बुटवल २९ असार ।बाँकेको कोहलपुर नगरपालिकाले प्रदेश ५ संगको सम्वन्ध बिच्छेद गर्दै कर्णाली प्रदेशमा मिसिने निर्णय गरेको छ । कोहलपुर नगरपालिकाको हालै सम्पन्न नगरसभाले सर्वसम्मत रुपमा कर्णाली प्रदेशमा मिसिने निर्णय गरेको हो । कोहलपुरका लागि बुटवल वा दाङ टाढा र अपायक हुनुका साथै कर्णालीमा मिसिँदा यहाँका आदिवासी, जनजाति लगायत पिछडिएको वर्ग र समुदायले सुविधा र अवसर धेरै पाउने भएकाले नगरसभाबाट सर्वसम्मतरुपमा कर्णालीमा मिसिने निर्णय गरिएको नगरपालिकाका मेयर लुटबहादुर रावतले वताउनु भयो ।
नगरपालिकाका झण्डै एक लाख जनताको पहिल्यैदेखिको माग थियो, यसपटक नगरसभाको वैठकबाट सर्वसम्मत निर्णय गरेका छौं’ रावतले वताउनु भयो । कोहलपुरको आर्थिक, सामाजिक, धार्मिक, साँस्कृतिक सम्बन्ध प्रदेश ५ संग भन्दा कर्णालीको सुर्खेतसंग धेरै नजिक र मिल्ने हुँदा यतै मिसिने निर्णय गरेको उहाँको भनाई छ । कोहलपुर नगरपालिका प्रदेश ५ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलको निर्वाचन क्षेत्र हो ।
कोहलपुरलाई कर्णालीमा मिसाउने निर्णयबारे मन्त्री पौडेललाई समेत जानकारी गराइएको नगरप्रमुख रावतले वताउनु भयो । यसअघि बाँकेकै नेपालगन्ज उपमहानगरपालिकाले पनि प्रदेशको राजधानी नेपालगञ्ज बनाउन पहल गर्ने र सम्भव नभए कर्णाली प्रदेशमा गाभिने लिखित निर्णय गरेको थियो ।
प्रतिक्रिया