ब्रेकिंग न्युज

चीनको एक सन्चार माध्यमद्धारा सर्वोच्च शिखर सगरमाथा चीनमा पर्ने उल्लेख



२८ वैशाख, काठमाडौं । भारतले नेपालको भूभाग मिचेको विषयमा विरोध भइरहेको बेला चीनको एक सन्चार माध्यमले सर्वोच्च शिखर सगरमाथालाई चीनमा पर्ने उल्लेख गरेको छ ।चीनको ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क सीजीटीएन’ले ट्वीटरमा सगरमाथा चीनमा पर्ने उल्लेख गरेको हो ।सगरमाथा क्षेत्रका केही तस्वीरसमेत राखेर सीजीटीएनको आधिकारिक ट्वीटर ह्याण्डलमा सगरमाथालाई चीनको तिब्बत स्वायत्त क्षेत्रमा पर्ने विश्वको सर्वोच्च शिखर भनेर उल्लेख गरिएको छ ।सीजीटीएनले गलत सूचना सम्प्रेषण गरेको भन्दै सामाजिक सन्जालमा विरोध भइरहेको छ । उनीहरुले ऐतिहासिक तथ्य हेर्न र सच्याउन सुझाव दिइरहेका छन् ।चाइना मोबाइल र हुवावे कम्पनीले सगरमाथाको तिब्बतर्फको पाखोमा फाइभ जी इन्टरनेटको बेस स्टेसन निर्माण गरेका छन् । ६ हजार ५ सय मिटरको उचाइमा निर्मित यस स्टेसनलाई विश्वको सबैभन्दा अग्लो स्थानको फाइभ जी स्टेसन भनिएको छ ।

                हालै हुवावेले फाइभ जी स्टेशनका लागि चाहिने उपकरणहरु याक र चौंरीबाट ढुवानी गरिरहेको भिडियो सार्वजनिक गरेको थियो ।सगरमाथाको उत्तरी मोहडा मात्र चीनतर्फ पर्दछ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार उत्तरी मोहडाबाट चीनले सगरमाथाको उचाइ नाप्न सुरु गरेको छ । त्यसका लागि गत बुधबार चिनियाँ सर्भेयर र आरोहीको टोली आधार शिविर पुगेका छन् ।चिनियाँ सर्वेक्षणकर्ताले सन् १९४९ यता पाँच पटक सगरमाथाको उचाइबारे अध्ययन गरेका छन् । उनीहरुले १९७५ मा सगरमाथाको उचाइ ८ हजार ८४८\ १३ मिटर र २००५ मा आठ हजार ८४४ \४३ मिटर रहेको उल्लेख गरेका छन् ।भारतीय सर्भेयरको सहयोगमा सगरमाथाको उचाइ पहिलोपटक सन् १९५० को दशकमा नापिएको थियो । त्यतिबेलादेखि हालसम्म सगरमाथाको आधिकारिक उचाइ ८ हजार ८ सय ४८ मिटर मानिएको छ ।

          सन् १९९९ मा अमेरिकाको नेश्नल जिओग्राफिक सोसाइटीले जीपीएसको सहायताले सगरमाथाको उचाइ ८ हजार ८ सय ५० मिटर रहेको निष्कर्ष निकालेको थियो । त्यसलाई नेपालले स्वीकार नगरेपछि सन् २००५ तिर चिनियाँ नापीको टोलीले सगरमाथाको उचाइ ८ हजार ८ सय ४४ मिटर रहेको र त्यसमा हिउँको उचाइ चार मिटरजति रहेको निष्कर्ष निकालेको थियो । सन् २०१० तिर फेरि सगरमाथाको उचाइ पुनः ८ हजार ८ सय ४८ मिटर नै हो भन्ने सहमति जुटाइयो । सन् २०१५ वि.सं. २०७२ मा नेपालमा आएको भूकम्पले सगरमाथाको उचाइ केही घटेको हुन सक्ने अनुमान पनि गरिएको छ । गत वर्ष जेठ महिनामा नेपालको नापी विभागको टोली सगरमाथाको उचाइ नापेर फर्कियो तर हालसम्म त्यसको रिपोर्ट सार्वजनिक गरिएको छैन ।

अनलाईन खबरबाट साभार 

प्रकाशित : २८ बैशाख २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६