कपिलवस्त १९ वैशाख ।प्राकृतिक श्रोत साधनका हिसावले सम्पन्न कपिलवस्तु जिल्लामा १ सय १९ सामुदायिक बनबाट वार्षिक करिव ६० करोड आम्दानी हुने गरेको तथ्य सामुदायिक बन उपभोक्ता महासंघ कपिलवस्तुले जानकारी दिएकोछ । जिल्लामा रहेका सामुदायिक बनको कूल ६० करोड आम्दानी मध्ये ९० प्रतिशतमा बुद्धभूमि र बाणगंगा नगरपालिकाको पहुँच रहेको तथ्यांकले पुष्टी गरेको छ ।
बन जंगलका हिसावले जिल्लामै समृद्ध बुद्धभूमि नगरपालिकामा ३६ वटा सामुदायिक बनहरु समुदाय स्तरमा हस्तान्तरण भएको र ति बनबाट वार्षिक करिव ३० करोड रकम आम्दानी हुने गरेको सामुदायिक बन उपभोक्ता महासंघ, बुद्धभूमि नगर महासंघका अध्यक्ष बलराम भुसालले बताउनु भयो । अध्यक्ष भुसालले बुद्धभूमि नगरपालिका भित्र खासगरी साविकका दुविया, वरकलपुर र महेन्द्रकोट गाविस सामुदायिक बनको श्रोतमा अगाडी रहेको तर्क गर्नु भयो । अध्यक्ष भुसाललले आफुहरुकहाँ निकै कम श्रोत भएका बनहरु पनि छन त केही ३ करोड वढी वार्षिक आम्दानी गर्ने बनहरु पनि रहेका छन् उहाले स्पष्ट पार्नु भयो ।
त्यस्तै प्राकृतिक श्रोत, साधनमा राम्रै पहुँच राख्ने बाणगंगा नगरपालिकामा ३२ वटा सामुदायिक बनहरु रहेको र ति बनबाट वार्षिक करिव २५ करोड रकम आम्दानी हुने अनुमान गरिएको सामुदायिक बन उपभोक्ता महासंघ प्रदेश ५ का सदस्य अमित पौडेलले बताउनु भयो । प्रदेश सदस्य पौडेलले बाणगंगा नगरपालिका भित्र वार्षिक ५ करोड सम्म आम्दानी हुने बनहरु रहेको बताउनु भयो ।
त्यस्तै बनजंगलका हिसावका कमजोर रहेको शिवराज नगरपालिका भित्र २६ वटा सामुदायिक बन रहेको र ति बनबाट वार्षिक करिब ३ करोड आम्दानी हुने सामुदायिक बन उपभोक्ता महासंघ शिवराज नगर महासंघका अध्यक्ष विक्रम के.सी.ले जानकारी दिनु भयो । अध्यक्ष के.सी. ले शिवराज भित्र रहेका नगरहरु आठ, दश वटा ब्यवस्थित भएपनि अन्य भने विकासको चरणमा रहेको स्पष्ट पार्नु भयो ।
त्यस्तै बाँकी विजयनगर लगायतका जिल्लाका अन्य स्थानमा रहेका २५ सामुदायिक बनबाट वार्षिक २ करोड आम्दानी हुने गरेको सामुदायिक बन उपभोक्ता महासंघ, कपिलवस्तुका अध्यक्ष हुमनाथ भट्टराईले जानकारी दिनु भयो ।कपिलवस्तु जिल्ला खोला, नाला, बन जंगल लगायतका श्रोत साधनका दृटिकोणले समृद्ध जिल्ला हो । कपिलवस्तु जिल्लाको कूल भूगोल १ लाख ७३ हजार ८ सय हेक्टर मध्ये वनको क्षेत्रफल ६२ हजार २ सय ११ हेक्टर रहेको कपिलवस्तु डिभिजन बन कार्यालय तौलिहवा, कपिलवस्तुको तथ्यांकले देखाएकोछ ।
कपिलवस्तु जिल्लामा मुख्य गरी १ सय १९ वटा सामुदायिक बन, ५ वटा साझेदारी बन, ४ वटा धार्मिक बन र ४९ वटा निजी वन रहेको डिभिजन कार्यालय कपिलवस्तुद्धारा प्रकाशित प्रगती प्रतिवेदनमा उल्लेख छ । यी चार प्रकारका बन मध्ये मुख्य गरी सामुदायिक बन र साझेदारी बनको हिस्ता धेरै रहेको छ ।
कपिलवस्तु जिल्लामा समुदायलाई नै हस्तान्तरण गरिएका १ सय १९ वटा सामुदायिक बनकोे क्षेत्रफल १२ हजार ६ सय ६३ हेक्टर रहेको कपिलवस्तु डिभिजन बन कार्यालयको प्रतिवेदनमा उल्लेख छ । यी १ सय १९ सामुदायिक बन क्षेत्रबाट ३० हजार २ सय ३० घरधुरी प्रत्यक्ष लाभान्वित भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । कपिलवस्तु डिभिजन बन कार्यालय अन्रर्गत ६८ वटा सामुदायिक बन रहेका छन् । ती ६८ वटा सामुदायिक बनको क्षेत्रफल कूल १० हजार ८ सय रहेको छ । त्यस्तै कपिलवस्तु डिभिजन बन कार्यालय अन्तरर्गत ३८ वटामा बैज्ञानिक बन ब्यवस्थापन लागु गरिएको छ र ती ३८ वटा बनले ७ हजार हेक्टर क्षेत्रफल ओगटेको बन कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
