कपिलवस्तु २२ असार ।कपिलबस्तुको बाणगंगा नगरपालिका–६ स्थित लक्ष्मणघाट शिव ज्योर्तिलिङ्ग बोलबम धाममा यसवर्ष जलार्पण यात्रा स्थगन भएको छ । लक्ष्मणघाट बोलबम धाम विकास समितीको बैठकले श्रावणी जलार्पण यात्रा तथा बोलबम मेलाका कार्यक्रम कोरोना भाईरस कोभिड १९ का कारण स्थगन गरिएको जानकारी दिएको हो । समितीका अध्यक्ष रणबहादुर काउचाको अध्यक्षतामा बसेको बैठकले यो वर्षको श्रावणी मेला कोरोना भाइरसको कारण स्थगित गर्ने निर्णय गरेको हो ।
अध्यक्ष काउचाले मन्दिरमा जलार्पण र दर्शन गर्ने व्यवस्था गर्न नसकेका भन्दै भक्तजनप्रति पर्न गएको असुविधाप्रति क्षमा माग्नु भएको छ । साथै कोरोना भाईरबाट आफु पनि बच्न र अरुलाई पनि बचाउन तीर्थालु भक्तजनहरुलाई आ आफ्नै घरमा शिव आराधना गरि शिव पुजा गर्न सचिव प्रकाश भुषालले अनुरोध गर्नुभयो । लक्ष्मणघाटमा परापुर्व काल देखि नै श्रावणी जलार्पण यात्रा तथा बोलबम मेला संचालन हुदै आईहरेको थियो । लक्ष्मणघाटको जल नेपालका विभिन्न जिल्लामा रहेका शिव मन्दीरमा जलार्पण गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । यहा नेपाल लगाएत भारतको उत्तर प्रदेश, विहार, उत्तराखण्ड लगायतका स्थानबाट भक्तजन बोलबम धाममा आउने गरेका थिए ।
प्रतिक्रिया