मानवीय शरीरको पिण्डलाई आध्यात्मिक विज्ञानले तीन भागमा विभाजित गरेको छ । जसरी केराको एकपत्रको पछि अर्को पत्र भेटिन्छ, त्यसरी नै शरीरमा पनि अनेक पत्रहहरु रहेका हुन्छन्–१.क्रियाकलापरुपि बाहिरी कलेबर, २.विचारतन्त्र रुपि मनः क्षेत्र र ३. भावतन्त्ररुपि अन्तःकरण । यी तीनओटै सत्ता मानव शरीरमा विद्यमान रहेको हुन्छ । यीनैलाई आध्यात्मिक शब्दावलीमा क्रमशः स्थूल शरीर, सूक्ष्म शरीर र कारण शरीर भनिन्छ ।
१. स्थूल शरीर ः जसरी छालाको तलपट्टी माँशपेशीहरु र माँशपेशीहरुको भित्रपट्टी रक्तवाहिका तन्तुहरु हुन्छन्, त्यसैगरी यो हड्डीहरु र माँशपेशीहरुले बनेको प्रत्यक्ष देखिने चलायमान, खाने पिउने, पिण्डको नाम हो स्थूल शरीर हो । सामान्य शब्दमा–रजवीर्यबाट उत्पन्न हुने, अन्नले बढ्ने, पञ्चमहाभूतहरुले निर्मित हुजे कलेवर नै स्थूल शरीर हो । यो कर्मेन्द्रियहरु र ज्ञानेन्द्रियहरुको समुच्चय हो ।
शंकराचार्यका अनुसार ‘मज्जा,अस्थि,मेद,मांस,रक्त,शुक्र र त्वचा यी सात धातुहरुबाट निर्मित एवं गोडा,छाती,भुजा, पीठ्यु र निधार आदि अंगोपाड्डले युक्त ‘म र मेरो’ हो भन्ने प्रसिद्ध मोहको आश्रयस्थान देहलाई नै विद्वानहरु स्थूल शरीर भन्दछन् । पृथ्वी,जल,अग्नि,वायु र आकाश यी पाँच तत्वले निर्मित सुख,दुःख आदिलाई भोग्ने,आश्रय,उत्पत्ति,बृद्धि विकास हुने,कमजोर हुने, नासिने जस्ता ६ विकारले युक्त शरीर हो । शरीरको निर्माण प्रक्रियाका सम्बन्धमा के लेखिएको पाइन्छ भने – शरीर रचनाको प्रारम्भ आकाश तत्वबाट भएको छ । आकाश तत्व दुई भागमा विभाजन भएर रहन्छ एक भाग आकाश जस्ताको तस्तै रहन्छ भने आधा भाग वायुमा मिश्रित हुन्छ । त्यहि सम्मिश्रित भाग नै अग्नितत्वसंग मिलेर तेज अथवा प्राणको रुपमा अभिव्यक्त हुन्छ । त्यहि तेजको आधा भाग जलमा मिलेर रक्त आदिको निर्माण हुन्छ । र बँचेको आधा जलको भागबाट पृथ्वी तत्व अर्थात् स्थूल शरीरको निर्माण हुन्छ ।
वेदहरुमा भनिएको छ ‘भूमि, अन्तरिक्ष र द्युलोक यहि शरीरमै रहेका छन्, जसमा अग्नि,नन्द्रमा,सूर्य र वायु विद्यमान रहन्छन् । ३३ देवता पनि यहि शरीर मैं रहन्छन् । सामवेद्मा स्थूल शरीरलाई ‘पुराम’ शब्दले सम्बोधन गरिएको छ र भनिएको छ ‘यो विनाशशील छ’ । अर्थर्ववेदमा देवताहरुको पुरी अर्थात अयोध्या यहि हो भनिएको छ । यसमा आठ चक्र छन्, नौ द्वार छन् । राम्रा कोषहरुले अच्छादित हृदयकमल छ, जुन तेजले भरिएको स्वर्ग समान छ । त्यहि कोषमा नै आत्माको निवास छ, त्यसलाई ब्रह्मज्ञानीले मात्र जान्दछन् ।
