सोलुखुम्बु ३२ जेष्ठ । खहरेखोलाले विद्युतको पोल ढुवानीमा प्रयोग गरिएको मिनी ट्रक बगाएको छ । सोलुखुम्बु प्रहरीका अनुसार शनिबार सोलुदूधकुण्ड नगरपाकालिका र थुलुङदूधकोशी गाउँपालिका सिमानामा पर्ने भित्तेखोलाले उक्त ट्रक बगाएको हो ।बिग्रिएर पार्किङ गरी राखिएको राखेको बा३क ३५५६ नंको ट्रक वर्षासहित आएको भेलले सडकदेखि करिब ५० मिटर तल बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दिप चौहानले जानकारी दिनुभयो । उहाँका अनुसार ट्रकमा पूर्णरुपले क्षति पुगेको छ ।
नेपाल विद्युत् प्राधिकरणको ग्रामीण विद्युतीकरणका लागि आवश्यक पोल ढुवानीमा प्रयोग भइरहेको सो मिनीट्रक केही दिन अगाडिदेखि बिग्रिएर सोही खोला किनारमा पार्किङ गरेर राखिएको थियो । ठेकेदार हरि खड्काले त्यस क्षेत्रमा काम गरिरहेको भए पनि उक्त ट्रक कसको हो भन्नेसमेत खुल्न नसकेको प्रहरीको भनाइ छ । अहिले ट्रकधनीको खोजी भइरहेको सोलुखुम्बु प्रहरीले जनाएको छ । शुक्रबार मात्रै प्राधिकरणकै विद्युत्को पोल लिएर सल्लेरीतर्फ आउँदै गरेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो । सोलुदूधकुण्ड नगरपालिका–८ शिकारीडाँडामा दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया