ब्रेकिंग न्युज

कपिलवस्तुको सीमानामा २ हजार नेपाली अलपत्र : लकडाउन, सीमाना, र गैरजिम्मेवारी मुख्य समस्या



कपिलवस्तु , २९ वैशाख
    भारतले लकडाउन खुकुलो बनाए संगै कपिलवस्तुका सीमानामा २ हजार बढि नेपाली आइपुगेका छन् । नेपाल प्रवेश गर्न नपाएपछि उनीहरु दशगजामै अलपत्र अवस्थामा छन् । गृह मन्त्रालयले उनीहरुलाई नेपाल प्रवेश गराउने सम्बन्धमा अहिले सम्म कुनै निर्णय नगरेपछि ३ दिन यता उनीहरु सीमानामै छन् । केहिलाई स्थानीय सरकार, प्रहरीले सीमानामै खानपिनको व्यवस्था गरेको छन् भने केहि भोकै छन् । भारतबाटै आएकाहरुमा कोरोना देखिएपछि कपिलवस्तुमा थप सर्तकता अपनाइएको छ । कपिलवस्तुमा सोमबार विहान सम्म १५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ भने अझै २ सय जनाको स्वाव परिक्षण भइरहेको छ । जसको नतिजा बेलुकी सम्म आउने बताइएको छ । अहिले कपिलवस्तु र भारतको सीमानामा २ हजार बढि नेपाली रोकिएका छन् ।
शनिबार सम्म सीमानामा १३५५ जना रहेको र सोमबार विहान सम्म संख्या बढेर २ हजार १३७ जना पुगेका छन् । सीमानामै खानपिनको व्यवस्था स्थानीय तहले गरेको छ भने नेपाल प्रवेश गराउने वा के गर्ने भन्ने कुनै निर्णय गृह मन्त्रालयबाट आएको छैन । अहिले कृष्णनगर ४३०, भील्मी–कुशहवा ४८९, हरदौना ३०८, मर्यादपुर ४९३, चाकरचौडा २१९, हथिहवा १०६, विजयनगर ९२ जना नेपालीहरु अलपत्र अवस्थामा दशगजामै बसिरहेका छन् । भारतले लकडाउन खुकुलो बनाएसंगै रोजगारीका लागि भारत गएका नेपालीहरु आउने क्रम जारी छ । कपिलवस्तुमा एक साता अघि भारतबाट आएका ९४३ जनालाई जिल्लाका १० वटा स्थानीय तहले स्थापना गरेका क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा भएकाहरु मध्ये ४४३ जनाको स्वाब संकलन गरिएको थियो । जस मध्ये २४४ जनाको रिर्पोट आइसकेको छ । सोहि मध्ये १५ जना कोरोना संक्रमित भेटिएको थिए । अझै १९९ जनाको रिर्पोट आइसकेको छैन । संक्रमित तथा क्वारेन्टाइनमा बसेका सबै भारतबाट आएका नेपाली हुन् । विगतमा कोरोना संक्रमण नदेखिएको र सुरक्षित मानिएको प्रदेश ५ मा नेपालगंज पछि सबै भन्दा बढि कपिलवस्तुमा संक्रमित भेटिनुले थप शंका पैदा गरेको छ । विगतमा कपिलवस्तुमा भएका निम्न कमजोरीले यसको संख्या अझ वृद्धि हुने देखिन्छ ।

खुला सीमानाबाट प्रवेश :

भारत संग जोडिएको खुला सीमानाको फाइदा उठाउदै केहि नेपालीहरु अवैध मार्ग भएर प्रवेशश गरिरहेका छन् । जिल्लाको ९७ किमी लामो सीमाना शशस्त्र प्रहरीको ६५ वटा पोष्ट र नेपाल प्रहरीको १९ वटा प्रहरी चौकी खडा गरिएको छ । सीमाना लक गरिएको छ । शशस्त्र प्रहरीका १२ सय र नेपाल प्रहरीले ४ सय जनालाई खटाएको छ । तर पनि दैनिक २ सय बढि रातीको समयमा नेपाल प्रवेश गर्दछन् । उनीहरु क्वारेन्टाइ पनि बस्दैनन् र उनीहरुको कुनै जाँच र तथ्यांक समेत नरहेको स्थानीयबासीहरु बताउछन् । २३ गते सामूहिक रुपमा चोरबाटो नेपाल छिरेका १५५ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइन राखेको थियो । उनी मध्ये ५ जना मायादेवीमासंक्रमित भेटिएका थिए । सुरक्षा निकाय भने जनशक्ति अभावले समस्या थपिएको बताउछन् । सीमाना, क्वारेन्टाइन, लकडाउन व्यवस्थापन र स्वास्थ्यसामार्गी ओसारपसार सहित सम्भावित अपराध र सुरक्षाका लागि खटाउदा प्रहरी जनशक्ति अपुग भएको डिएसपी सुनिल मल्ल बताउनुहुन्छ ।

जनप्रतिनिधीको दबाब र अव्यवस्थित क्वारेन्टाइन :

केहि दिन अघि सम्म राहतका नाममा चर्चामा रहेका जनप्रतिनिधी अहिले सीमानामा फसेका आफ्ना मतदातालाई भित्राउन कस्सिएका छन् । केहि सफल पनि भएका छन् । उनीहरुले विना जाँच नेपाल भित्राएकाहरुलाई क्वारेन्टाइनमा राखिन्छ तर पहुँच भएका २४ घण्टामै घर जान्छन भने नभएकाहरु १४ दिन बस्छन् । क्वारेन्टाइन पनि व्यवस्थित छैन । एउटा कोठामा २० जना सम्म छन् । क्वारेन्टाइन बस्ने सबै एक आपसमा घुलिएर बस्छन् । मायादेवी पकडीमा रहेको क्वारेन्टाइनमा ५ जना संक्रमित संग त्यहाँका अधिकांश घुलिएका थिए तर उनीहरुको नयाँ स्वाव परिक्षण भएको छैन ।

 संघको उदासिनता, प्रदेशको वेवास्ता :

उदयपुर र नेपालगंजमा सरकारले जुन सर्तकता अपनाएको थियो कपिलवस्तुमा अहिले सम्म त्यो देखिएको छैन । संक्रमितहरु संग आएकाहरुको खोजी गरिएको छैन, क्वारेन्टाइनमा अहिले पनि ९४३ जना छन् तर जम्मा ४४३ को स्वाब संकलन गरिएको छ । मुख्य ७ वटा सीमानामा २ हजार बढि नेपाली अलपत्र छन् । विगत ३ दिन देखि खुला आकाशमा बसेका उनीहरुको स्वाब जाँच वा पिसिआर जाँच गरेर नेपाल ल्याउने कि भारतकै क्वारेन्टाइनमा पठाउने भन्ने सम्म निर्णय गरिएको छैन । प्रदेश सरकारले उनीहरुलाई आवश्यक सर्तकता सहित नेपाल प्रवेश गराउन निर्देशन दिएपनि प्रशासनले भने गृहको आदेश कुरेर बसेको छ । प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले गृहको निर्देशन नआए सम्म केहि गर्न नसकिने बताउनुहुन्छ ।

 ट्राभल हिस्ट्री निकाल्न ढिलाई :

सोमबार कपिलवस्तुको यशोधरा गाउँपालिकामा देखिएका ८ जना कोरोना संक्रमित एउटै गाउँका हुन् । १ साता अघि भारतको मुम्बइबाट आएका उनीहरु मध्ये केहि  घरबाट क्वारेन्टाइन आएका थिए भने केहि सिधै आएका हुन् । मायादेवीमा देखिएका ४ जना पनि एउटै गाउँका हुन् । उनीहरु मध्ये पनि केहि गाउँ गएर क्वारेन्टाइन पठाइएको स्थानीयबासीहरु बताउछन् । शुक्रबार मायादेवीको क्वारेन्टाइन शिल गरिएपनि त्यसको कुनै प्रभाव देखिएन भने संक्रमितहरुको ट्राभल हिस्ट्री र सम्पर्कमा आएकाहरुको पहिचान र खोजी निकै सुस्त रुपमा गरिएको छ । अहिले सम्म २ जना बाहेक १३ जनाको ट्राभल हिस्ट्री र सम्पर्कहरुको कुनै जानकारी प्रशासन संग छैन । ट्रेसिङ्ग कार्य भइरहेको बताइएपनि अहिले सम्म कुनै उप्लब्धि भने प्राप्त भएको छैन ।
            
     माथिका समस्याहरु तत्काल समाधान नगर्ने हो र लकडाउनलाई थप कडा नपारिने हो भने कपिलवस्तु देशकै कोरोना इपिसेन्टर बन्ने र यसबाट प्रदेश ५ का अधिकांश जिल्ला नराम्ररी प्रभावित हुने स्वास्थयकर्मीहरुकै भनाई छ ।

प्रकाशित : २९ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६