मोरीङ्गा छिटो हुर्किने, सुख्खा सहन सक्ने एक अद्भुत वृक्ष हो । यसका धेरै क्षेत्र मा उपभोगिता हुनाले यसलाई बिस्व जगतले नै अद्भुत
वृक्ष (Miracle Plant) को रुपमा मानेको छ । नेपालमा शितलचिनी,
सैजन, अगस्ती आदि नामको रुपमा परापुर्व कालदेखि नै परिचित बिरुवा भएता पनि हामि
यसको महत्व पहिचान गर्न नसक्नाले खासै प्रचलन मा आउन सकेको थिएन तर अहिले भने यसको
महत्व बारे चर्चा परिचर्चा चल्दै गर्दा तराई तथा मध्य पहाडमा खेति बढ्न लागेको छ ।
यसको बारेमा भन्नु पर्दा यो एक छिटो
हुर्कने बोट हो । हामीले नेपालमा गरेको एक वर्षको बोटको उचाई मापन काटछाट नगरेको
अवस्था मा औसत ५-६ मिटर हुने देखियो । तर यसलाई १.५ – २ मिटर को उचाई मा काटछाट
गर्नु उपयुक्त देखिन्छ, यसो नगर्दा मोटाई कम उचाई बढी ले गर्दा ढल्न सक्ने, भाचिन
सक्ने र फल टिप्न गाह्रो हुने देखिन्छ ।
यसले १०-१२ मिटरसम्म उचाई लिन सक्ने
देखिन्छ, त्यसैगरी बिरुवा सारेको ६ महिना बाटै फुल फुल्न लाग्छ, केहि जात हरु वर्षैभरि
फुल्ने र वर्षमा २ पटक फल दिन्छन भने केहि जात वर्षमा २ पटक फुल्ने वा १ पटक
फुल्ने र १ पटक फल दिने हुन्छन । हावापानी को कुरा गर्दा समुन्द्र सतह
देखि १००० मिटर सम्म को उचाई मा बढी उपयुक्त मानिन्छ भने त्यस भन्दा माथि पनि हुने
देखिन्छ, नेपालकै रैथाने जातहरु अझ उचाई सम्म लगाउन सकिने देखिन्छ, तथापि यो चिसो
सहन सक्ने क्षमता कम र घाम रुचाउने बिरुवा हो भन्ने ख्याल गरेर लगाउने ठाउको छनोट गर्नुपर्छ ।
पी.एच मान ५ देखि ९ यानकी हल्का अम्लीय माटो देखि हल्का क्षारिय, दुमट, बलौटे दुमट
र बलौटे माटो मा पनि सजिलै खेति गर्न सकिन्छ, पानि जम्ने,चिम्टाईलो माटो भने त्यति
उपयुक्त देखिदैन, जरा को वरिपरी पानि को मात्रा लामो समय थेग्न सक्दैन जसले गर्दा
जरा कुहिने रोग देखिन्छ । यसको प्रशारण बिउ बाट बेर्ना तयार गरि,
बिउ नै रोपेर वा कटिंग ( हाँगा बाट ) गर्न सकिन्छ ।
बिउ लाई करिब ८ देखि २४ घण्टा
सम्म भिजाएर केहि समय ओझेल मा पानि तारेर लगाउदा हामीले गरेको अध्ययन अनुसार ४
देखि १५ दिनमा बिउ को गुणस्तर अनुसार ७५-८० % उम्रने दर (Germination Rate) देखेको
छ । बिउ उम्रिदा आवस्यक चिस्यान भने भैरहनु पर्छ, तर बेर्ना तयारमा सधै सिचाई
आवस्यक हुदैन, धेरै सिचाई ले बिरुवा हर्लक्क बढ्ने र कमजोर हुन सक्ने सम्भावना
देखिन्छ । बिरुवा लाई जर्खराउनु आवस्यक छ जसले बिरुवाको ढुवानी सजिलो र सारेको ठाउमा सजिलै सर्ने हुन्छ ।
आवस्यकता र कुन उपयोगिता लाई मध्यनजर
गरि खेति गर्ने हो , त्यो हेरेर बिरुवा लगाउदा खाल्डो मा लगाउने हो भने २ मिटर
देखि ५ मिटर सम्म को बोट बोट बिचको दुरी राख्न सकिन्छ । पात को लागि हो र छिटो
