चन्द्रौटा १६ जेष्ठ । कपिलवस्तुको शिवराज नगरपालिका –३ मा रहेको चनई स्वास्थ्यचौकीमा कार्यरत जीतबहादुर बिसी खरेन्द्रपुरमा रहेको सुपादेउराली क्वारेन्टिनमा खटिनुभएको छ । घरबाट पाँच मिनेटको दूरीमा रहेको क्वारेन्टिनमा उहाँ बस्नुभएको छ । क्वारेन्टिनमा रहेका तीन जनालाई कोरोना संक्रमण देखिएपछि स्वास्थ्यकर्मीको जेठ ५ गते आरटिडी गरियो । नगरका अन्य स्वास्थ्यकर्मीको नेगेटिभ आए पनि बिसीको भने पोजेटिभ आयो । उहाँमा केही पनि लक्षण नदेखिएको र साथीभाइसँग घुलमिल रहेकाले त्रास बढ्यो । घरमा एक वर्षको छोरा भएका कारण संक्रमणको जोखिमले गर्दा उहाँ क्वारेन्टिनमा बस्नुभएको हो । आरडिटीले उहाँलाई मानसिक तनाव बढे पनि आत्मबल भने घटेको थिएन । आरडिटी भरपर्दो नलागेपछि उहाँले जेठ ७ गते पिसिआर परीक्षणका लागि स्वाब दिनुभयो ।
स्वाबको रिपोर्ट आउन चार दिन लाग्यो । यी दिनमा उहाँको परिवारले समाजबाट दुव्र्यवहार सहनुप¥यो । “दैनिक रुपमा दूध ल्याउनेले ल्याउन छाडे, पसलमा जाँदा सामान छैन भनेर टाढै बस्न लगाइयो” बिसीले दुखेसो पोख्नुभयो”, “अहिले पिसिआर जाँच रिपोर्ट नेगेटिभ आयो तर पोजेटिभ आएको भए समाजमा बस्न गाह्रो हुँदोरहेछ । ”स्वास्थ्यकर्मीले अहिले जोखिममा काम गरे पनि समाजले हेर्ने दृष्टिकोण नकारात्मक रहेको उहाँको भनाइ छ । “यसरी समाजले दुव्र्यवहार गर्नु कदापि राम्रो होइन ”, उहाँले भन्नुभयो, “म त स्वास्थ्यकर्मी हो, मैले बुझेको छु । सामान्य नागरिक भए अझै यहाँका नागरिकले समाजबाट निकाल्दा रहेछन् । ”
स्वास्थ्यकर्मी लेखनाथ पौडेलल अहिले नेपाल आदर्श माविको क्वारेन्टिनमा खटिनुभएको छ । । उहाँ कार्यालयबाट चार किलोमिटरको दूरीमा रहेको घरमा नगएको १४ दिन बित्यो । घर जान उहाँलाई डर छ । क्वारेन्टिनमा रहेका नागरिकको स्वास्थ्य हेरचाह र खानाको निरीक्षण गरिहनुभएका पौडेल परिवारले पिपिई सेट लगाएर मात्रै घरमा आउन अनुरोध गरेको बताउनुहुन्छ । छोरा र श्रीमतीले पटकपटक आउन भने पनि आफू सुरक्षाका लागि नगएको उहाँको भनाइ छ ।
उहाँको दिनचर्या अहिले क्वारेन्टिनमै बित्ने गरेको छ । “बिहानदेखि साँझसम्म क्वारेन्टिनमा रहन्छौँ । मसँगै पाँच जना छाँै, खाना पकाउनेहरु पनि घर जानुहुन्न, म र केही स्वास्थकर्मी विद्यालयमै बस्ने गरेका छौँ,” पौडेलले भन्नुभयो, “पहिले बिहान खाजा खाएर अफिस आउने अनि दिउँसो समय मिलाएर खाना जान्थेँ तर अहिले मलाई देख्दा परिवार र समाजका व्यक्तिले असुरक्षित महसुस गर्ने भएकाले यहीँ बस्छु । ” भारतबाट आएका नागरिकमा कोरोना संक्रमण देखिएको र ती क्वारेन्टिनमा पनि नै रहने भएकाले संक्रमणको जोखिम रहेको पौडेलले बताउनुभयो ।
कोरोना परीक्षणका लागि नागरिकको स्वाब लिने काम गरिरहनुभएका स्वास्थ्यकर्मी अनन्त आचार्यको पीडा झनै बढी छ । नगरका सबै ठाउँमा पुगेर स्वाब लिने काम गर्नुभएका आचार्यको परिवार चिन्तित छ । ”पेशालाई सम्मान गर्दै सुरक्षित भएर काम गरेको छु”, आचार्यले भन्नुभयो , “परिवारले काम छाडेर घर आउन भन्छन्, तर मैले आत्मबल बढाएर काम गरेको छु, स्वाब संकलन आफैँमा असुरक्षित काम हो तर यो समयमा मैले गर्नैपर्छ । ”
परिवार र छिमेकीले असुरक्षित महसुस गर्ने भएका कारण परीक्षण शुरु भएदेखि नै आफू घरमा नगएको उहाँले बताउनुभयो । “पहिले दैनिक घरबाट आउनेजाने गरेको थिएँ, अहिले यतै क्वारेन्टिनमै बस्छु”, उहाँले थप्नुभयो, “आत्मबल बढाएर सर्तक रहेमा केही हुँदैन ।
प्रतिक्रिया