नेपालको कम्युनिष्ट आन्दोलनलाई नजिकबाट नियाल्ने र अध्ययन गर्नेहरुलाई थाहा भएको कुरा हो कि ०६ सालमा स्थापना भएको कम्ुयनिष्ट पार्टी ०७७ सालसम्म आइ पुग्दा धेरै आरोह अबरोह पार गरेको छ । कलकत्तामा ५ जना मिलेर स्थापना भएको कम्युनिष्ट पार्टी यतिबेला देशको प्रमुख पार्टीको रुपमा जनताबाट निर्वाचित छ । कम्युनिष्ट पार्टीको पूर्ण बहुमतको केन्द्रीय संघीय सरकार छ, ७ मध्ये ६ प्रदेशमा कम्युनिष्ट पार्टीको सरकार छ ,अधिकांश स्थानीय निकायमा पनि कम्युनिष्ट पार्टीको नै स्थानीय सरकार छ ।
कम्युनिष्ट सरकार ,सर्वहाराको सरकार ,गरिब मेहनतकस जनताको सरकार बनेको छ ,जनतामा आशा उत्साह ,खुशी हुनु स्वभाविक थियो, स्वभाविक छ । कम्युनिष्ट पार्टी सरकारमा मात्र छैन , सरकार बाहिर पनि मत छ यतिसम्म कि अहिलेको सरकारको विपक्षमा ,व्यवस्थाको विपक्षमा सडकमा छ , जंगलमा पनि कम्युनिष्ट पार्टी छ । यति ठूलो जनमत ,यति ठूलो समर्थनमा हुर्किएको नेपालको कम्युनिष्ट पार्टी ,कम्युनिष्ट नेताहरुले हाँकेको कम्युनिष्ट आन्दोलन अहिलेको अवस्थामा पुर्याउनका लागि ,यो उचाइमा पुर्याउनका लागि जनतामा जुन आशा देखायो, जुन सपना देखायो ,जुन भावना जागृत गरायो , आन्दोलनमा होमिन पे्ररित गरायो ,युद्धमा होमिएर ज्यान दिन तयार गरायो त्यो नेतृत्वलाई सम्मान नगर्नेहरुले नेपालको कम्युनिष्ट पार्टी वा समूहको सदस्य भन्ने अधिकार पनि छैन तर हिजो यो उचाइमा पुर्यान योगदान दिने अहिले नेतृत्वमा रहेका नेताहरुको योग दानको कदर गर्दै दिवंगत नेताहरुको सम्मानको लागि ,जुन वर्गको उत्थानको लागि भनिएको कम्युनिष्ट आन्दोलनमा इमान्दारिता देखाउने हो भने हामी कहाँ चुक्यौं ?
कहाँ विरायौं ?अथवा बाटो बिरायौं कि वर्गघात गर्यौं ? सिद्धान्तमा चुक्यौं कि ब्यबहारमा ? हामी जनवाद संस्कृतिलाई बढवा दिइरहेका छौं कि धनवादी ?आन्दोलन र युद्धमा होमिनका लागि प्रेरित गराएको प्रतिबद्धता तथा कार्यव्रmता एवं जनतासँग खाएको कसम ,देखाएको सपना ,बताएको बाटो छोड्यौं कि बिर्सियौं अथवा हाम्रो समग्र गतिविधि जनताको नजरमा असल कि खराब ? त्यसको लेखाजोखा हुनु आवश्यक छ ?
प्रजातन्त्रको परिभाषा जतिले दिएपनि प्रजातन्त्र केवल सत्तामा पुग्ने र सत्तामा टिकी रहने निश्चितवर्गको स्वार्थको लागि हो भन्ने कुरा देखिएपछि त्यसको विकल्पको रुपमा जनवादको कल्पना गरिएको हो । जनवाद केवल भजाउनका लागि ,देखाउनका लागि र सत्तामा पुग्न ,सत्तामा टिक्नटिकाउनका लागि होइन । जनवाद व्यबहारमा देखिनु पर्छ ,नेता नेतृत्वको व्यवहारमा हुनु पर्छ ,जनवादी संस्कार , संस्कृति ,व्यबहार ,विचार , चिन्तन ,कला, साहित्य ,गीत ,संगीत ,खानपिन सबै तिर देखिनु पर्छ । व्यबहारमा लागु गर्न नसक्ने ,फोस्रो आश्वासन र प्रवचन मात्र दिने काम अहिले बढी देखिएको छ । कम्युनिष्ट सिद्धान्तको बारेमाअघिल्लो पुस्ताले मनग्य अध्ययन गरेको होला ?पछिल्लो पुस्ताको लागि कति वातावरण छ, कति उत्प्रेरणा छ ? सबैलाई अनुभुति भएकै छ । जनवादी साहित्य , जनवादी कला, गीत संगीत,संस्कृतिलाई जीवनको अभिन्न भागको रुपमा लिने नेपालका कम्युनिष्टहरुले माक्र्सवादी साहित्यको अध्ययनलाई यति बेला आवश्यकता भन्दा बाहिरको कुरा मानिएको छ ।
जनवादी गीत ,गरिबको मुक्तिका गीत अझ भनौं गरिबले गरिबलाई गर्नु पर्छ माया भन्ने गीत गुञ्जाउने जमात अहिले कता सेलायो अथवा नेतृत्व गरिब वर्गबाट धनी वर्गमा परिणत भयो त्यसको सर्वेक्षण त होला नै कुनै बेला सयौं कलाकारहरु परिचालित हुने जनतामा चेतना जगाउने काम भयो तर अहिले चेतनाको आवश्यकता भोटमा केन्द्रित भएको देखिन्छ । जनतामा साँस्कृतिक चेतना जगाउने काममा तत्कालिन शासकहरुले साँस्कृतिक कार्यव्रmममा नै हमला भएका धेरै उदाहरण छन् । आज कलाकारको भुमिका सस्ता र बिकाउ अश्लिल गीत गाउने अनि चुनावको बेला भोट हालौं बरिलै भन्ने मात्र भयो । व्रmान्ति सम्पन्न भयो ,व्यवस्था फेरियो ,कम्युनिष्ट पार्टीले सरकारको नेतृत्व गरेको छ तर लाखौंको लागि उजाड छ यो देश मुठ्ठी भरलाई त स्वर्ग छ गीतको मर्म उस्तै देखिन्छ ।
भौतिकवादमा विश्वास गर्ने पार्टी सदस्य नेता कार्यकर्ताको नेतृत्वमा गरिब वस्तिलाई परिवर्तनका योजना भन्दा धार्मिक कार्यमा वजेट छुट्याउन तछाडमछाड हुन्छ ,यसलाई नेतृत्वले कसरी लिन्छ ? वm्रान्तिका धुँवाधार गफ हाँके पनि हामीमा जनवादी चरित्रको खडेरी देखिन्छ । कुनैबेला जनवादी शिक्षाको निकै चर्चा भयो तर त्यसको खाका कतै भेटिएन । युद्धकालमा सामुयिक खेति र कम्युनको चर्चा धेरै सुनियो तर त्यसको नमुना कतै देख्न सकिंदैन । व्यक्तिगत सम्पत्ति कमाउनेलाई कम्युनिष्टको रुपमा नमान्ने माओको विचारलाई अहिलेको चिनिया नेतृत्वले समेत पछ्याएको देखिन्छ तर नेपालमा माओवादी भन्नेहरुको नै सम्पत्ति कमाउनमा नै होडबाजी चलेको यथार्थ छिपेको छैन ,यसो भनिरहँदा अन्य पृष्ठभुमिबाट कम्युनिष्ट आन्दोलनमा लाग्नेहरुलाई चोख्याउन खोजिएको होइन ।
समूह र पृष्टभुमि जे भए पनि चरित्र उस्तै छ । कमाउने कुरामा मात्र होइन आजभोलि त देखाउने काममा पनि झन ठूलो प्रतिस्प्रधा चलेको छ । छोराछोरीको जन्म दिनमादेखि चाडपर्वमा ठूलो खर्च गरेर छिमेकीको मेख मार्नु त आधुनिक जमानाका कम्युनिष्टको विशेषता बनेको छ । कुनै बेला जनवादी विवाहलाई उदाहरणीय र आदर्श जोडी बताउनेहरुले अहिले आफ्ना छोराछोरीको विवाहमा धेरै खर्च गर्न सकेकोमा गर्व गर्छन् । दाइजोको विरोधमा आवाज उठाउनेहरुले नै आफ्ना छोराछोरीको विवाहमा २०,३० लाखको खर्चले नपुग्ने बताउँछन् । राज्यकोषको दुरुपयोग, अनियमिता, प्राकृतिक स्रोतमाथि कब्जा गरेर अतुक सम्पत्ति कमाएकाहरुले गरेको सामाजिक सहयोगलाई महान कामको रुपमा प्रचार गर्ने र अनियमिततालाई चोख्याउने काम नेतृत्वले गरपछि समाजमा इमान्दारहरुको अस्तित्व कसरी जोगिन्छ ? यसबाट हामीले हाम्रो समाजलाई के गराउँदै छौं ? प्रष्ट हुन्छ ।
पदमा भएको बेला, मौका आएको बेला जसरी पनि कमाउन उद्दत हुने हामी मध्ये कति छौं ? यतिबेला कसैले सादा जीवन ,सरल जीवन ,आर्थिक रुपमा पारदर्शीको कुरा उठेमा मौका नपाएका वा कमाउने हिम्मत नभएका भन्दै खिसीको पात्र बन्नु पर्छ । यसो भनिरहँदा आफू पदमा भएर पनि अनियमितताको प्रश्नमा दाग नलागेका आदरणीय कमरेड स्वर्गीय मनमोहन अधिकारी ,भरतमोहन, साहना प्रधान आदिको योगदानलाई अहिलेको पुस्ताले अपमान गर्यो कि ? सोंच्ने बेला भएको छ । सादाजीवन,सादागीखाना, सरल व्यबहार, जनतासँगको गहिरो सम्बन्ध भन्दै प्रशिक्षण दिने कमरेडहरुको विलासी र आडम्बरपूर्ण दिनचर्याको बारेमा चर्चा गरेर समर्थक शुभचिन्तकहरुको मन दुखाउने र जग हँसाउने काम त किन गर्नु पर्यो र ?तैपनि एउटा आदर्श बोकेर कम्युनिष्ट आन्दोलनमा नै जीवन बिताउनेहरुको लागि आफैसँग प्रश्न गर्ने बेला भएको छ ।
के गर्न आन्दोलनमा लाग्यौं ,आन्दोलनबाट गरिब दुःखी जनतालाई के दियौं ? के गुमायौं ? यसबाहेक धेरै कम्यनिष्ट आन्दोलनका असंगत पक्षहरु छन् जसलाई सार्वजनिक रुपमा भन्न अलि अप्ठ्यारो छ , लोकतन्त्र त हो हामीले पार्टी भित्र कति लोकतन्त्र कायम गरेका छौं ? आन्तरिक जनवाद कति मौलाएको छ ,सयौं फूल फुल्न देऊ, सयौं विचार मौलाउन देऊ भन्ने कुराको भनुभुति कति छ ? सबैले भोगेको कुरा हो । सत्य बोल्नको लागि पनि सानालाई कानुन लाग्न सक्छ अथवा अनुशासनहीनको बात लाग्न सक्छ तर यी कुरा धेरैका मन मस्तिष्कमा छन् ।
दुनियालाई परिवर्तन गर्न सजिलो छ तर आफैलाई परिवर्तन गर्न कठिन छ । सामन्तवाद बोलीमा ,व्यबहारमा, चरित्रमा ,संस्कार र संस्कृतिमा देखिने कुरा हो । कम्युनिष्ट आन्दोलनको उद्गम स्थलको रुपमा चर्चा हुने रुकुममा घटेको घट्ना जातीय उत्पिडन र नरसंहारको घटना त हो नै त्यो भन्दा पनि वर्गीय एवं जातीय मुक्तिको लागि नेतृत्वले दिएको प्रशिक्षणको कमजोरी र चेतनाको स्तरलाई छताछुल्ल पारेको घटना पनि हो । सामन्तको कुचाल यो भ्रष्ट रीत पूँजीको ….गीतको मर्म बुझाउन सकेको भए यस्ता घटना कम हुने थिए कि ? समाजमा वर्गीय,जातीय लैंगिक विभेद रहेसम्म र चेतनाको स्तर नउठेसम्म यस्ता समस्या बल्झि रहन्छन् ।
खासमा त नेतृत्वमा रहनेले सामन्तवादी चरित्र कायम राखेर समाजको चरित्र जनवादी हुँदैन ,पानी र बानी मुहानबाट नै शुद्ध हुनु पर्छ । नेतृत्व पद ,पैसा र प्रतिष्ठामा पैठेजोरी खेल्ने जनताको जीवन स्तर र चेतना स्तरमा सुधार नहुने हो भने वर्लिनको पर्खाल भत्कियो,लेनिनको सालिक ढल्यो, पश्चिम बंगालमा २५ बर्षको कम्युनिष्ट शासन हरायो भने भोलि नेपालको स्थिति नआउला भन्न सकिन्न । सामन्तवादका हरेक तिगडमलाई कायम राखेर जनवाद कायम हुँदैन , नारीपुरुष,दलित गैह्र दलित, मधेशीपहाडी ,आर्यमंगोल ,हिन्दुमुसलमान आदि विभाजनका कुरा त सामन्तवादका विभेदका पदावलीको पछि दगुरेर जनवादका गफहाँक्नु हाँस्यास्पद कुरा हो । देशको प्रमुख कम्युनिष्ट शक्तिले मदन भण्डारी द्वारा प्रतिपादित बहुदलीय जनवाद,एक्काइसौं शताब्दीको जनवाद जे मार्गदर्शन भने पनि नेपालको कम्युनिष्ट आन्दोलनमा मदन भण्डारी र जीवराज आश्रितको योगदानलाई कसैले नकार्दैन । कम्युनिष्ट आन्दोलनमा देखिएको विसंगतिपूर्ण पक्षलाई बेलैमा सच्चाउन जरुरी छ । जनवादलाई शब्दाबलीमा होइन ,जनवादी चरित्रमा बदल्नु आजको आवश्यकता हो ।
प्रतिक्रिया