाममा निस्कन नहुने बताएका छन् । फाट्टफुट्ट नयाँ संक्रमित फेला परिरहेकाले एकैपटक देशभर लकडाउन खोल्न नहुने उनीहरूको भनाइ छ । उनीहरूका अनुसार कोभिड–१९ को केस देखिएका आधारमा रातो, पहेँलो र हरियो क्षेत्रमा विभाजित गरेर जोखिम कम भएको ठाउँमा विस्तारै लकडाउन खुकुलो पार्ने वा खोल्ने रणनीति स्वास्थ्य मन्त्रालयले लिन सक्छ ।

             स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले कोभिड–१९ को केस नदेखिएको ठाउँलाई हरियो, १० वटासम्म केस देखिएको ठाउँलाई पहँलो क्षेत्र र १० वटाभन्दा बढी केस देखिएको ठाउँलाई रातो क्षेत्रका रूपमा परिभाषित गर्न सकिने विषयमा छलफल भइरहेको जानकारी दिए । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले लकडाउन कहिले खोल्ने, कति खुकुलो गर्ने भन्ने कुरा बिरामी कति देखियो, परीक्षण कति गरियो भन्ने कुराले निर्धारण गर्ने बताए । ‘केही दिन त लकडाउन जारी नै राख्नुपर्छ । विस्तारै विभिन्न संवेदनशील क्षेत्र पहिचान गरी सम्भावित जोखिम न्यूनीकरण गर्ने क्षमता आर्जित गरेर अगाडि बढ्नुपर्छ,’ उनले भने ।

संक्रमित संख्या ५७ पुग्यो

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार थप तीन जनामा संक्रमण देखिएपछि कोभिड–१९ बाट प्रभावित भएकाहरूको संख्या ५७ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार हाल विराटनगरमा ३१ जना, वीरगन्जमा ८ जना, धनगढीमा १ जना, भरतपुरमा १ जना गरी ४१ जनाको अस्पतालमा उपचार भइरहेको छ । उनीहरू सबैको स्वास्थ्य स्थिति सामान्य छ । मुलुकमा हालसम्म पीसीआरबाट ११ हजार ५ सय २४ नमुनाको परीक्षण गरिएको छ । यस्तै आरडीटी किटबाट ४६ हजार ६ सय ६५ नमुनाको परीक्षण भइसकेको छ ।

              डा देवकोटाका अनुसार आरडीटी किटबाट प्रदेश १ मा ४ हजार ८ सय ८१, प्रदेश २ मा ५ हजार २ सय ९८, वाग्मतीमा ८ हजार २ सय १७, गण्डकीमा ५ हजार ३ सय ४३, प्रदेश ५ मा ३ हजार ६ सय ७१, कर्णालीमा ५ हजार २ सय ६९ र सुदूर पश्चिममा १२ हजार ९ सय ८६ वटा नमुनाको परीक्षण भएको छ । हाल काठमाडौं उपत्यकामा ४ जना र उपत्यका बाहिर ८३ जना गरी ८७ जना आइसोलेसनमा छन् । अहिले देशभरि २२ हजार ९ सय १ जना क्वारेन्टाइनमा छन् । प्रदेश १ मा २ हजार ४ सय ७८, प्रदेश २ मा १ हजार ४ सय ४, वाग्मतीमा ६ सय ११, गण्डकीमा ६ सय ९४, प्रदेश ५ मा १२ हजार ५ सय १५, कर्णालीमा ३ हजार ९ सय ६३ र सुदूर पश्चिममा १ हजार २ सय ३६ जना क्वारेन्टाइनमा छन् । 

समाचार स्रोत  ईकान्तीपुर कम

प्रकाशित : १८ बैशाख २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६