बरवा, १० जेठ । धर्मशास्त्रमा उल्लेखित प्राचीन भागीरथि नदी (बाणगंगा) को नामबाट नामाकरकण गरिएको कपिलवस्तुको बाणगंगा नगरपालिकाले अझै कोरोना भाइरस कोभिड–१९ को उपचारका लागि आइसोलेसन वार्डको टुङ्गो लगाउन सकेको छैन । सरकारले लकडाउन जिल्ला सिलले उपचारको तयारीको लागि प्रयाप्त समय पाइरहेको बताउँदै गर्दा कपिलवस्तुको बाणगंगा नगरले भने आइसोलेसन वार्ड कुन ठाउँ बनाउने भनेर रनभुल्लमा परेको छ । शुक्रबार विहान बाणगंगा–४, ठाकुरापुरकी ८ वर्षिय बालिकालाई कोरोना भाइरस पुष्टि भयो तर पुष्टि भएको २४ घण्टा भन्दा धेरै समय वित्दा पनि उनी घरमै छिन् । बाणगंगा ११ का सञ्चारकर्मीलाई भने शुक्रबार साँझ ९ः०० बजे तौलिहवाको आइसोलेशनमा लगिएको छ सिद्धार्थ क्याम्पसको क्वारेन्टाइमा रहेका ३ जनालाई अझै कहाँ लाने भन्ने टुङ्गो छैन ।
अहिलेसम्म बाणगंगामा १४ जना कोरोना संक्रमित फेला परेको पुष्टि भएको छ । आज शनिबार ८ जना नयाँ कोरोना संक्रमित फेला परेका हुन् । बाणगंगा नगरमै कोरोना संक्रमित ६ जना फेला परेपछि मात्र आइसोलेसन राख्ने ठाउँ खोज्न सुरु गरिएको थियो । वाणगंगा नगरपलिकाको दुई महिने कोरोना पूर्वतयारीमा प्रश्न चिन्ह खडा गरेको छ । जिल्लाकैसचेत र समृद्ध शिक्षा, स्वास्थ्यमै अगाडि भनेर नगरको पगरी गुथ्न मन पराउने नगरमै किन यस्तो भद्रगोल भनेर नगरवासीले प्रश्न गर्न थालेका छन् । स्थानीयले नगर समृद्ध बनाउन कर्मचारी र जनप्रतिनिधिमा नयाँ भिजन नदेखिएकाले पनि समस्या आएको आरोप लगाएका छन् ।
कतिपय मिडियामा रातारात बिरामीलाई पटना स्वास्थ्य चौकीमा सारियो भन्ने समाचार आएपछि प्रेसपाटीले पटना स्वास्थ्य चौकीका इन्चार्ज पर्शुराम थारुलाई सोध्दा थारुले पटना स्वास्थ्य चौकीमा आइसोलेनस वार्ड बनाउने भनेर कुरा आएको तर स्थानीयको विरोध गरेपछि त्यो सम्भव नभएको बताउनुभयो ।
बाणगंगाकै आइसोलेसन वार्डका सम्बन्धमा बाणगंगा–७ स्थित साना किसानको भवन केन्द्रित रहेर फेसबुकमा प्रदेश सांसद विष्णु पन्थी लेख्नु हुन्छ यो मानवीय संकट दुख र अपठेरोमा काममा आउन सकेको भए यो भवन र संस्थाको सान अनि मान कति उचो हुदो हो ? त्यो अबसर बाट चुकेका छौ । यस्को महसुस त कुनै दिन अबस्य हुने नै छ । कुनै चिजको ऐन मौकाले धेरै महत्व लिएर आउँछ जस्तो यो भवन ठिक्क बनेको र यता यस्तो संकट आएको बेला अर्थात यो संयोग । अहिले अपठेरोमा यस्को जे महत्व थियोे त्यो महत्व सायद अब कहिल्यै पाउनेछैन । म धेरै दुःखी भएको छु । सांसद पन्थीले भनेजस्तै अप्ठ्यारो सधैं आउदेन र आपतमा जुन महत्व हुन्छ पछि त्यसको महत्व हुँदैन ।
फेसबुकमै कपिलवस्तु उद्योग वाणिज्य संघका उमानाथ पौडेल लेख्नु हुन्छ हाम्रो बाणगङगामा आइसोलिसन राख्न कोही तयार नभए कपिलवस्तु उद्योग वाणिज्य संघको भवन दिदा कसो होला ? भनेर । वास्तवमै पौडेलले भने जस्तै बाणगंगा नगरपालिकाको अगिलतिर रहेको भवनमा नगरका जनप्रतिनिधि र कर्मचारीका आँखा किन पुगेनन । के बाणगंगामै आइसोलेसन वार्ड बनाउने ठाउँ नै छैन ?
