बुटवल, १३ जेठ । विश्वमा कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि सुरु भएको लकडाउनको ५४ दिनसम्म आइपुग्दा नेपालमा महिला तथा बालिकामाथि भएका हिंसाका घटनामा ५ सय २ जना पीडित भएको इन्सेकले जनाएको छ । इन्सेकले देशका ७७ वटै जिल्लामा लकडाउनको सुरू दिन ०७६ चैत ११ गतेदेखि ०७७ जेठ ३ गतेसम्मको अवधिमा अभिलेख गरिएको तथ्याङ्कलाई सार्वजनिक गरेको प्रतिवेदनमा सो तथ्याङ्क उल्लेख गरिएको छ ।
अभिलेख सार्वजनिक गर्दे लकडाउनको यो अवधिमा परिवारजनबाट २३ जना महिलाको हत्या भएका घटना अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले अभिलेख गरेको जनाएको छ । त्यसैगरी सो अवधिमा घरेलु हिंसाका घटनाबाट २ सय ३९ जना पीडित भएको इन्सेकले जनाएको छ ।
यो अवधिमा बलात्कारका घटनामा ६४ जना महिलासहित १ सय ६९ जना, बलात्कार प्रयासका घटनामा २० जना महिला, यौन दुव्र्यवहारका घटनामा ४६ जना बालिकासहित ५१ जना पीडित भएको इन्सेकको प्रतिवेदनमा अभिलेख छ । यो अवधिमा सबैभन्दा बढी बागमती प्रदेशमा १ सय ५४ जना र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २२ जना महिला तथा बालिका पीडित भएको प्रतिवेदनमा भनिएको छ– लकडाउनका कारण कतिपय घटना सार्वजनिक नभएको वा प्रहरीसम्म नपुगेको पनि हुन सक्छ ।’
प्रतिक्रिया