रुपन्देही २२ असार । प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले सञ्चार संस्थाले कोरोनाका कारण व्याप्त निराशा चिरेर आशा जगाउने खालका सूचना र सामग्री पस्कनुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब प्रदेश नं ५ को दोस्रो स्थापना दिवसका अवसरमा आज बुटवलमा आयोजित अन्तरक्रियामा उहाँले विपत्तिका समयमा सञ्चार क्षेत्रसमेत आर्थिक रुपले सङ्कटमा रहेकाले पत्रकारलाई सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “हामी पत्रकारलाई भोकै मर्न दिँदैनौ ।
”सो अवसरमा नेपाली कांगे्रसका सचेतक निर्मला क्षत्रीले समाजमा सुशासन कायम गर्न पत्रकारको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । प्रदेशसभाका सदस्य सन्तोष पाण्डेले सबैको सहकार्य भए जस्तोसुकै विपत्तिको सामना गर्न सकिने धारणा राख्नुभयो । नेपाल पत्रकार महासङ्घ प्रदेश नं ५ का उपाध्यक्ष भरत केसीले महामारीको कारण देखाएर कुनै पनि पत्रकारलाई सञ्चारसंस्थाले हटाउन नपाउने बताउनुभयो । कार्यक्रममा डा सुदर्शन थापा र पत्रकार दीपेन्द्र बडुवाललाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया