कपिलवस्तु ८ असार। कपिलवस्तुको बाणगङ्गा स्थित सिद्धार्थ क्याम्पसले अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको ‘गुणस्तर सुनिश्चितता तथा प्रत्यायन’ (क्युएए) प्रमाणपत्र प्राप्त गरेको छ । विश्वविद्यालय अनुदान आयोगले प्रदान गर्ने उक्त प्रमाणपत्र सोमबार भर्चुअल समारोह मार्फत क्याम्पसलाई प्रदान गरिएको छ । आयोगले कोभिड–१९ को कारणले अनलाईनको माध्यमबाट प्रमाणपत्र वितरणको भर्चुअल समारोह’ आयोजना गरी उपलव्ध गराएको हो । विगत ५ वर्षदेखि गुणस्तरण प्रमाणीकरणको लागि प्रयासरत क्याम्पसले गत वर्षको भदौ महिनामा मात्र आयोग अन्तर्गतको ‘गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद’ मातहतको ‘समकक्षी परीक्षण टोली’ पिआरटी द्वारा पूर्व–मूल्याङ्कन भ्रमण गराउन सफल भएको थियो ।
वरिष्ठ प्राध्यापक डाक्टर जयराज अवस्थी नेतृत्वको विज्ञ टोलीले गत भाद्र महिनामा तीन दिनसम्म क्यूएएका ८ वटा क्षेत्र अन्तर्गतका १ सय २० वटा सुचकहरुको आधारमा क्याम्पसको पूर्व–मूल्याङ्कन गरेको थियो । टोलीले क्याम्पसको प्रत्यक्ष अध्ययन, अवलोकन गर्नुका साथै क्याम्पसका, प्राध्यापक, कर्मचारी, विद्यार्थी, पूर्वविद्यार्थी, अभिभावक, क्याम्पस प्रमुख, तथा सञ्चालक समितिसंग छुट्टाछुट्टै छलफल तथा अन्तक्र्रिया गरी क्याम्पसको वास्तविक अवस्थाको विभन्नि चरणमा पहिचान तथा छलफल गरेको थियो । यस्तै सरोकारवाहरु संग पनि टोलीले छलफल गरेको थियो । भदौ, मंसिर र पौष महिनामा टोलीले क्याम्पसको सुछ्म अध्ययन् गरेको थियो । लामो अध्ययन पश्चात प्रा.डा. अवस्थी नेतृत्वको उक्त टोलीले आफ्नो अध्ययन प्रतिवेदन आयोग समक्ष पेश गरेको थियो । सोहि प्रतिवेदनका आधारमा प्रमाणीकरणको लागि सिफारिस भए पश्चात आयोगको वोर्ड बैठकले गत वैशाख २४ गते प्रमाणपत्र प्रदान गर्ने निर्णय गरोको थियो ।
यसैबीच सिद्धार्थ क्याम्पले सामाजिक दुरी सहितको एक संक्षिप्त समारोह आयोजना गरेर आफुले प्राप्त गरेकोे ‘गुणस्तर सुनिश्चितता तथा प्रत्यायन’ (क्युएए) प्रमाणपत्र सार्वजनीक गरेको छ । सो समारोहलाई सम्बोधन गर्दै संविधान सभा सदस्य डोरप्रसाद उपाध्यायले पछिल्लो समयमा शैक्षिक हबको रुपमा विकास भइरहेको बाणगङ्गा नगरपालिका स्थित क्याम्पले अन्तर्राष्ट्रिय स्तरको प्रमाणपत्र प्राप्त गर्नु यस क्षेत्रको उच्च शिक्षाको विकासमा अति महत्वपूर्ण छलाङ भएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रदेश ५ का सांसद विष्णु पन्थीले सिद्धार्थ क्याम्पसले आफ्नो गुणस्तर प्रमाणीकरण गराएर समग्र जिल्ला र प्रदेशको समेत गरिमा बढाएको बताउनु भयो । यस्तै बाणगंगा नगरपालिकाका मेयर मंगल थारु, क्याम्पसका संस्थापक अध्यक्ष कृष्ण पौडेल, क्याम्पसका संस्थापक प्राध्यापक तथा पूर्व क्याम्पस प्रमुख बालाराम ज्ञवाली, क्याम्पसका उपाध्यक्ष रविबहादुर काफ्ले राम्रो उपलव्धी हासिल गरेको वताउनु भयो । क्याम्पसका अध्यक्ष झविलाल पोख्रेलले यस क्षेत्रका सम्पूर्ण सरोकारवाला व्यक्तिहरुको सकारात्मक पहलबाट मात्र क्याम्पसले अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको प्रमाणपत्र प्राप्त गर्न सफल भएको बताउर्दै सम्पूर्ण सरोकारवालाहरुलाई विशेष आभार व्यक्त गर्नुभयो ।
आयोजीत कार्यक्रममा क्याम्पस प्रमुख खेमराज शर्माले लामो समयको निरन्तर प्रयासबाट क्याम्पसले आफ्नो गुणस्तर प्रमाणीकरण गराउन सफल भएको बताउदै क्याम्पसको स्थापनाकालदेखि हालसम्म विभिन्न तह र तक्काबाट सहयोग गर्नुहुने सम्पूर्ण सरोकारवालाहरु प्रति विशेष आभार व्यक्त गर्नुभयो ।कार्यक्रममा क्यूएए फोकल पर्सन एवं क्याम्पसका उप प्राध्यापक गोविन्द प्रसाद खनाल, नेपाल राष्ट्रिय शिक्षक संगठनका कोषाध्यक्ष विष्णु भण्डारी, उद्योग वाणिज्य संघका अध्यक्ष उमनाथ पौडेल, पूर्व विद्यार्थी समाजका अध्यक्ष गोविन्द पोख्रेल, स्टुडेन्ट क्वालिटी सर्कलका संयोजक सविन रिमाल लगायतले बोल्दै क्याम्पसको सफलताले गौरव महशुस भएको र आगामी दिनमा क्याम्पसलाई अझ माथि उठाउन हरपल तत्पर रहेको बताउनु भएको थियो ।
देशभर विभिन्न विश्वविद्यालयका गरि १ हजार ४ सय ८ वटा क्याम्पस रहेकोमा हाल सम्म जम्मा ३६ वटा क्याम्पसहरुले मात्र क्यूएए प्रमाणपत्र प्राप्त गरेका छन भने कपिलवस्तु जिल्लाको हकमा यस्तो यस्तो प्रमाणपत्र पाउने एक मात्र क्याम्पस सिद्धार्थ क्याम्पस हो । २०४८ सालमा स्थापित यस क्याम्पसमा त्रिभुवन विश्व विद्यालय अन्तर्गतका वि.वि.एस., वि.एड. वि.ए. तथा एम.वि.एस. र एम.एड. कार्यक्रमहरु सञ्चालित छन ।
प्रतिक्रिया