वेदहरुमा स्थूल शरीरका अंग–प्रत्यड्डहरुको वर्णन विशद् रुपमा भएको छ । ऋग्वेदमा भनिएको छ मानव चेतना शरीररुपी वनमा आफ्ना विभिन्न शक्तिहरु सहित क्रीडा गरिरहेको छ, दशै ईन्द्रियहरुले यसको शोभामा बृद्धि गर्दे ज्ञानकर्ममा सहायक बनिरहेका छन् । यजुर्वेदमा शरीरका अंगहरुको गणनाको साथसाथै यसको दृढता, उपयोगिता, एवं सुन्दरताका लागि शरीर विज्ञानलाई जान्नु आवश्यक छ भन्ने कुराको प्रतिपादन गरिएको छ ।
२. सूक्ष्म शरीर ः स्थूल शरीरको भित्रपट्टी विद्यमान सत्तालाई सूक्ष्म शरीर भन्दछन् । यो स्थूल शरीरमा परिव्याप्त छ । यो १७ तत्वले निर्मित हुन्छ भन्ने पाइन्छ । पाँच ज्ञानेन्द्रिय, पाँच कर्मेन्द्रिय,पाँच प्राण,मन र बुद्धिलाई सूक्ष्म शरीर भनिन्छ । १७ तत्वले निर्मित भएका कारण ‘सप्तदशैक लिंगम्’ पनि भनिएको छ । साँख्यदर्शनमा यहि सम्बन्धमा भनिएको छ यो शरीर सत्रह तत्वहरुले निर्मित छ – पाँच ज्ञानेन्द्रिय, पाँच कर्मेन्द्रिय,पाँच प्राण,मन र बुद्धि ।
शंकराचार्यका अनुसार ‘यो सूक्ष्म अथवा लिंग शरीर अपंचीकृत भूतहरुद्वारा उत्पन्न भएको छ । यसले वासनायुक्त भएर कर्मफलको अनुभव गराउँछ र स्व स्वरुपको ज्ञान गराउने कारण आत्माको अनादि उपाधिको ज्ञान गराउने पनि यहि हो । स्वामी रामसुखदास सूक्ष्म शरीरलाई १८ शक्तिहरुद्वारा निर्मित बताउँछन् उनको शब्दमा पाँच ज्ञानेन्द्रिय, पाँच कर्मेन्द्रिय, मन,पञ्चसूक्ष्ममहाभूत र बुद्धि यी १८ शक्तिहरुको समूहलाई नै सूक्ष्म शरीर भनिन्छ ।
स्वामी दयानन्द सरस्वतीका अनुसार सूक्ष्म शरीरका दुई भेद रहेका छन् । एक भौतिक शरीर जुन शब्द, स्पर्श,रस,रुप,गंध यी पाँच सूक्ष्मभूतहरुबाट निर्मित हुन्छ, दोस्रो अभौतिक, जुन जीवको स्वभाविक गुण अथवा रुप हो । अभौतिक शरीर मृत्युरान्त पनि नष्ट हुँदैन ।
सूक्ष्म शरीरको अनुभव स्वप्नावस्था हो । शंकराचार्य भन्नुहुन्छ –‘स्वप्न यसकै अभिव्यक्तिको अवस्था हो, जहाँ यो स्वयम् बाँचेको अनुभव गर्दछ । स्वप्नावस्थामा स्वयंप्रकाश परमात्मा शुद्ध चेतन नै (भिन्न पदार्थको रुपमा ) अनुभव गर्दछ, बुद्धि जाग्रतकालिन नाना प्रकारका वासनाहरुबाट कर्ता आदि भाव अनुभव गरेर स्वयं नै प्रतीत हुन थाल्दछ । स्वप्नकालमा मानव चेतनाले सूक्ष्म शरीरको माध्यमबाट जाग्रत सृष्टि समान नै सीर्जनाहरु बनाउँछ र तीनलाई भोग गर्दछ । तर त्यो भोग केवल स्वाप्निक हुन्छ, अर्थात् यसको सत्यता केवल स्वप्नकालसम्म मात्र रहन्छ । जाग्रत हुँदा यो मिथ्या भएको आभास हुन्छ ।
