कपिलवस्तु १५ असार । प्रदेश नं ५ मा यस वर्ष ४७ दशमलव ०५ प्रतिशत रोपाइँ गरिएको छ । कृषि विकास निर्देशनालयका अनुसार समयमै वर्षा भएका कारण यस वर्ष प्रदेशका सबै जिल्लामा धमाधम रोपाइँ भइरहेको छ । यस वर्ष सबैभन्दा धेरै नवलपरासीमा ८४ दशमलव ०६ प्रतिशत र सबैभन्दा कम गुल्मीमा १९ दशमलव ६१ प्रतिशत रोपाइँ भएको कृषि विकास निर्देशनालयका सहायक सूचना अधिकृत अनिलकुमार कानु बनियाँले जानकारी दिनुभयो । यही असार १५ गतेसम्म रुपन्देहीमा ५६ दशमलव २९, पाल्पामा २१ दशमलव ९, अर्घाखाँचीमा २७ दशमलव ९२, कपिलवस्तुमा ४० र दाङमा २६ दलमलव ७६ प्रतिशत रोपाइँ भएको छ ।
यसैगरी बाँकेमा ३७ दशमलव ९६, बर्दियामा ५४ दशमलव ८२ प्रतिशत र रुकुम पूर्व मा ७३ दशमलव ०५, प्युठानमा ९६ दशमलव १३ र रोल्पामा ५८ दशमलव ६३ प्रतिशत रोपाइँ सकिएको सहायक सूचना अधिकृत बनियाँले बताउनुभयो । प्रदेशमा गत वर्ष तीन लाख एक हजार २८० हेक्टर क्षेत्रफलमा धान खेती गरिएकामा १२ लाख ५३ हजार ८९ मेट्रिक टन उत्पादन भएको थियो । प्रदेश सरकारले धान उत्पादन वृद्धि गर्न विभिन्न जिल्लालाई धान सुपर जोनका रुपमा घोषणा गरी कार्यक्रम लागू गरेको छ ।
प्रतिक्रिया