अर्थ-वाणिज्य

खेती गर्ने समय आयो, रासायनिक मलको टुङ्गो छैन



लमही, २८ जेठ ।  खेतीपातीका समयमा दाङ जिल्लामा रासायनिक मलको अभाव देखिएको छ ।  मल आपूर्तिको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेडले किसानको मागबमोजिम रासायनिक मल उपलब्ध गराउन नसक्दा किसान समस्यामा परेका छन् । जिल्लामा कृषि सामग्री कम्पनी लिमिटेडले मल पर्याप्त मात्रामा नभएको जनाउँदै किसानको मागबमोजिम उपलब्ध गराउन नसकेको जनाएको छ ।

        परिवर्तन कृषि सहकारी संस्थाले कृषकलाई खेतीपातीका लागि आवश्यक पर्ने दुई सय बोरा अनुदानको रासायनिक मल माग गरेकामा युरिया र डिएपी ३० बोरा मात्र पाइएको संस्थाका व्यवस्थापक प्रेम तिवारीले भन्नुभयो । सहकारीमा सोमबार मल लिन आउनुभएका कृषक सुन्दरलाल चौधरी नपाएर रित्तो हात फर्कनुभयो । ‘‘धान खेतीका लागि मल लिन आएको थिएँ तर मल पर्याप्त मात्रामा नआएकाले सकियो भन्नुभयो’’, उहाँले भन्नुभयो ।  ढुवानी बन्द हुँदा जिल्लाका घोराही, तुलसीपुर र  लमही नगरपालिकामा मलको अभाव देखिएको हो । जिल्लामा लकडाउनका समयमा पनि ढुवानी भएर आएको मल सबै सहकारीलाई वितरण गरिएको कृषि सामग्री कम्पनीले जनाएको छ । 

        कृषि सामग्री कम्पनी घोराहीका प्रमुख विष्णुप्रसाद केसीले घोराहीमा डिएपी केही मात्रामा भए पनि युरिया भने नभएको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा यसअघि नियमित मल आए पनि हाल भने अभाव देखिएको छ । कम्पनीको सिफारिसमा इच्छुक सहकारीले भने भैरहवाबाट मल ल्याउने गरेको केसीको भनाइ छ । ‘‘हामीसँग स्टक छैन, जिल्ला आपूर्ति व्यवस्थापन समितिको बैठकले पनि आवश्यक मलका लागि सिफारिस दिने भन्ने निर्णय भएको छ’’, केसीले भन्नुभयो । 

        त्यसैगरी कृषि सामग्री कम्पनी  तुलसीपुरले पनि अनुदानको रासायनिक मल सकिएको जनाएको छ ।  कम्पनीमा आएको मल जति सबै सोमवार वितरण गरेसँगै अब एक बोरा पनि मल मौज्दात नभएको बताइएको छ । 

        जिल्लामा २५० मेट्रिक टन मल आवश्यक पर्नेमा घोराही, तुलसीपुर र लमहीमा मात्र १०० मेट्रिक टन आवश्यक पर्ने बताइएको छ । आफूहरुलाई मल ल्याउन भैरहवा जान भनिएको तर बन्दाबन्दीका समयमा आफूहरु जान नसकेको सहकारी बताउँछन् । जिल्लामा कृषि सामग्री कम्पनीले कृषि सहकारीमार्फत अनुदानको मल किसानलाई उपलब्ध गराउँदै  आएको छ । (रासस)

प्रकाशित : २८ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६