सूक्ष्म शरीर इच्छा, विचारणाको दृष्टिमा स्थूल शरीर जस्तै व्यवहारहरुमा अभ्यस्त हुन सक्दछ , तर त्यसका लागि साधनहरुको आवश्यकता पर्दैन । ऋतुहरुद्वारा प्राताडित हुनु पर्दैन । मात्र इच्छा र बानी व्यवाहार मात्रले नै राम्रा–नराम्रो, क्रिया–प्रतिक्रिया उत्पन्न भैरहेको हुन्छ । यहीनै उसको स्वनिर्मित परलोक हो । सूक्ष्म शरीरको अस्तित्व दृश्यमान् स्थूल शरीरको माध्यबाट मनोबलको रुपमा प्रकट भैरहेको हुन्छ । गुण, कर्म, स्वभावका विशेषताहरु सूक्ष्म शरीरमा नै केन्द्रिभूत रहेको हुन्छ । साहस, संकल्प,पराक्रम,एवं दृष्टिकोणको आधारमा यी विभिन्न कुराहरु थाहा हुँदै जान्छन् , प्रतिभावान,ओजस्वी,मनस्वीहरु देख्नमा सामान्य भएपनि सूक्ष्म शरीरको दृष्टिमा प्रखर हुन्छन् । अतीन्द्रिय क्षमता र ऋद्धि–सिद्धिहरुको भण्डार, आकाशगमन,शक्तिपात आदिले सूक्ष्म शरीर प्रखर छ भन्ने कुरालाई प्रमाणित गर्दछ । यी क्षमताहरु सूक्ष्म शरीरभित्रका जाग्रत स्थितिका द्योतक हुन्छन् । समान्य मान्छेहरुलाई सूक्ष्म शरीरको अस्तित्वको परिचय मरणोपरान्त प्रेत–पितृको रुपमा कहिलेकाँही दिव्य सपनाहरुमा हुने गर्दछ ।
सूक्ष्म शरीरलाई प्रखर एवं सामथ्र्यवान बनाउनका लागि दृष्टिकोण एवं स्वभाव संस्कारलाई परिमार्जन गर्न आवश्यक छ । त्यसका लागि स्वाध्याय, चिन्तन,मनन,सत्संग गर्नु, साधना सेवा गर्नु पर्दछ । यसको अभ्यासबाट सूक्ष्म शरीर शनैः–शनैः प्रखर हुँदै जान्छ ।
३. कारण शरीर ः कारण शरीरलाई भाव शरीर भनिन्छ । यसमा आस्था,मान्यता,आकांक्षा आदि निवास गर्दछन् । यसको सामान्य परिचय संवेदनाहरुबाट हुन्छ । स्वामी ओमानन्द तीर्थको शब्दमा– ‘चेतनाले प्रतिबिम्बित सत्व–चित्त जसमा अहंकार बीज रुपमा लुकेर आफ्नो कामलाई बन्द गरिरहेको हुन्छ , त्यसलाई अस्मिता भनिन्छ, त्यहि नै कारण शरीर हो । यसको अर्थ के हुन्छ भने त्यसमा पनि अहंकार अविद्या विद्यमान रहन्छ , अतः यो शरीरलाई कारण शरीर भनिएको हो । यो पनि मानवीय चेतनाको शुद्धावस्था होइन । विवेकचुडामणिमा यस सम्बन्धमा निम्न कुराहरु उल्लेख गरेको पाइन्छ – तीन गुणहरु (सत्व,रज,तम) को निरुपणबाट अव्यक्तरुपमा निर्मित भएको आत्मा तत्व नै कारण शरीर हो । यसको अभिव्यक्तिको अवस्था सुषुप्ति हो, जसमा बुद्धिका सम्पूर्ण वृत्तिहरु लीन हुन पुग्दछन् ।
कारण शरीर सम्पूर्ण सूक्ष्म शरीरमा व्याप्त रहन्छ । यसको आकृति पनि सूक्ष्म शरीरको जस्तै हुन्छ । यो कारण शरीर एक प्रकारले सूक्ष्म शरीरकै आकार हो । स्थूल शरीर सम्पूर्ण प्राणीहरुलाई प्राप्त छ । केहि विकसित प्राणिवर्गमा सूक्ष्म शरीरको प्रखरता पनि देखिन्छ, तर कारण शरीरको सामथ्र्यको विकास केवल मावन चेतनामा मात्र सम्भव छ । यसको अविकसित स्थितिमा मानव चेतना अत्यन्त निम्न स्तरको हुन्छ । परन्तु कारण शरीरको सामथ्र्य बढाउनका लागि प्रयास–पुरुषार्थ, भाव –संवेदना र श्रद्धा आदि तत्वहरुले विकास हुन थाल्दछ । यो शरीरको विकास उपरान्त नै मानव चेतनाले परमात्म चेतनासंग एकात्मकता प्राप्त गर्न सक्दछ । यस्ता मनुष्यलाई देवमानव भनिन्छ ।
कारण शरीरको अनुभव सुषुप्तिकालमा हुन्छ । किनकि त्यस अवस्थामा जाग्रत तथा स्वप्नावस्थामा जस्तै विभिन्न वस्तुहरुको इच्छा पनि हुँदैन र अनुभव पनि । स्वामी ओमानन्द तीर्थले यस सम्बन्धमा लेखेका छन् – जब तमोगुणले रजोगुणलाई दबाउँछ त्यतिखेर सूक्ष्म शरीरले स्वप्नमा पनि काम गर्न छोड्दछ । त्यतिखेर सुसुप्ति अवस्था आउँछ । यस अवस्थामा केवल कारण शरीरमा मात्र काम हुन्छ । कारण शरीर तमले ढाकिएको हुँदा अभाव मात्र अनुभूति हुन्छ । यसका अतिरिक्त तमोगुणको अन्धकारले न बाहिरको ज्ञान हुन्छ न भित्रको ।
सुषुप्तिकालमा केवल प्राण मात्र जागृत रहेर आफ्नो काम गर्दछ । इन्द्रिय तथा मन आदि सुषुप्तिमा जान्छन् । त्यसकारण नै गहिरो निद्राबाट ब्युझिनासाथ मान्छेहरु भन्नेगर्छन् आज म खुब आनन्दले निदाएँ , केहि थाहा पाईन इत्यादि । यहाँ केहि नजान्नु नै अज्ञान हो र यो अज्ञान जाग्रत एवं स्वप्नावस्थामा पनि रहन्छ । त्यसकारण नै व्यवहारिक जगतमा सामान्य मान्छेहरु भन्ने गर्दछन् , उसलाई म चिन्दिन जान्दिन, आत्मालाई बुझ्दिन । जहाँ सबैप्रकारका ज्ञान शान्त हुन्छन् र बुद्धि बीज रुपले स्थीर हुन्छ त्यहि सुषुप्तिको अवस्था हो । अतएव यो स्पष्ट छ कि अज्ञान नै यी स्थूल र सूक्ष्म शरीरहरुको कारण हो । जबसम्म त्यो अज्ञानलाई प्रत्यक्ष अथवा अप्रत्यक्ष ज्ञानबाट नष्ट गरिदैन तवसम्म मानव चेतनाको पूर्ण विकास हुन सक्दैन ।
कारण शरीरको विकास भक्तियोगको अभ्यासबाट हुन्छ । उपनिषदहरुले परमात्माको भावनात्मक स्वरुपको वर्णन गर्दै भनेका छन् – ‘रसो वै सः’ अर्थात् प्रेम नै परमेश्वर हो । परमेश्वरको भक्ति गरेर मात्र ईश्वरसंग सम्पर्क साक्षात्कार एकाकार गर्न सम्भव हुन्छ । विचार तन्त्र र क्रियातन्त्रलाई संगसंगै लिएर हिँड्ने क्षमता परिष्कृत कारण शरीरमा मात्र हुन्छ । मानवीय गरिमा अनुरुप जीवन बाँच्नु र महामानवको स्तर अपनाउन यहि क्रियाको आवश्यक पर्दछ । योगी , तपस्वी, मनीषी,सुधारक,सृजेता, यहि स्तरका हुन्छन्, उनीहरु मात्र उत्कृष्टताको बाटोमा मात्र पाईला अगि बढाउँछन् । अस्तु !
प्रतिक्रिया