छिटो छाटकाट गर्नु छ भने नजिक को दुरी र बोट राखी फल लिन को प्रयोजन मा दुरी बढाउन
उपयुक्त देखिन्छ। सामान्यतया: ३ मिटर को दुरी उपयुक्त देखिएको छ । ५० सेन्टिमिटर
ब्यास, ५० सेन्टिमिटर गहिराई को खाल्डो मा ५ देखि १० किलोग्राम पाकेको कम्पोस्ट मल
मिलाई खाल्डो लाई जमिन देखि केहि माथि सम्म माटो उठाई त्यसमा बेर्ना सार्न सकिन्छ ।
खाल्डो को संरचना पानि नजम्ने खालको हुनुपर्छ, यस कुरा मा सचेत रहनु आवस्यक छ। भाचिए
पनि सजिलै पलाउन सक्ने क्षमताले गर्दा बोट सजिलै मर्दैन, जरा मोटो भएर मुला जस्तो
देखिने हुन्छ, जसले गर्दा बिरुवा सार्दा बोट मरेको खण्ड मा पनि त्यस जरा बाट नयाँ
बिरुवा पलाउने सम्भावना धेरै हुन्छ । उपयोगिता लाई हेर्ने हो भने यसको
नछिप्पिएको फल तरकारी को रुपमा, छिप्पएको फल सुपको लागि, पात को चिया, सुप, दाना
बाट निकालेको तेल कस्मेटिक, औसधीय प्रयोग मा, साथै जरा, फूल लगायत सम्पूर्ण भाग
आयुर्वेदिक औसधिमा प्रयोग गर्न सकिन्छ ।
पोषण हेर्ने हो भने मोरिंगा भिटामिन ए,
सि, क्याल्सियम,प्रोटिन, आइरन, फस्फोरस को ठुलो श्रोत हो । मोरिंगा को पाउडरले
क्यान्सर, चिनी रोग, ट्युमर, लगायतका रोगलाई निको पार्न, रोग प्रतिरक्षा शक्ति
बढाउनका साथै एन्टी अक्सिडेन्टका रुपमा काम गर्छ। यसको फूलको प्रयोगले पिसावनलीमा
हुने संक्रमण, रुघाखोकी साथै सुत्केरी आमाको दुधको प्रवाहलाई बढाउछ भन्ने तत्थ
रहेको छ । केहि अन्य खाध्यवस्तु संग तुलना गर्दा यसबाट सुन्तलामा पाइने भिटामिन सि
भन्दा सात गुणा, केरामा पाइने पोटासियम भन्दा तिन गुणा, दुधमा पाइने क्याल्सियम
भन्दा चार गुणा र दहि मा पाइने प्रोटिन भन्दा दुइ गुणा पोषण तत्व पाइन्छ ।
बजारको कुरा गर्दा यसको तरकारी खानेहरु
ले एकदमै रुचाएको कारण, अन्तरास्ट्रिय बजारमा बिउ, तेल को उच्च मुल्यदर र पातको
पाउडरको ग्रिन टि को रुपमा बढ्दो प्रयोग ले बजारको सम्भावना राम्रो देखिन्छ
काही पानि बढी भएमा जरा कुहिने रोग (Root rot ) र बेर्ना मा Damping off देखिन
सक्छ। किराहरुमा केहि जातका झुसिलकिरा (catterpillers) र कहिलेकाही लाही (Aphid)
देखिन सक्छ।
वातावरण प्रदुषणलाई कम गर्न कार्वन
फार्मिंगको रुपमा अहिले बिस्वमा यो बिरुवा प्रचलित छ । जुन अवधारणा अहिले नेपालमा
पनि आइसकेको छ । आर्थिक तथा वावारणीय महत्व बोकेको यो वृक्ष बाझो जग्गा र खेर
गएको जग्गामा खेति गर्दा भू-क्षय कम गर्न, वातावरण स्वच्छ राख्न, आर्थिक लाभ बढी
लिन कम लगानी मै सकिन्छ। त्यसैले यसको महत्व को पहिचान र खेति प्रति अग्रसरता अति
आवस्यक रहेको छ।
(
लेखक: कार्वन फार्मर्स अफ नेपाल का टेक्निकल फिल्ड अधिकृत हुनुहुन्छ, उहाँ अहिले
सितलचिनीमा आधारित कृषिवन परियोजना मा रही शितलचिनी संग सम्बन्धित अध्ययन
अनुसन्धान गरिरहनु भएको छ । )
प्रतिक्रिया