कैलाली ४ असार । शनिबार कोरोना पुष्टि भएका कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ का ४६ वर्षीय सङ्क्रमित पुरूषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । स्वास्थ्य अवस्था बिग्रिएपछि सेती प्रादेशिक अस्पतालले आईसीयूमा राखेर उपचार गरिरहेका उहाँको बुधबार साँझ मृत्यु भएको हो । उहाँको मंगलबार रातिदेखि स्वास्थ्य अवस्था बिग्रिएको थियो । यसअघि उहाँको नवजीवन अस्पतालको आइसोलेसनमा उपचार हुँदा कोरोना पुष्टि भएको थियो । उहाँले यसअघि अत्तरियाका क्लिनिक र अस्पतालमा धाउनुुभएको थियो भने नवजीवन अस्पतालमा जानुअघि उहाँ धनगढीकै माया मेट्रो हस्पिटलमा उपचारका लागि जानुभएको थियो ।
उहाँलाई त्यहाँ भर्ना गर्न भनिएकोमा भर्ना नभएरै फर्किनुभएको थिए । त्यसपछि उहाँ नवजीवन अस्पतालको आईसीयूमा उपचार गराइरहनुभएको थियो । त्यहाँ उपचार गर्दा गर्दै उनलाई कोरोना पुष्टि भएको थियो ।ती सङ्क्रमित पुरुषले भारतबाट आएकाहरुलाई क्वरेन्टीनसम्म बस मार्फत पुर्याउँदै आउनुभएको थियो । उहाँ बस चालक मात्रै नभएर आफैँ बस मालिकका साथै सार्वजनिक यातायात व्यवसायी संघका सदस्य पनि हुनुहुन्थ्यो ।महेन्द्रनगरको यातायात समितिमार्फत उहाँले बस चलाउँदै आउनुभएको थियो । कोरोनाबाट मृत्यु भएका उहाँले सिमानामा अलपत्र परेका सयौँ नेपालीलाई क्वरेन्टीनसम्म सुरक्षित पुर्याउनुभयो तर आफ्नो उपचारका लागि गन्तव्यमा जाने व्यवस्था नहुँदा ज्यान गुमाउनुभयो ।
गम्भीर अवस्थामै नवजीवनको आईसीयूमा उपचार गराइरहनुभएका उहाँलाई आइतबार सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा ल्याएर उपचार थालिएको थियो । कोरोना अस्पतालमा पनि उहाँको अधिकांश समय आईसीयू र भेन्टिलेटरमै बित्यो । सामान्य सुधार आए पनि उहाँको अवस्था चिन्ताजनक नै रहेको थियो । उहाँलाई उपचारका लागि काठमाण्डौ लैजान एयर एम्बुलेन्सको व्यवस्था गर्नका लागि सोमबारदेखि लागेको प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले बताउनुभयो ।
उहाँका अनुसार सामाजिक विकास मन्त्रालयले मंगलबार नै आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई पत्राचार गरेर एयर एम्बुलेन्सका लागि भनेको थियो ।बुधबार बिहानसम्म एयर एम्बुलेन्स आउने भनिएकोमा साँझसम्म पनि नआउँदा उहाँको मृत्यु भएको हो । ‘तीन दिनदेखि एयर एम्बुलेन्सका लागि पहल गरिरहेका थियौँ। मन्त्री ज्यु ले जसरी पनि उपचारका लागि काठमाण्डौ पठाउनु पर्यो भन्नुभएको थियो’, सूचना अधिकारी खड्काले भन्नुभयो, ‘विभिन्न निजी कम्पनीहरुसँग मैले आफैँले कुरा गरेको थिएँ । अन्त्यमा सेना तयार भएको थियो । पछि किन पठाइएन त्यसबारेमा जानकारी भएन ।’मंगलबारदेखि नै उपचारका लागि काठमाण्डौ लैजान एयर एम्बुलेन्सका लागि पहल भए पनि एयर एम्बुलेन्स पाइएको थिएन ।
आफूहरुले पनि एयर एम्बुलेन्सका भनेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताउनुभयो ।भारतबाट आएका नेपालीहरुलाई आफ्नो बसमा राखेर विभिन्न ठाउँमा पुर्याउने क्रममा उहाँ सङ्क्रमित हुनुभएको थियो ।उहाँ कहिले आफैँ बस चलाउनुहुन्थ्यो त कहिले बसको क्याबिनमा चालकसँगै बस्नुहुन्थ्योे । त्यही क्रममा उहाँ सङ्क्रमित भएको बताइएको छ ।
सेती प्रादेशिक अस्पतालकै भेन्टिलेटरमा उपचारका क्रममा उहाँको बुधबार साँझ ७ बजेर ५२ मिनेटमा मृत्यु भएको हो । उहाँलाई उपचारका लागि काठमाण्डौ लैजाने तयारी भइरहेको थियो । खराब मौसमका कारण नेपाल वायु सेवा निगमको सानो जहाज काठमाण्डौबाट धनगढी आउन सकेन ।आज उहाँको उद्धारका लागि निगमको सानो जहाज धनगढी आउने पक्का भएको थियो । तर अब जहाज आउनु परेन । अरुको उद्धार गर्दागर्दै सङ्क्रमित भएका उहाँको भने उद्धार हुन नपाएरै मृत्यु भयो । एयर एम्बुलेन्स नआउँदा उहाँ सदाका लागि अस्ताउनुभयो ।
स्रोत उज्यालो अनलाईन
प्रतिक्रिया