आइसोलेसन वार्डका सम्बन्धमा बाणगंगा नगरपालिका मेयर मंगल प्रसाद थारुले आइसोलेन कहाँ बन्ने भन्ने अझै टुङ्गो नभएको र आज १०ः०० बजे मिटिङ्ग बसेर निर्णय गर्ने बताउनुभयो । बाणगंगा नगर स्वास्थ्य प्रमुख ठग प्रसाद पौडेलले बाणगंगाका ३ जना कोरोना संक्रमितलाई सिद्धार्थ क्याम्पसमा बनाइएको क्वारेन्टाइनमै राखिएको बताउनुभयो । पौडेले ३ जनालाई छुट्टै आइसोलेसनमा राखिएको प्रतिक्रिया दिनुभयो । नगरकै स्वास्थ्य प्रमुखलाई आइसोलेसन भनेको कस्तो हुनुपर्छ भन्ने पूर्ण ज्ञान नहुनु हास्यास्पद हो ।
के हो ’आइसोलेसन वार्ड’ ? कस्तो हुनुपर्छ ?
अरू बिरामीसँग नजिक राख्दा वा स्वस्थ व्यक्तिको सम्पर्कमा रहँदा भाइरस झन् फैलिन सक्ने भएकाले अलग–थलग उपचार गर्नुपर्ने ठाउँ हुनुपर्छ । कुनै रोग बिरामीलाई छोएर, नजिक बसेर वा एउटै कोठामा बस्दा पनि सर्ने सम्भावना धेरै हुन्छ । यस्तो अवस्थामा बिरामीलाई निश्चित मापदण्ड पुगेको छुट्टै कोठामा राखेर उपचार गर्नुपर्छ । यही विधिलाई आइसोलेसन भनिन्छ ।
यस्तो वार्डमा तालिमप्राप्त स्वस्थ्यकर्मी र बिरामीबाहेक अरूलाई प्रवेश निषेध हुन्छ । वार्डभित्रको वातावरण विशेष किसिमको पूर्वाधारबाट तयार पारिन्छ । ’यो खासगरी सरुवा रोगका लागि प्रयोगमा ल्याइने युनिट हो,’ अन्तर्रा्ष्ट्रिय अभ्यासमा ‘बाहिरी मुलुकमा उक्त वार्डमा प्रयोग गरिएका मेडिकल सामग्री दोहोर्याएर प्रयोग गरिँदैन ।’
एउटै रोग लागेका बिरामी उस्तै चरणमा छन् भने एउटै आइसोलेसन वार्डमा राखेर उपचार गर्न सकिन्छ । किनकि, भर्खरै रोग निको भइरहेको व्यक्तिलाई तत्काल संक्रमणको सम्भावना कम हुन्छ ।’
नेपालजस्तो देशले अन्तर्राष्ट्रिय मापदण्डअनुसार पूर्वाधार तयार पार्न छैन । दिसा, पिसाब, थुक, खकारबाट सर्ने रोगका लागि फरक मापदण्डका पृथक वार्ड हुनुपर्छ । स्वासप्रश्वासबाट सर्ने रोगका लागि फरक तरिकाले तयार पारिन्छ ।
बाणगंगा नगरले नगरवासीको स्वास्थ्यमा गम्भीर र सचेत रहँदै नगरले जतिसक्दो चाडो कोरोना भाइरसको उपचारको लागि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुपको आइसोलेसन वार्ड बनाएर जनताको स्वास्थ्यमा सजग रहनु जनप्रतिनिधि र कर्मचारीको साझा दायित्व हो ।
प्रतिक्रिया