सामुदायिक बन उपभोक्ता महासंघ प्रदेश ५ का सदस्य अमित पौडेलले सामुदायिक बनहरुको बजेटबाट ५५ देखी ६० प्रतिशत बजेट समुदायको गरिवी न्यूनिकरण देखी समग्र विकास निर्माणमा खर्च गर्ने गरेको दावी गर्नु भयो । प्रदेश सदस्य पौडेलले स्थानिय तहसंग सहकार्य र समन्वय गरेर मात्र समुदायलाई बढी फाइदा दिन सकिने तर्क गर्दै स्थानिय तहले सामुदायिक बनलाई नियन्त्रण नभई समन्वय गर्नुपर्नेमा जोड दिनु भयो ।
पौडेलले सामुदायिक बनलाई स्वायत्त रुपमा संचालन गर्नुपर्नेमा जोड दिनु भयो । प्रदेश सदस्य पौडेलले बनको अतिक्रमणमा स्थानिय तहको भूमिका सक्रिय बनाउन आवश्यक रहेको चर्चा गदै त्यस्ता विकिृती रोक्न स्थानिय तहले निरुत्साहित गर्नुपर्नेमा जोड दिनु भयो । नेतृत्व चयन देखी नेतृत्वले आफ्ना उपभोक्तालाई माग र आवश्यकताको आधारमा विश्लेषण गर्दै प्राथमिकताको आधारमा उसले काठ उपलब्ध गराउन सक्ने सामुदायिक बन उपभोक्ता महासंघ कपिलवस्तुका अध्यक्ष हुमनाथ भट्टराईले बताउनु भयो ।
सामुदायिक बनको मूख्य आम्दानीको श्रोत गुलिया, दाउरा र घाँस हो । सामुदायिक बनले आफ्नो बजेटलाई विशेषगरी आफ्नो कार्ययोजनामा गरिबी न्यूनिकरणका लागि ३५ प्रतिशत, बन ब्यवस्थापन, संरक्षणमा २५ देखी ३०, सामुदायिक बनको विकास, भौतिक पूर्वाधार निर्माणमा २५ र करिब ५ देखी १० प्रतिशत प्रशासनिक क्षेत्रमा बजेट विनियोजन गर्ने सामुदायिक बन उपभोक्ता महासंघका अधयक्ष हुमनाथ भट्टराईले बताउनु भयो । सामुदायिक बनले आफ्नो ३ वर्षे कार्यकाल हुने र ५ देखी १० वर्षे कार्ययोजना निर्माण गरी डिभिजन बन कार्यालयबाट स्वीकृत गराउने प्रावधान रहेको अध्यक्ष भट्टराईले जानकारी दिनु भयो ।
त्यसैले आफ्नो बनमा उत्पादन भएको काठ, दाउराको विक्री वितरण गर्ने र उपभोग गर्ने अग्र अधिकार ति उपभोक्तामै रहेको छ । आन्तरिक खपतको सबै रकम आफ्नै स्वामित्वमा रहने प्रावधान रहेको सामुदायिक बनले बाहय रुपमा काठ विक्रीका लागि डेन्डर खरेको वखत भने १५प्रतिशत राजश्व सरकारलाई बुझाउनु पर्ने कानूनी प्रावधान रहेको सामुदायिक बन उपभोक्ता महासंघ, बाणगंगा नगर महासंघका उपाध्यक्ष ढाकाराम अधिकारीले जानकारी दिनु भयो ।
राजापानी सामुदायिक बनका अध्यक्ष समेत रहनुभएका अधिकारीले आफ्नो वनले पनि वार्षिक छ, सात हजार क्यू फिट काठ विक्रिबाट वार्षिक करिव ५० लाख आम्दानी गर्ने स्पष्ट पार्नु भयो । अध्यक्ष अधिकारीले आफ्ना उपभोक्तालाई ए ग्रेडको काठ प्रति क्यू फिट १ हजार, बि ग्रेटको ७ सय र सि ग्रेटको ५ सय रुपैयामा काठ उपलब्ध गराउने गरेको र टेन्डरमा जादा ए ग्रेटको काठको मूल्य १ हजार ५ सय बढीमा पनि विक्री हुने गरेको बताउनु भयो । मनकामना सामुदायिक बन, बाणगंगाका अध्यक्ष अमित पौडेलले ४ सय ५९ हेक्टर बनबाट आ.व. २०७६÷०७७ मा २० देखी २४ हजार क्यू फिट काठ उत्पादन हुने र त्यसबाट बनले करिब ३ करोड आम्दानी गर्ने अनुमान गरिएको बताउनु भयो । मनकामना सामुदायिक बनमा १ हजार १ सय घरधुरी उपभोक्ता रहेको अध्यक्ष पौडेलले बताउनु भयो ।
