अर्थ-वाणिज्य

रानी जमराको प्रभाव : आधुनिक प्रविधियुक्त कृषि , व्यवसायमूखी कृषक



कैलाली २९ असार । टिकापुर नगरपालिका–१ बनगाउँका खुसीराम चौधरी आफ्नो कृषि व्यवसायबाट निकै खुसी हुनुहुन्छ । आधुनिक तरिकाबाट व्यवसायिक तरकारी खेती गर्दै आउनु भएका कृषक खुसीरामले तरकारी खेतीबाट मात्र वार्षिक ५ लाखसम्म आम्दानी गर्नुहुन्छ । विगतमा परम्परागत तरिकाबाट निर्वाहमूखी खेती गर्दै आउनुभएका खुसीराम अहिले आधुनिक प्रविधिमा आधारित व्यवसायिक तरकारी खेती गर्नुहुन्छ । सफल कृषकको पहिचान बनाउनुभएका खुसीरामले यहि व्यवसायबाट नै सहज एवं खुसी जीवनयापन गर्दै आउनुभएको छ । 

            यसरी कृषक खुसीरामको जीवनमा खुसीको बहार आउनुमा रानी जमरा कुलरीया सिंचाई आयोजनाको महत्वपूर्ण भुमिका रहेको छ । आयोजनाले तरकारी खेतीको लागि आर्थिक एवं प्राविधिक सहायता प्रदान गरेपछि खुसीराममा व्यवसायीक कृषि तर्फ लाग्न उत्साह आएको हो । आयोजना अन्तर्गत रहेको कृषि कार्यक्रम कार्यान्वयन इकाईले कृषकहरुलार्ई कृषिमा आत्म निर्भर बनाउन कृषि कार्यक्रम सञ्चालन गर्न थालेपछि खुसीराम जस्ता धेरै कृषकहरु अहिले खुसी भएका छन् । 

               विश्व वैंकको सहयोगमा सञ्चालित राष्ट्रिय गौरवको यस आयोजनाले आफ्नो कमाण्ड क्षेत्रमा सिंचाई सुविधा संगसंगै समग्र कृषि क्षेत्रको विकास गर्न कृषि कार्यक्रम कार्यान्वयनमा ल्याएपछि जिल्लाको पूर्वी क्षेत्रका कृषकहरुको कृषि गर्ने शैली र तरिकामा समेत व्यापक परिवर्तन आएको छ । विशेषगरी जिल्लाका टिकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकामा रहेका कृषकहरुमा यस्तो परिवर्तन देखा परेको हो । यस क्षेत्रका कृषकहरु विगतमा अपनाएको निर्वाहमूखी परम्परागत कृषि शैलीलाई छाडेर आधुनिक प्रविधियुक्त व्यवसायिक कृषि तर्फ आकर्षित भईरहेका छन् । 

                  आयोजना अन्तर्गतको कृषि कार्यक्रम कार्यान्वयन इकाईले कृषि केन्द्रित कार्यक्रमहरु सञ्चालन गरेर यहाँका कृषकहरुलाई आवश्यक पर्ने आर्थिक तथा प्राविधिक सहयोग निरन्तर रुपमा प्रदान गर्दै यस क्षेत्रको कृषि प्रणालीलाई आधुनिकता तर्फ अग्रसर गराइरहेको छ ।

              आयोजनाले कृषिको आधुनिकीकरणको लागि यस क्षेत्रमा सञ्चालित कृषि सहकारी संस्था, कृषक समूह तथा व्यक्तिगत फर्महरु मार्फत कृषि यन्त्र एवं उपकरण, आधुनिक प्रविधी, बीउविजन, विषादी, पोषण र प्राङ्गारिक मलमा सहयोग गर्दै आइरहेको छ । त्यस्तै तरकारी खेती, फलफुल खेती, च्याउ खेती, घाँस खेती लगायत गाई–भैसी पालन, बाख्रा पालन, बंगुर पालन, मत्स्य पालन, मौरी पालन र कुखुरा पालन व्यवसाय सञ्चालनमा पनि कृषकहरुलाई आर्थिक एवं प्राविधिक सहयोग प्रदान गरिरहेको छ । 

               यस क्षेत्रका कृषकहरुलाई खाद्यान्नको बीउ उत्पादन, भण्डारण र वितरण गर्न आयोजनाले ठुलो आर्थिक सहायता प्रदान गरिरहेको छ । जानकी गाउँपालिका–४ मनुवामा रहेको वीज बृद्धि कृषक सहकारी संस्था लिमिटेड लाई आवश्यक पर्ने आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराएर खाद्यान्नको वीउ उत्पादन तथा भण्डारणको कार्यमा आयोजनाले ठुलो सहायता प्रदान गरिरहेको छ ।

