लुम्बिनी

प्रदेश ५ को चुनौतीः कोरोना परीक्षणको दायरा बढाउन नसक्नु



बुटवल, १९ जेठ ।  प्रदेश नं ५ मा कोभिड –१९ को संक्रमण दर बढ्दै जाँदा यसको परीक्षणमा चुनौती देखिएको छ । प्रदेशमा हाल बाँकेको भेरी अस्पताल, दाङको राप्ती विज्ञान स्वास्थ्य प्रतिष्ठान र रुपन्देहीको भैरहवा गरी तीन स्थानमा कोरोना परीक्षण प्रयोगशाला सञ्चालनमा छन् । प्रदेश सरकारका सामाजिक विकासमन्त्री सुदर्शन बरालले आज राष्ट्रिय मानवअधिकार आयोगको प्रदेशस्तरीय कोभिड– १९ मा मानवअधिकार अनुगमन समितिको साप्ताहिक भर्चुअल बैठकमा प्रदेशमा कोरोना परीक्षणको दायरा बढाउन नसक्नु सबैभन्दा चुनौती देखिएको बताउनुभयो । यी प्रयोगशालाले समेत परीक्षणको दायरा बढाउन नसक्दा अहिले चार हजार ३९८ संकलित स्वाब परीक्षणका लागि लाइनमा रहेको बैठकमा आज पहिलो पटक सहभागी हुनुभएका मन्त्री बरालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘परीक्षणको दायरा बढाउन लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अर्को प्रयोगशाला सञ्चालन गर्दैछौँ ।’

            प्रदेशमा आज अपराह्नसम्म १५ हजार ६२९ जनाको परीक्षण गरिएकामा ६११ को  नतिजा पोजेटिभ देखिएको र १० हजार ६२९ नेगेटिभ देखिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा उमाशंकर चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘यो तथ्याङ्क हरेक घण्टामा अपडेट हुन्छ ।’ प्रदेश नं ५ का १२ जिल्लामध्ये संक्रमणको सबैभन्दा उच्च जोखिममा कपिलवस्तु देखिएको छ  जहाँ  ३०८ संक्रमित देखिएका छन् । यो तथ्याङ्क प्रदेशको कुल संक्रमितको झण्डै ५० प्रतिशत हो । यस्तै जिल्लागत रुपमा दोस्रोमा बाँके छ जहाँ १८९ संक्रमित छन् । यस्तै रुपन्देहीमा ५०, दाङमा ३६ र  बर्दियामा १० संक्रमित छन् । प्रदेशका पहाडी जिल्लामा पनि पछिल्लो समयमा संक्रमित देखिन थालेका छन् । गुल्मीमा कोरोना संक्रमण भएका एक शिक्षकको रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । गुल्मीमा गाउँपालिका प्रमुख नै कोरोना संक्रमित छन् । यसबाहेक अन्य दुई गरी गुल्मीमा चार संक्रमित फेला परेको स्वास्थ्य महाशाखा प्रमुख  चौधरीले जानकारी दिनुभयो ।

        यस्तै अर्घाखाँची,  रुकुम (पूर्व) र पाल्पामा तीनतीन एवं नवलपरासी९बर्दघाट सुस्ता पश्चिम०मा एक संक्रमित पत्ता लागेको  तथा प्युठान र रोल्पामा संक्रमण नदेखिएको जनाइएको छ । प्रदेशमा हालसम्म गुल्मीका शिक्षकसहित भारतबाट फर्कँदै गरेका अर्घाखाँचीका एक र बाँकेको नरैनापुरको क्वारेन्टिनमा बसेका एक युवकसहित तीन जनाको ज्यान गएको छ ।