त्यस्तै श्रृङ्गीघाट सामुदायिक बन उपभोक्ता समूहकी अध्यक्ष रेनु सेनले आव.ब. २०७६÷०७७ मा ५० देखी ५५ हजार क्यू फिट काठ उत्पादन हुने र त्यसबाट करिब ३ करोड ५० लाख देखी ४ करोड सम्म आम्दानी हुने अनुमान गरिएको बताउनु भयो । अध्यक्ष सेनले करिब पाँच सय हेक्टर बन क्षेत्र रहेको र २ हजार ४ सय ८० घरधुरी बनका उपभोक्ता रहेको जानकारी दिनु भयो । अध्यक्ष रेनु सेनले बनमा नियमित २ जना कर्मचारी राखिएको र अहिले ४ महिनाको लागि मात्र थप १० जना बन हेरालु नियुक्त गरिएको बताउदै वैज्ञानिक बन ब्यवस्थापनमा लार्पारवाही गरे निकै क्षती हुन सक्ने समेत तर्क गर्नु भयो ।
त्यस्तै बुद्धभूमि नगरपालिका वडा नंं. १ मा रहेको आदर्श सामुदायिक बन उपभोक्ता समूहका कोषाध्यक्ष बुद्धिराम थारुले आ.व. २०७६÷०७७ मा करिब ३ हजार ३ सय ६६ क्यू फिट काठ उत्पादन हुने अनुमान गरिएको बताउनु भयो । कोषाध्यक्ष थारुले यसबाट बनले उन्नाइस, बीस लाख आम्दानी गर्ने अनुमान गरिएको जानकारी दिनु भयो । १ सय २८ हेक्टर बनको क्षेत्रफल रहेको बनमा १ सय ४८ घरधुरी उपभोक्ता रहेका छन् ।
भलवाडमा रहेको अमृते सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष गोपाल गिरीले आफुहरु हालै मात्र वैज्ञानिक बन ब्यवस्थापनमा गएको बताउनु भयो । अध्यक्ष गिरीले बनको ३ सय २६ हेक्टर क्षेत्रफल रहेको र २ सय ९० घरधुरी उपभोक्ता रहेको बताउनु भयो । अध्यक्ष गिरीले आ.व. २०७५/०७६ मा बनबाट करिव २५ लाख आम्दानी भएको बताउदै समुदायमा पहिले नै बजेट बाडफाड हुने तर विनियोजन अनुसार बेला बखत आम्दानी कम हुदा समस्या पैदा हुने गरेको बताउनु भयो ।
सामुदायिक बनको संरक्षण, प्रवर्धनले प्रत्यक्ष आर्थिक आम्दानीको कुरा मात्र नगरी त्यसबाट वातावरणीय सन्तुलन कायम गर्ने देखी प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा थुप्रै रोजगारी श्रृजना गर्ने कुरामा सामुदायिक बनको भूमिका महत्वपूर्ण रहेको सामुदायिक बन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष हुमनाथ भट्टराईको तर्क छ । जैविक विविधता र जलाधारको संरक्षण, ब्यवस्थापन संगै यसको समुचित प्रयोग र रोजगारी श्रृजना गर्ने विषय सामुदायिक बनको मात्र नभई सिंगो नगरपालिकाको चासो र सरोकारको विषय भएको बाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्यालले बताउनु भयो ।
अर्यालले नगर भित्र रहेका बनजन्य वस्तुको उत्पादन र यसमा आधारित उद्योगहरुको अध्ययन अनुसन्धानमा पनि जोड दिनुपर्ने तर्क गर्दै सामुदायिक बनका अगुवाहरुसंगको समन्वयमा यसको उचित कार्यान्वयनमा जोड दिनु भयो । सामुदायिक बनहरु दीर्घकालिन रुपमा नगरको स्थायी आम्दानीको श्रोत हुने तर्क गर्दै वनको उचित ब्यवस्थापनमा जोड दिनु भयो । बन भित्र जडिबुटी तथा सुगन्धित वनस्पतिहरुको ब्यवसायिक उत्पादन तथा प्रशोधन मार्फत नगरको समग्र अर्थतन्त्रमा प्रभाव पार्ने योजना निर्माण गर्नुपर्ने बाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्यालको भनाई छ । बाणगंगा नगरपालिका भित्र ब्यवसायिक जडिबुटीको खेती गरी उत्पादन तथा प्रवर्धनमा जोड दिदै रोजगारी श्रृजना गर्ने कार्यमा नगरको जोड रहने उपप्रमुख अर्यालको भनाई रहेको छ ।
प्रतिक्रिया