            उक्त बीज बृद्धि सहकारीलाई ५० देखि ७५ प्रतिशतसम्म अनुदान मार्फत विभिन्न किसिमका आर्थिक सहयोग उपलब्ध गराएको छ । आयोजनाले यस सहकारीलाई सिड्रम मेसिन, ग्रेडर मेसिन र ट्रिटर मेसिन उपलब्ध गराएर वीउ प्रशोधन गर्ने कार्यमा पनि टेवा पु¥याएको छ भने उत्पादित वीउ भण्डारणको लागि २ सय मेट्रिक टन क्षमताको गोदाम घर निर्माण गर्नको लागि पनि २४ लाख ७२ हजार २ सय ९ रुपैया आर्थिक सहयोग गरेको छ । यस किसिमको सहयोगले यस क्षेत्रमा गुणस्तरिय बीउ उत्पादन, प्रशोधन, ग्रेडिङ , प्याकिङ र भण्डारण गर्ने काममा सहयोग पुगेको छ । 

         धान, गहुँ, मकै, तोरी, मसुरो लगायतका खाद्यान्न बालीको मूल बीउ समेत उत्पादन, भण्डारण र वितरण गर्ने यस संस्थाले रानी जमराको आर्थिक तथा प्राविधिक सहयोग निरन्तर पाईरहेको संस्थाका अध्यक्ष राम पाल बढई बताउनु हुन्छ । आयोजनाको कृषि कार्यक्रम लागु भए पछि संस्थाले प्रत्येक वर्ष वीउमा ५० प्रतिशत अनुदान पाउनुको साथै संस्थाका सदस्यहरुले आवश्यकता अनुसारका प्राविधिक तालिम सहित पोषण, विषादी, जिंक समेत प्राप्त गरिरहेको संस्थाका उपाध्यक्ष विजय कठरियाले बताउनुहुन्छ । 

             धान वीज बृद्धि कार्यक्रम मार्फत आयोजनाले यस क्षेत्रका कृषकहरुलाई आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराईरहेको छ । परियोजनाको सहयोगमा आर्थिक वर्ष २०७५÷०७६ मा राधा–४, बहुगुणी, सावित्री, सावा लगायत जातका धानको वीउ उत्पादन गरिएको छ । कृषकहरुलाई धान काटाई, जोताई र ढुवानी गर्न समेत सहज होस भन्ने उद्देश्यले आर्थिक वर्ष २०७५÷०७६ मा मात्र १५ वटा पावर टिलर ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको छ । आयोजनाले उपलब्ध गराएको यस औजारको प्रयोगले कृषकहरुलाई धान बालीको खेती गर्न निकै सहज भएको छ । 

            यस आयोजनाले ठुलो आर्थिक सहयोग गरेको अर्को क्षेत्र हो–केरा खेती । आयोजनाको कृषि कार्यक्रम कार्यान्वयनमा आएपछि टीकापुर क्षेत्र केरा खेतीको हबको रुपमा नै विकास भइरहेको छ । आयोजनाले केरा खेतीको प्रवद्र्धधन र विस्तार गर्नमा विशेष योगदान पु¥याएको छ । किसानहरुलाई व्यवसायीक केरा खेती तर्फ आकर्षित गर्न विभिन्न किसिमका आर्थिक तथा प्राविधिक सहयोग निरन्तर रुपमा प्रदान गर्न थाले पछि यस क्षेत्रमा केरा खेती व्यापक रुपमा फस्टाएको देखिन्छ । 

                   केरा खेतीको लागि सिंचाई सुविधा अपरिहार्य हुने भएकाले आयोजनाले आधुनिक थोपा सिंचाइ प्रविधि जडान गर्न यस क्षेत्रका कृषकहरुलाई आर्थिक सहयोग प्रदान गर्नुका साथै केरामा लाग्ने रोग, किरा नियन्त्रण गर्न आवश्यक पर्ने विषादी, पोषण लगायत विभिन्न किसिमका तालिम तथा प्राविधिक सेवाहरु समेत उपलब्ध गराउदै आएको छ । 