        यस्तै प्रदेशमा संक्रमितसँंगै कोरोना संक्रमणलाई जितेर घर फर्कने पनि उत्साहजनक रहेको मन्त्री बरालले बताउनुभयो । आज मात्र भैरहवास्थित भीम अस्पतालमा भर्ना भएका २५ संक्रमित निको भएर एकैपटक घर फर्किए । यससँगै प्रदेशका चार स्थानका कोरोना उपचार विशेष अस्पताल र कपिलवस्तुस्थित जिल्ला अस्पतालको आइसोलेशनबाट  एक स्वास्थ्यकर्मीसहित ७५ जना निको भएर घर फर्किएका छन् । उहाँले संक्रमितमध्ये झण्डै ९९ प्रतिशत लक्षण नदेखिने बिरामी रहने गरेकाले आइसोलेशनमा राखेर उपचार गर्दा  निको हुने गरेको बताउनुभयो । 

        उहाँका अनुसार प्रदेश सरकारले अहिलेसम्मको संक्रमण दरको अवस्थानुसार संक्रमितलाई उपचारका लागि राखिने आइसोलेसन कक्षमा एक हजार पाँच सय शय्या रहेको र तिनमा संक्रमितको लक्षणअनुसार राख्ने गरिएको छ । उहाँले संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मी जनशक्ति पर्याप्त  रहेको तथा प्रदेश सरकारले संघीय सरकारको अनुमतिमा प्रदेशका चार मेडिकल कलेजमा सरकारी छात्रवृत्तिमा एमबिबिएस तथा एमडी अध्ययनरत विद्यार्थीको तथ्याङ्क तयार गर्ने काम गरिरहेको र आवश्यक परेमा परिचालन गर्ने सरकारको योजना रहेको जानकारी दिनुभयो ।

        बैठकमा प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले  ठिमाहा जातको बीउ प्रयोग गर्ने र भारतीय बजारको भर पर्ने परम्पराले अहिले समस्या देखिएको बताउनुभयो । उहाँले नेपाल कृषि अनुसन्धान परिषद्ले सिफारिस गरेका धानको बीउ उपलब्ध गराउने कार्यमा मन्त्रालयबाट समन्वय भइरहेकोसमेत जानकारी दिनुभयो ।

        मन्त्री पौडेलका अनुसार कोभिड –१९ का कारण प्रदेश सरकारले कृषि एम्बुलेन्समार्फत कृषकको तरकारी बजारसम्म पु¥याउने व्यवस्था मिलाएको छ । उहाँका अनुसार प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमा विदेशबाट रोजगारी गुमाएर स्वदेश फर्किएका नागरिकका लागि गाउँघरका बाँझो जग्गामा व्यावसायिक कृषि कार्यक्रम ल्याउने  तयारी गरिएको छ ।

        उहाँले किसानले उत्पादन गरेको कृषि उपजलाई  सहकारीमार्फत बजारीकरणको व्यवस्था मिलाउने योजनासमेत रहेको बताउनुभयो । मन्त्री पौडेलले विगतको अनुदानको ढांँचामा परिवर्तन गरी खेती गर्न चाहनेलाई भाडामा जग्गा उपलब्ध गराउने तथा कृषि ऋणमा ब्याज अनुदान र कृषि उत्पादनमा आधारित अनुदान जस्ता कार्यक्रम सरकारले ल्याउने जानकारी पनि दिनुभयो ।

        बैठकमा राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नंं ५ का निमित्त प्रमुख इन्द्रजित सहनीले प्रदेशमा बन्दाबन्दीमा मानवाधिकारको अवस्था र प्रदेश सरकारले संक्रमण नियन्त्रणका लागि गरेका प्रयास, नागरिकलाई प्रदान गरिने सेवासुविधालगायत विषयमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । समितिका सदस्य नेपाल बार एशोसियशन प्रदेशका  अध्यक्ष सुनिल श्रेष्ठ, अनौपचारिक क्षेत्र सेवा केन्द्र९इन्सेक० का प्रदेश संयोजक भोला महत, नेपाल पत्रकार महासंघ प्रदेशका उपाध्यक्ष भरत केसी र  गैरसरकारी संस्था महासंघ प्रदेश अध्यक्ष गोविन्द रेग्मीले कोभिड –१९ जोखिम र बन्दाबन्दीमा मानवअधिकार उल्लंघन र यसको संरक्षणका विषयमा सरोकार निकायको ध्यानाकर्षण गराउनुभएको थियो । (रासस)

प्रकाशित : १९ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६