काठमाडौं, २२ जेठ । पटक–पटक लम्बिएकोलकडाउनले नागरिकको जीवन कठिन बन्दै गएको छ ।लामो समयदेखि जारी लकडाउनले नागरिकको आर्थिक क्रियाकलाप ठप्प हुँदा दैनिक गुजारा असहज बन्दै गएको छ । नागरित्र स्वतःस्फूर्त रुपमा लकडाउन उल्लंघनका लागि तयारी हुन थालेपछि लकडाउन खुकुलो बनाउनु पर्ने दवावमा परेको सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि जारी गरेको लकडाउनको मोडालिटी परिवर्तन गर्ने सोंचमा पुगेको छ ।
लकडाउनको मोडालिटीबारे निर्णय गर्न आज बिहीबार अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक डाकिएको छ । आज बस्ने मन्त्रिपरिषद बैठकले लकडाउनबारे निर्णय गर्नसक्ने एक मन्त्रीले जानकारी दिएका छन् ।लकडाउनका कारण थप समस्या सिर्जना हुन नदिन प्रधानमन्त्री चिन्तित रहेको र यसको विकल्प समेत खोजी भइरहेकाले त्यसबारे निर्णय हुनसक्ने उनले बताएका छन् । हिजो बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको मोडालिटी र अपनाउनु पर्ने सतर्कताका विषयमा विज्ञहरुसँग छलफल समेत गरेका छन् ।सो छलफलमा विज्ञहरुले पनि जोखिमका स्थानहरुको मूल्याङ्कन गर्दै नागरिकको आर्थिक जीवनलाई क्रियाशिल गराउनु पर्ने सुझाव दिएका छन् । यसअघि उच्चस्तरीय समितिको बैठकमा पनि यसबारे सामान्य छलफल भइसकेकाले आजको बैठकले लकडाउन मोडालिटीमा हेरफेर गर्नसक्ने जनाइएको छ ।
सरकारले पछिल्लो पटक आगामी जेठ ३२ गतेसम्मका लागि लकडाउन लम्ब्याएको छ । चैत ११ यता लगातारको लकडाउनले मानिसहरुको जनजीवन प्रभावित हुनुका साथै आर्थिक गतिविधिमा समेत असर गरेकाले यसको मोडालिटी परिवर्तन गर्न सर्वसाधारणको माग र विज्ञहरुको सुझाव रहँदै आएको छ ।यसै विषयमा प्रधानमन्त्री ओलीले बुधबार साँझ विज्ञहरुसँग ५ घण्टा परामर्श गरेका थिए । परामर्शमा स्वास्थ्यविद, अर्थविद, योजनाविद् लगायतले लकडाउनको मोडालिटी परिवर्तन गर्न प्रधानमनत्री ओलीलाई सुझाव दिएका थिए ।
‘सामाजिक दूरी कायम गरेर उद्योग र पसल खोल्छौं’
नेपाल राष्ट्रिय व्यवसायी महासंघले सामाजिक दूरी कायम राखेर आजदेखि देशैभरका पसल खोल्ने भएको छ ।महासंघले बुधबार साँझ एक विज्ञप्ति जारी गरी ७२ दिनदेखि जारी बन्दाबन्दीका कारण उद्योग तथा व्यवसाय ठप्प हुँदा घरभाडा, बैंकको किस्ता, कर्मचारीको तलब भुक्तानीमा समस्या परेको भन्दै आजदेखि दैशैभरका उद्योग तथा पसल खोल्ने निर्णय गरेको हो । महासंघका अध्यक्ष नरेश कटुवालले मुलुकमा जारी बन्दाबन्दी खोल्नेबारे सरकारले अहिलेसम्म कुनै तदारुकता नदेखाएकाले उद्योगी व्यवसायी व्यवसायबाट पलायन र रोजीरोटी गुम्ने खतरालाई मध्यनजर गर्दै पसल खोल्ने निर्णय गरेको जानकारी दिए ।‘बन्दाबन्दीका कारण समस्यामा परेका उद्योगी व्यवसायीलाई सरकारले कर तिर्न ताकेता गरिरहेकाले हामी बाध्य भएर पसल खोल्ने निर्णयमा पुगेका हौं’, उनले भने ।महासंघले विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्ड सामाजिक दूरी कायम राखी पञ्जा, मास्क र स्यानिटाइजरको प्रयोग गरी पसल सञ्चालन गर्ने बताएको छ ।
प्रतिक्रिया