             टीकापुर क्षेत्रमा ठुलो मात्रामा व्यवसायीक केरा खेती गर्ने कृषक टेकेन्द्र धामीले आयोजनाको कृषि कार्यक्रम कार्यान्वयनमा आएपछि टीकापुर क्षेत्रमा केरा खेती निरन्तर विस्तार हुँदै गएको बताउनुहुन्छ । केरा खेतीले यस क्षेत्रमा धेरै रोजगारी समेत सिर्जना गरेको उहाँको भनाई छ । आफुले मात्र करिब ९० जना जति कामदारलाई प्रत्यक्ष रोजगार दिन सफल भएको बताउदै उहाँले यस क्षेत्रमा केरा खेतीबाट मात्र हजारौं व्यक्तिले प्रत्यक्ष रोजगार पाईरहेको समेत बताउनुहुन्छ । 

                त्यस्तै टीकापुर नगरपालिका–३ गोलौरीका युवा कृषक खेम विकले पनि आयोजनाको सहयोगमा १४ विगाह क्षेत्रफलमा केरा खेती विस्तार गर्न सफल हुनुभएको छ । आयोजनाको आर्थिक तथा प्राविधिक सहयोगबाट मात्र आफ्नो व्यवसायलाई विस्तार गर्न सम्भव भएको उहाँको अनुभव रहेको छ । 

              उत्पादित केराको बजारीकरणकालागि आवश्यक पर्ने पूर्वाधार निर्माणमा समेत आयोजनाले सहयोग उपलब्ध गराएको छ । केरा पकाएर बजारसम्म पु¥याउने उद्देश्यका साथ १ सय ५० मेट्रिक टन क्षमताको केरा पकाउने च्याम्बर निर्माणको लागि टीकापुर नगरपालिका २ बन्दीपुर स्थित कर्णाली कृषि सेवा प्रा.लि. लाई रु १ करोड ९० लाख ८ हजार ५ सय ९१ रकम अनुदानमा उपलब्ध गराएर निर्माण कार्य सम्पन्न भएको छ । यस क्षेत्रका किसानले उत्पादन गरेको केरालाई यसै च्याम्बर मार्फत पकाएर सिधै बजार पठाइने व्यवस्था मिलाईएको छ । जसले गर्दा किसानलाई आफ्नो उत्पादन बजारीकरण गर्न निकै सहज भएको छ । 

              कृषकहरुलाई व्यवसायीक मकै खेती तर्फ आकर्षित गर्न विभिन्न किसिमका आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ । आयोजनाले जानकी गाउँपालिका ४ कैलालीमा रहेको कञ्चन एकीकृत कृषक समूहलाई मकैको बीउ, शूक्ष्म तत्व, विषादी, मकै छोडाउने मेसिन, झार गोड्ने मेसिन आदि खरिदमा रु. १ लाख ३६ हजार ६ सय ६५ आर्थिक अनुदान उपलब्ध गराएर सामूहिक व्यवसायीक मकै खेती गर्न कृषकहरुलाई प्रोत्साहित गरेको छ । रानी जमराले आर्थिक तथा प्राविधिक सहयोग गरेकामा निकै उत्साहित हुँदै कृषकहरु आगामी वर्ष मकै खेतीलाई व्यापक विस्तार गर्ने तयारीमा रहेको बताउछन् । 

               दुग्ध उत्पादनमा अभिवृद्धि गर्ने उद्देश्यले यस क्षेत्रका कृषकहरुलाई गाई भैसी पालन व्यवसाय सञ्चालन गर्नको लागि पनि आयोजनाले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउदै आएको छ । आयोजनाले आर्थिक सहायता संगै विभिन्न किसिमका प्राविधिक सेवा प्रदान गर्न थाले पछि यस क्षेत्रका दुग्ध उत्पादक कृषकहरु उच्च मनोवल र उत्साहकासाथ आफ्नो व्यवसायलाई व्यापक विस्तार गरिरहेका छन् । 

            टीकापुर नगरपालिका १ क्याम्पस टोलमा महुन्याल गाई भैसी फार्म सञ्चालन गर्दै आउनु भएका कृषक दुर्गा प्रसाद जैसीले आयोजनामाबाट आर्थिक वर्ष २०७५÷०७६ मा मात्र ५० प्रतिशत अनुदान अन्तर्गत ७ लाख रकम अनुदान पाउनु भएको छ । आयोजनाले अनुदानका कार्यक्रम ल्यानु अगावै कृषकहरुसंग छलफल गरि आवश्यकतामा आधारित कार्यक्रम ल्याउने र वास्तविक गरिखाने कृषकहरुलाई मात्र अनुदान उपलब्ध गराउने गरेको उहाँको अनुभव छ । 

               आयोजनाले व्यवसायीक बाख्रापालन गर्न विभिन्न प्रोत्साहनका कार्यक्रम ल्याए पछि यस क्षेत्रका कृषकहरु निकै उत्साहजनक ढंगले यो व्यवसायमा लागिरहेका छन् । टीकापुर नगरपालिका १ ज्योतीनगरमा कल्पना बाख्रा फार्म सञ्चालन गर्दै आउनुभएका कल्पना शाही र उहाँका श्रीमान आफ्नो व्यवसायबाट निकै सन्तुष्ट हुनुहुन्छ । आयोजनाले आर्थिक वर्ष २०७५÷०७६ मा मात्र ‘व्यवसायिक बाख्रा फार्म सुधार कार्यक्रम’ मार्फत रु. २ लाख आर्थिक सहयोग उपलब्ध गराए पछि व्यवसाय गर्न अझ उत्साह थपिएको उहाँहरुको अनुभव छ । पेसाले स्वास्थ्यकर्मी समेत रहनुभएका कल्पनाका श्रीमान नगेन्द्र शाहलाई व्यवसाय सुरु गर्दा स्वास्थ्यकर्मी भएर बाख्रा पाल्ले ? भनेर प्रश्न गर्ने मानिसहरुले पनि व्यवसाय सफल भएपछि अहिले आफ्नो कामको प्रसंसा गर्ने र आफुलाई प्रेरणाको स्रोत मान्ने गरेका उहाँको भोगाई रहेको छ । 

          बंगुर पालन व्यवसायमा पनि यस क्षेत्रका कृषकहरुलाई विभिन्न किसिमका सहायताहरु उपलब्ध गराउदै आएको छ । टीकापुर नगरपालिका १ दुर्गानगरमा राजवंशी कृषि केन्द्रको नामबाट व्यवसायिक बंगुर पालन व्यवसाय गर्दै आउनु भएका मोतीराम थारुले व्यवसायिक बंगुर फर्म सुधार कार्यक्रम मार्फत रु १ लाख ५० हजार आर्थिक अनुदान प्राप्त गर्नु भएको छ । यस फर्मबाट वार्षिक सरदर २ सय वटा बच्चा उत्पादन गरि स्थानिय कृषकहरुलाई विक्रि वितरण गर्दै आएको फर्मका सञ्चालक थारुको भनाई छ । उहाँले बंगुरका बच्चा बिक्रिबाट मात्रै वार्षिक ८ लाख आम्दानी गर्दै आउनुभएको छ । 

          पशुपालन व्यवसायलाई प्रवद्र्धन गर्नकोलागि आयोजनाले घाँस खेतीमा पनि सहायता प्रदान गर्दै आएको छ । आयोजनाले आर्थिक वर्ष २०७५÷०७६ मा घाँसको श्रोत केन्द्र स्थापना कार्यक्रम मार्फत टीकापुर नगरपालिका १ कैलालीमा रहेको गोरक्ष घाँसेबाली बीउ उत्पादक समूहलाई रु. ३ लाख रकम सहित आवश्यक प्राविधिक सहयोग उपलब्ध गराएको छ । आयोजनाको यस किसिमको सहयोगले गुणस्तरिय घाँसको बीउ सहज रुपमा उपलब्ध हुने भएकाले यस्तो व्यवसायलाई विस्तार गर्न सहयोग पुग्ने यस क्षेत्रका कृषकहरुको भनाई रहेको छ ।

            आयोजनाले च्याउ खेती, मत्स्य पालन, मौरी पालन तथा कुखुरा पालन व्यवसाय मार्फत यस क्षेत्रका कृषकहरुको आय आर्जनमा अभिबृद्धि गरी जीवन स्तर उकास्न आयोजनाले यस्ता व्यवसायमा पनि पर्याप्त आर्थिक तथा प्राविधिक सहायता प्रदान गर्दै आएको छ ।यसरी विगतमा गुजरामुखी कृषि गरिरहेका कैलाली जिल्लाको पूर्वी क्षेत्रका कृषकहरुलाई रानी जमरा कुलरीया सिंचाई आयोजना (कृषि तर्फ)ले आधुनिक प्रविधीयुक्त व्यवसायीक कृषि तर्फ आकर्षित गरि आय आर्जनमा बृद्धि गर्न र जीवन स्तर उकास्नको लागि प्रभावकारी रुपमा कृषि कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । आयोजनाको यस किसिमको कार्यक्रमले कृषि उत्पादनमा राष्ट्रलाई आत्मनिर्भर उन्मूख गराउदै समृद्धिको मार्गमा अगाडी बढाउन समेत टेवा पुगेको छ ।

प्रकाशित : २९ असार २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६